Comments Add Comment

फोटो कथा : अचेल यहाँ रमिता छ !

२० चैत, फेटा (बारा) । साहित्यकार इन्द्रवहादुर राईले ‘आज रमिता छ’ उपन्यास लेख्दा मोबाइल फोनको विकास संसारमा भइसकेको थिएन । त्यो जमानामा रमिता भनेको कुनै डाँडामा बसेर हेरिन्थ्यो । त्यसैले पहाडतिर प्रायः हरेक गाउँमा रमिते डाँडा भन्ने ठाउँ छन् ।

आइतबार साँझको आँधीबेहेरीले विनाशलीला मच्चाएको बाराको फेटा गाउँपालिकाका पुरनिया, भलबरिया लगायतका गाउँमा अचेल ‘रमिता’ छ । तर रमिते चाहिँ डाँडामा होइन आँधीबेहेरी प्रभावित गाउँलेका घरको भग्नावशेष अगाडि देखिन्छन् ।

भीआईपीको आवागमन चलिरहेका बेला गुरुरु कुदेर उनीहरुको पछि पछि लाग्नु उनीहरुको दिनचर्या हो । सोमवार विहानदेखि चलेको यो रमिता मंगलवार दोब्बर भएको थियो भने बुधबार पनि घटेको छैन । यी रमिते आँधिबेहेरी प्रभावित हुन् कि बाहिरिया हुन् भन्ने थाहा पाउने उपाय भनेको मोबाइल नै हो ।

‘तपाई यही गाउँको हो ?’ पत्रकारले सोधेपछि हातको मोबाइलले दृष्य खिचिरहेकाहरु फिस्स हाँसेर भन्छन्, ‘होइन म त हेर्न आएको ।’

आँधीप्रभावित क्षेत्रमा अहिले मोबाइलबाट फोटो र भिडियो खिच्ने आन्तरिक पर्यटकको संख्या हृवात्तै बढेको छ । यस्तो लाग्छ-आज यहाँ रमिता छ ।

वीरगन्जबाट नजिकै र सडक सन्जालभित्र पर्ने क्षेत्र भएकाले पनि यहाँ राहत र उद्दारकर्मी भन्दा पनि रमितको भीड देखिन्छ । यस्तो लाग्छ यहाँ मोबाइल मेला लागिरहेको छ । सुरक्षाकर्मीले घरका भग्नावशेषहरु पन्छाइरहँदा रमितेहरु छेउमा उभिएर मोबाइलले तस्विर र भिडियो खिचिरहेका हुन्छन् ।

पीडितहरुको रुवाबासी चलिरहेको छ, रमिते छेउमै गएर मोबाइलमा कैद गर्न तछाडमछाड गरिरहेका छन् । रमितेको भीडभाड हुनु नराम्रो होइन तर पीडितलाई गाँसबासको व्यवस्था गर्ने स्वयंसेवक भन्दा रमितेको भिड लाग्दा राहत र पुनस्थापनामा समस्या थपिएको छ ।

अब आँधीबेहेरी प्रभावित गाउँमा अनावश्यक भिडभाड गर्ने भन्दा पनि पीडितको लिस्ट बनाएर उनीहरुका लागि गएको राहतको व्यवस्थित वितरण तथा पुनस्र्थापनामा सरकार तथा स्वयंसेवी र सामाजिक संस्थाहरु संलग्न हुनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment