Comments Add Comment

चुनाव जितेपछि नेताहरू गाउँतिर

९ मंसिर, इलाम । चुनाव जितेपछि सिधै काठमाडौँ हुइँकिने नेता अहिले भने आफ्नो निर्वाचन क्षेत्रमा लागेका छन् । जितपछि कहिल्यै नफर्किने आरोप लाग्ने गरेका नेता मतदातालाई विजयको खुसियाली बाँड्न गाउँ लागेका हुन् ।

नेकपा एमाले र काँग्रेसका नेता विगतको परम्परा तोड्दै गाउँ पसेका हुन् । इलाम क्षेत्र नं १ र २ बाट जितेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङ तथा क्षेत्र नं ३ बाट विजयी भएका नेपाली काँग्रेसका केशव थापा सदरमुकाममा विजय जुलुस मनाएर निर्वाचन क्षेत्र फर्किएका छन् ।

खनाल र नेम्बाङ शनिबार बिहानै सदरमुकाममा आयोजना भएको विजयपछि क्षेत्र नं १ को फिक्कल तथा क्षेत्र नं २ को मङ्गलबारे पुग्नुभयो । मङ्गलबारेमा आयोजित विजय सभामा नेम्बाङले भन्नुभयो, “तपाईंहरूको शिर निहुरिन दिने छैनौँ, सदासर्वदा जनताको हितमा लाग्नेछौँ ।” १६ गाविस रहेको क्षेत्र नं २ मा प्रत्येक दिन तीन/तीन वटा गाविसमा कार्यक्रम गरिने नेकपा एमाले क्षेत्रीय सचिव लेखनाथ खनालले जानकारी दिनुभयो ।

खनालको जित भएको सुन्नेबित्तिकै फिक्कलबाट आएको युवाको समूहले उहाँलाई फूलमालाका साथ शनिबार दिउँसो फिक्कल पुर्‍यायो । चुनाव जितेपछि कहिल्यै निर्वाचन क्षेत्र नफर्किने भन्ने आरोप खेप्दै आउनुभएका झलनाथ खनाल यस पटक भने सबैतिर पुग्ने बताउनुहुन्छ ।

“भोट माग्दा गरिएका बाचा अवश्य पूरा गर्नु मेरो कर्तव्य हो, खनालले रासससँग भन्नुभयो, जनतासामू गरिएका बाचा सबै पूरा गर्नेछु ।” फिक्कलमा आयोजित विजय जुलुसमा सहभागी हुनुभएका अध्यक्ष खनालले नेकपा एमालेले संविधान निर्माणको जिम्मा लिएर मुलुकलाई शान्ति र आर्थिक समृद्धितर्फ उन्मुख गराउने कार्यक्रममा लाग्ने बताउनुभयो ।

क्षेत्र नं ३ बाट विजयी केशव थापाको पनि नयाँबजार, नामसालिङ, सोयाङ हुँदै यस क्षेत्रका १८ गाविस पुग्ने धोको छ । पहिले-पहिले यतिसारो चासो पनि हुँदैनथ्यो अहिले जितेपछि पुगेन भने जनताले अर्काे पटकदेखि भोट नै दिँदैनन् भन्ने डर हुन्छ, थापा भन्नुहुन्छ, “पहिले संविधान अनिमात्र विकास यही नै मुख्य लक्ष्य हो ।” थापाको जितपछि शनिबार जमुना, प्याङ, फाकफोक, चमैतामा कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।

आफ्नो जितपछि नेताहरूले शनिबार इलाम बजारमा आयोजना गरिएको सभामा संविधान निर्माणमा आफूहरू केन्दि्रत हुने र एक वर्षभित्रमा नयाँ संविधान जारी गर्ने घोषणा गरे । सभामा नेतालाई स्वागत गर्दै मतदाताले भने, “समयमै संविधान बनोस्, देशको विकास होस् । हाम्रो मत खेर नजाओस् ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment