+
+
Shares

खानेकुरामा मिसावट कसरी थाहा पाउने ?

खसीको मासु किन्दा बाख्रीको मासु मिसाउने पसलेहरुको पुरानो फर्मूला हो । वासी मासुको गन्ध ग्राहकले थाहा नपाउन् भनी पसलेले मासु पसलमा धुप वालेको हुन्छ । मासुलाई धेरैपटक फ्रिजमा राख्ने झिक्ने गर्दा मासुमा संक्रमण फैलिन्छ । सामान्यतः पसलेहरुले लोभलाग्दो गरी खसीको मासु देखिने चौटाहरु छरेर राखेका हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १६ गते १५:४३

कृष्णहरि बास्कोटा

Krishna hari baskotaतिहारका लागि तपाई किनमेल गर्दै हुनुहुन्छ ? या किनमेल गरिसक्नुभएको भने पनि ख्याल गर्नुहोला, बजारमा किनिएको खाद्यवस्तुमा विभिन्न प्रकारको मिसावट गरिएको हुन सक्छ । आफूले खरीद गरेको वस्तुमा मिसावट भए, नभएको पत्ता लगाउने केही उपायहरु छन् ।

खुवामा पीठो मिसाइन्छ । खुवा भन्नाले दूधलाई उमालेर त्यस्मा भएको पानीको मात्रा सुकाएर तयार गर्ने हो । यो शरीरको निमित्त उत्तम हुन्छ । दुधलाई निकैबेर घोटेर तयार गरिने हुँदा यो करिव एक डेढ हप्तासँग उपयोग गर्दा पनि बिगि्रँदैन । तर पीठो मिसाइएको खुवाले पेटमा विकार पुर्‍याउँछ । काँचो पीठोले पेट दुख्नु स्वभाविकै हो । साथै काँचो पीठो चाँडै कुहिन्छ र त्यो खादा झाडा-पखला समेत लाग्दछ । सामान्यतः खुवाको सानो टुक्रा हातमा लिएर माड्नु पर्छ । शुद्ध दुधको खुवा पुरै तरल भएर हातभरी चिल्ल्ाो फैलिन्छ । यदि खुवामा पीठो मिसाएको रहेछ भने हातमा ठाउँ ठाउँमा चिल्लो देखिँदैन । यसो हुनुको कारण जुन ठाउँमा पीठोको मात्रा हुन्छ, त्यहा चिल्लो हुने कुरै भएन ।

फलफूलमा सस्तो र महँगो मूल्यका वस्तु सरोवरी मिलाएर विक्री स्थलमा राखिन्छ । उदाहरणका लागि सामान्यतः टोकरीमा फलफूल विक्री गर्नेले ग्राहकले देख्ने अग्रभागमा राम्रा दाना स्याउ राखेको हुन्छ । ग्राहकलाई पसलेले चाख्न पनि एउटा राम्रो स्याउ दिन सक्तछन् । तर, उनले आफूपट्ट िसस्ता र उस्तै देखिने कमसल स्याउ राखेको हुन्छ । सामान्यतः ग्राहक आफैले स्याउ छानेर प्लाष्टिकको झोलामा हाल्ने गर्दछन् । यस वखत विक्रेताले बढीभन्दा बढी स्याउका गेडा तपाईको झोलामा हाल्न लगाउछ । जव ती स्याउ तराजुको काँटामा चढ्छ, तव बढी हुनु स्वभाविकै हो । सोबखत विक्रेताले संभव भएसम्मका असल स्याउ झिक्छ । ग्राहकले झुक्किएर छनौट गरेको दोस्रो नम्वरको स्याउ जति झोला मै सुरक्षित राख्छन् । तौल मिलाउन एउटा वा दुईटा स्याउका दाना विक्रेताले आफै छनौट गर्छन । यसरी तपाईले मिसिएको स्याउको दाना किन्न पुग्नुहुन्छ । यही सिद्धान्त प्रायः सबै फलफूलमा लागू हुन्छ । यसवाट बच्ने उत्तम उपाय भनेको विक्रेतालाई राम्रो स्याउको दाना देखाउन आग्रह गर्ने र उनले पहिला जुन दाना देखाउँछन्, ठीक त्यही दानासँग मिल्दो आकार, प्रकार र रंगका स्याउहरु छनौट गर्ने र आफूले खरिद गर्ने तौल वरावर मात्रै छनौट गर्ने गर्नु पर्छ । सामान्यतः स्याउ एक किलोमा ६ वटा वा ७ वटा आउँछ । नासपाती एक किलोमा ४ वटा आउँछ । आँप भने एक किलोमा ३ वटा वा ४ वटा चढ्छ । यस कुरालाई हेक्का गरेर फलफूल खरिद गर्दा मिसावटवाट वचिन्छ ।

खसीको मासु किन्दा बाख्रीको मासु मिसाउने पसलेहरुको पुरानो फर्मूला हो । वासी मासुको गन्ध ग्राहकले थाहा नपाउन् भनी पसलेले मासु पसलमा धुप वालेको हुन्छ । मासुलाई धेरैपटक फ्रिजमा राख्ने झिक्ने गर्दा मासुमा संक्रमण फैलिन्छ । सामान्यतः पसलेहरुले लोभलाग्दो गरी खसीको मासु देखिने चौटाहरु छरेर राखेका हुन्छ । तिनै चौटाको छनौटवाट खसीको मासु किन्दा बाख्रीको मासु पर्ने अधीक संभावना हुन्छ । यसर्थ राजखानी अर्थात पुरुष चिन्ह देखिने गरी पछाडिको दुईवटा फिला र ढाड देखिने गरी राखिएको खसीको अंशवाट मासु छनौट गर्नुपर्छ । विक्रेताले ठीक यसको विपरीत माथिल्लो अंशमा पनि पुरुष चिन्ह देखिने वस्तु जोगाएर राखेका हुन्छन् । यस कुरामा पनि पारख गर्नुपर्छ । शुद्ध खसीको मासु छिटो पाक्छ र खाँदा स्वादिलो हुन्छ । बाख्रीको मासु पाक्न धेरै समय लाग्ने, चपाउँदा चाम्रो हुने र स्वाद पनि तिख्खर हुँदैन । एकपटक गलत मासु परेमा पुनः सोही पसलवाट मासु किन्नु हुँदैन । हिजोआज प्याकेजिङ्ग गरेको खसीको मासु पाईन्छ । यो सुरक्षित हुन्छ । घरमा पि|mजमा मासु राख्दा जति छाकको निमित्त मासु ल्याइएको हुन्छ, त्यत्ती छाकका लागि छुट्याइ, छुट्टा-छुट्टै पोका बनाएर पि|mजमा राख्नु वैज्ञानिक पद्दती हो ।

पाउरोटीमा हाईड्रो हालेर फुलाईएको हुन्छ, यसर्थ जे पायो उही पाउरोटी खरिद नगरी विश्वसनीय व्राण्डको किन्नु पर्छ । ठण्डा खुवा वरफ भनेर दुधको सट्टा सेतो इनामेल प्रयोग गरेर विक्री गर्ने गरिन्छ । यसर्थ केटाकेटीलाई साह्रै सस्तो पाँच दश रुपैयाको वरफ खान दिनु हुँदैन । यही कुरा कुल्फीमा पनि लागू हुन्छ । इनारको पानी, गुणस्तरहीन दूधबाट बनेको कुल्फी पाँच दश रुपैयाँमा आउछ । यसर्थ सस्तो वरफ र कुल्फीको सट्टा केही महँगो नै भए पनि ब्राण्डेड वस्तु उपयोग गर्नु पर्छ । निख्खर कालो देखिने र छङछङ बज्ने मासको दालमा रंग मिसाईएको भनी बुझ्न ढिला गर्नु हुँदैन । शुद्ध मासको दाल पालिस लगाएको कालो छालाको जुत्ता जस्तो टल्किँदैन केही फुस्रो हुन्छ । यही कुरा गोलभेडा र परवरमा पनि लागू हुन्छ । केही किसानहरुले गोलभेडा र परवरलाई रसायनयुक्त पानीमा चोपलेर वजारमा ल्याउछन् र ती देख्दैमा असाधारण आकर्षक देखिन्छ । यस्ता कुरामा उपभोक्ता स्वयं सजग हुनुपर्छ । अवीर, केशरी र पंचरंगी टीकामा रंग मिसाएको भए हातले छुँदा हातको रंग जाँदैन । रंग नमिसाएको अविर, केशरीलाई हातले छोएर हात पुच्छदा हात सफा हुन्छ, यसैवाट रंग मिसाएको नमिसाएको पत्ता लाग्छ ।

महमा चिनीको चास्नी मिसाउने गरिन्छ । यो पत्ता लगाउन सिसाको गिलासमा पानी राखी एक चम्चा मह पानीमा राखी घोल्दा महमा चिनी मिसाए नमिसाएको जानकारी हुन्छ । दूधमा पानीको मात्रा थाहा पाउन ल्याक्टोमिटर प्रयोग गर्न सकिन्छ । साथै, शुद्ध मह र शुद्ध दूध स्वादले पनि छुट्टिन्छ । मरिचमा सुकेको मेवाको गेडा मिसाइन्छ, यस्तो अवस्थामा फुक्दा हलुका मेवाको गेडा उड्छ, मरिच गहुँगो भएकाले उड्दैन । यही कुरा चामल किन्दा भुस छ कि छैन थाहा पाउन र चिउरा किन्दा राम्ररी चालिएको छ छैन थाहा पाउन प्रयोग गर्न सकिन्छ । जीरा, धनिया जस्ता मसला खरिद गर्दा पनि यो विधि अपनाउन सकिन्छ । यस्ता वस्तुलाई सिसाको गिलासमा पानी राखी सो पानीमा राखेर पनि जाँच्न सकिन्छ । सामान्यतः जीरा वा मरिच पानीको पिँधमा वस्छ भने मिसावट गरिएका हल्का वस्तुहरु पानीमा तैरिन्छ ।

जिम्बूमा जथाभावी झारपात मिसाईएको हुन्छ । यसर्थ यसलाई केलाएर मात्रै प्रयोग गर्नुपर्छ । बेसार, खुसार्नी र जिरा मसलाको धुलोमा रंग मिसाउने, पीठो मिसाउने र फोहोर डाँठहरु समेत पिस्ने गरिन्छ । बेसारले पहेलै भएको र पहेलै वोरामा ‘बेसार-बेसार’ भन्दै हिड्नेसँग शुद्ध वेसार पाइन्छ भन्ने भ्रम राख्नु हुँदैन । यस्ता धुलो मसला कि आफैले तयार गर्नु पर्छ, कि प्याकेजिङ्ग गरिएका र उद्योगको नाम लेखिएका नै खरिद गर्नु पर्छ । महँगो चामलमा उस्तै आकारको सस्तो चामल मिसाईन्छ । यसर्थ खुल्ला चामलभन्दा बोरामा उत्पादकको नाम सहित प्याकेजिङ्ग गरिएको चामल किन्नु पर्छ । हरियो तरकारीमा किरा लागेमा केही किसानले मानव जीवनलाई आघात पुर्‍याउने विषादि समेत प्रयोग गर्दछन् । यस्तो विषादी प्रयोग गरेको निश्चित दिनसम्म त्यस्तो तरकारी बजारमा ल्याउनु हुँदैन । खरिदकर्ताले पनि यस कुरामा ख्याल पुर्‍याउनुपर्छ । हरियो तरकारी किनेको दुई तीन दिनभित्र उपयोग गर्न मिल्ने भए, सो गर्नु उत्तम हुन्छ । विशेषगरी राम्ररी पकाएर खानु नै उत्तम हुन्छ ।

केरा, आँपजस्ता फलफूललाई पाउडर राखेर पकाउने गरिन्छ । यस्ता वस्तुको भेट्नो छिट्टै चुँडिन्छ । यसैबाट पाउडर राखे नराखेको पारख गर्नु पर्छ । नविकेका र वासी मिठाईवाट गुदपाक जस्ता वस्तु बनाइन्छ । गैर दूधवाट मिठाई बनाएको पनि पाइएको छ । यसर्थ विश्वासिलो पसलवाट मिठाई किन्नुको विकल्प छैन । राजमार्गका होटलहरुमा अजिमा मोटो हाल्ने, टेस्ट मेकर हाल्ने, चिल्लो र पिरो वढी हाल्ने कारणले यात्रुको पेट बिगि्रन्छ । यसर्थ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गि्रन स्टिकर दिएको होटल हेरेर खाना खानुपर्छ । हुनतः यस्तो सेवा नेपालभरी विस्तार भैसकेको छैन । यसवाट पूर्ण रुपमा सुरक्षित रहन यात्राको समयमा आफूले घरमै तयार गरेको खानेकुरा बोकेर हिँड्नु पर्छ ।

गाई भैसीको ध्यूमा आलु वा पिँडालु उसिनेर मिसाइन्छ, यो पत्ता लगाउन ध्यूलाई खार्नु पर्छ । अखाद्य तेल पनि वजारमा विक्री हुन्छ, सो पहिचान गर्न तेल तताए पछि आउने नराम्रो गन्ध र खारवाट सो कुरा थाहा हुन्छ । वजारमा दर्ता नभएका नक्कली औषधि पनि यदाकदा भेट्टएिका छन्, त्यस्ता औषधिको सेवनले रोग निको हुँदैन । क्वाटी खरिद गर्दा पुराना गेडागुडी र सस्ता गेडागुडीको वाहुल्यता रहने संभावना हुन्छ । यसर्थ छुट्टछुट्टै गेडागुडी देखिने गरी गरिएको प्याकेजिङ्ग किन्नु पर्छ । तौलमा पनि निकै फरक पर्छ । सामान्यः प्याकेजिङ्ग गरिएको सामानमा तौल लेखिएको हुन्छ र ती भरपर्दो पनि हुन्छन् । यसर्थ खुल्ला सामान तौलेर खरिद गर्दा तौलने मेशिनको पारख गर्नु पर्छ । यसका निमित्त एक किलो खुल्ला सामान जोख्न लगाएर पसलमा भएको कुनै अर्को एक किलोको वस्तु मागेर दुईटा हातमा राखेर बराबर छन् छैनन् भनी विचार गर्न सकिन्छ । यस्ता सामान्य विधि मात्रै गर्दा पनि धेरै प्रकारको मिसावट चिन्न र जान्न सकिन्छ । अनुभवकै आधारमा मिसावट पहिचान गर्ने विधिलाई हेक्का गर्दै जानुपर्छ ।

(बास्कोटा प्रधानमन्त्री कार्यालयका सचिव हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?