Comments Add Comment

नेपाललाई बिर्सिएको मुलुक बन्न दिनेछैनौं

-भीम उदास

BU-photo1

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ यही मन्त्रलाई मूल आधार मानेर १० बर्ष अघि ‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित नेपाललाई शान्त र समृद्ध बनाउने अभियानका साथ गैरआवासीय नेपाली संघको जन्म भएको थियो ।

एनआरएनएको जन्म त्यसबेला भयो, जब देश संक्रमणकालमा गुजि्ररहेको थियो, नेपाली जनता माओवादी जनसंघर्षका कारण त्रसित वातावरण वाँचिरहेका थिए, पश्चिमी मिडियाले नेपाललाई असफल राष्ट्र भन्न थालेका थिए । त्यसवेला एनआरएनए एउटा आशाको दीप भएर बल्यो, जसका किरणहरु आज पूर्वको न्यूजिल्याण्ड, अष्ट्रेलिया, जापानवाट शुरु भएर मध्यपूर्व, अफ्रिका हुँदै युरोप पार गरेर क्यानडा र अमेरीका सहित ६५ मुलुकहरुमा छरिइसकेको छ ।

नेपालबाट शुरु भएको यो किरण भोलि अन्य मुलुकहरुमा पनि छिर्नेछ । विश्वको डायस्पोराको इतिहासमा एनआरएन एउटा युनिक नमुना अभियान बनेको छ । ‘युनिक’ यस कारण छ कि अरु कुनै डायसपोराको एनआरएनजस्तो बृहत अभियान छैन । यो अभियानमार्फत् विदेशमा नेपाल र नेपालीको गरिमा वढाउन जुन प्रयासहरु भइरहेका छन, त्यो प्रशंसनीय मात्र होइन – हामी सवै गौरबन्वित हुनैपर्ने खालको छ ।

गत दश बर्षमा एनआरएनले नेपालमा खासै केही लगानी ल्याएन, हल्ला मात्र ज्यादा गर्‍यो भन्ने कुरा प्रचारमा आइरहन्छ । म त्यसलाई बिरोध नभनेर सावधानीका रुपमा लिन्छु ।

नेपाललाई समृद्ध मुलुक बनाउन एनआरएनले पाँचवटा उद्देश्य बोकेर हिँडेको छ । ती उद्देश्यहरु आजसम्म कहाँ, कति र कसरी कार्यान्वयन भए भन्ने मुल्याङ्कन गर्नु पर्दा एनआरएनले कामहरु ‘एक सिक्काको दुई पाटो’का रुपमा हेर्नुपर्छ । एक पाटो यसले विदेशमा गरेका उपलब्धीहरु र दोस्रो नेपालभित्रको सहयोगी हातको भूमिका । सन् २००३ मा हाम्रो अनुमान अनुसार सार्क मुलुक बाहिरका ४५ देशमा १२ लाख नेपाली वसोवास गर्थे । त्यो संख्या आज ६५ मुलुकमा ३० लाख भन्दा ज्यादा पुगिसक्यो । यसरी नेपाल वाहिर विभिन्न मुलुकमा चिनियाँको ‘चाइना टाउन’ र भारतीयको ‘लिटिल इण्डिया’ जस्तै कैयन ‘सानो नेपाल’ देख्न पाइन्छ- चाहे त्यो कतारमा होस, दुबईमा होस, लण्डनमा होस र अमेरीकाको ज्याक्सन हाइटमा ।

बुद्ध नेपालको लुम्विनीमा जन्मेका हुन भनी नेपालभित्र प्रचार गर्न आवश्यक नहोला तर विदेशमा बुद्ध लुम्विनीमा जन्मेका हुन र त्यो आज नेपालभित्र पर्छ भनी कैयन मुलुकमा प्रचार-प्रसार भैरहेछ, एनआरएन सञ्जालमार्फत् नै ।

हरेक वर्ष अष्ट्रेलिया, जापान, वेलजियम, बेलायत, लगायत विभिन्न मुलुकमा हरेक बर्ष ‘नेपाल महोत्सव’ मनाइन्छ, जहाँ नेपाली खाना, सामान साथै सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिन्छ । ‘नेपाल हाउस’को निर्माण गरेर रुस, वेल्जियम, क्यानाडा, दक्षिण कोरिया र न्यूजिल्याण्डले नेपाली कला, संस्कृति झल्काउने मात्र नभएर ती देशहरुमा नेपालमा उत्पादित वस्तुहरुको पनि बिक्री वितरण भइरहेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको विकास नेपालमा जस्तै विभिन्न मुलुकहरुमा टीभी, रेडियो, पत्रपत्रिका र अनलाइन मिडियाहरुमार्फत् भइरहेको छ । नर्वे र जापानमा नेपाली भाषाको कक्षा सञ्चालन भै रहेछ ।

कुवेतको अदालतले मृत्युदण्ड घोषणा गरे पनि डोल्मा शेर्पालाई बचाउन सफल भएपछि युएईमा मृत्युदण्ड सजायँ पाएका दुई नेपाली बचाउन एनआरएन प्रयत्नशील छ । अपि|mकाको जेलहरुवाट १२ नेपालीलाई छुटाउने, कम्कोडियाका इमिग्रेसनबाट १९ जना नेपालीलाई छुटाउने काम त्यति सजिलो थिएन । खाडी मुलुकमा हर दिन भइरहने नेपाली कामदारको दर्दनाक समस्या यहाँ उल्लेख गरे भने सिंगो महाभारत बन्ला !

यी सबै उद्दार र उत्थानका कामहरुमा एनआरएन हर दिन प्रयत्नशील छ । खाडी र मलेशियामा कार्यरत नेपालीहरुको रेमिट्यान्सले देशको २५ प्रतिशत अर्थतन्त्र धानिरहेछ । तर, तिनीहरुको सुरक्षित व्यवस्थित र मर्यादित आप्रावशानका लागि नेपाल सरकार, व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, र एनआरएनले अझ धेरै ध्यान दिन जरुरी छ । ‘गाईको दुध पिउनेले उसलाई हरियो घाँस, सम्मान र पूजा पनि गर्नु पर्छ । यो हाम्रो धार्मिक परम्परा, संस्कृति र मान्यता पनि हो ।

एनआरएनको छैटौं विश्व सम्मेलनको मर्मले भने जस्तै नेपालमा एनआरएन एउटा ‘बिकाश साझेदार’का रुपमा काम गर्न तत्पर छ । नेपाल सरकार, निजी क्षेत्र र नेपाली जनतालाई साथ दिएर नेपाल समृद्ध बनाउन हामी एनआरएन होमिन तैयार छौँ ।

देशभित्र एनआरएनले विभिन्न जिल्लाहरुमा परोपकारी काममा सहयोग गर्दै आएका छन् । एनआरएनले देशभित्र लगानी गरिरहेको छ र अझ बढी तत्पर छ, किनकी नेपाल हाम्रो देश हो । एनआरएनले शुरु गरेको सामुहिक लगानी कोष, त्यसको ज्वलन्त उदाहरण हो । एक बर्ष नपुग्दै ८ सय ३० एनआरएनले त्यस कोषमा आफ्नो लगानी गरिसकेका छन्, यो शुरुवात मात्र हो ।

हामी नेपाल सरकारप्रति आभार व्यक्त गर्न चाहान्छौं कि एनआरएन संस्थालाई हामीले सोचेभन्दा बढी इज्जत, मान र मर्यादा दिएको छ । सरकारको यो उदारतालाई हामी हृदयङ्गम मात्र होइन, यसलाई हाम्रो इज्जत र प्रतिष्ठा ठानेर हाम्रो तर्फबाट हुन सक्ने र गर्न सक्ने सहयोग पूरा गर्नेछौं ।

नेपालमा दोस्रो संविधान सभाको निर्वाचन छिटै हुँदैछ । हामी आशा गर्छौं कि, चुनाव स्वतन्त्र, निष्पक्ष र निर्भयपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न हुनेछ र त्यसपछि एक स्थायी सरकारको निर्माण हुनेछ, जसले देशलाई दीर्घकालीन विकाश योजना दिन सकोस् । हामी चाहान्छौं। भोलिको सरकारले मुलुकको दीर्घकालीन लक्ष्य र देश विकाशलाई तिब्रता दिन विकाश रणनीति बनाओस् । त्यो भिजन बनाउन हामी एनआरएनहरु सहभागी हुन तयार छौं ।

अन्तमा म यो थप्न चाहान्छु कि -विदेशमा हाम्रो पहिलो चिनारी नेपाली हो र दोश्रो चिनारी एनआरएन । हामी नेपाली एनआरएनले देशको झण्डा बोकेर जति नेपालीलाई चिनाउँदै छौं , त्योभन्दा बढी दोस्रो पुस्ताले आपना स्कुल र कलेजमा नेपाल विश्वकै सबभन्दा सुन्दर देश हो भनी चिनाइरहेछन् । जब कि नेपालसँग उनीहरुको सम्वन्ध भनेको आमा-बाबुको देश मात्र हो । आजसम्म उनीहरु न नेपाली हुन् न एनआरएन नै । तैपनि नेपाल आमाप्रतिको उनीहरुको श्रद्धा र आस्था अगाध छ ।

जसरी १० वर्ष अघि नेपाललाई असफल राष्ट्र र बिर्सिएको मुलुक हुन दिएनौं, त्यसरी नै भविष्यमा पनि त्यस्तो बन्न दिने छैनौँ । यो हाम्रो विश्वास र बाचा पनि हो ।

(उदास गैरआवासीय नेपाली संघका संस्थापकमध्येका एक हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment