Comments Add Comment

पढेको जनशक्ति विदेश पलायन भयो, शिक्षा नीति सुधारौं : प्रचण्ड

२० चैत, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार हुनुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताएका हुन् ।

नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो रहेको बताउँदै उनले भने, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’

प्रचण्डले भने, ‘हामीले २५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

व्यवसायिक शिक्षामा प्राविधिक शिक्षामा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षालाई विद्यालयदेखि विश्वविद्यालयसम्म दिनुपर्ने प्रचण्डले बताए । उनले भने, ‘हामीले त्यस्तो शिक्षा दिन थाल्यौं भने स्वतः त्यसबाट उत्पादित जनशक्ति नेपालको वस्तुगत परिस्थिति अनुसार उसले कृषिमा आधुनिकीकरण, कृषिको व्यवसायीकरण, कृषिको विविधीकरण गर्ने र कृषिमा आधारित उद्योगहरु स्थापना गरेर उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरामा केन्द्रित हुनसक्दछ ।’

‘धनी र गरीबको खाडल हटाऔं’

विकास परिषद बैठक विगतको निरन्तरता मात्र हुन नहुने बताउँदै प्रचण्डले आगामी योजनामा धनी र गरिबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनुपर्ने पनि बताए ।

विगतमा आन्दोलन गर्दा र जनतालाई प्रशिक्षित गर्दा आफूहरुले विभेदको अन्त्य गर्ने भनेको स्मरण गर्दै प्रचण्डले भने, ‘अझ सरकारको नेतृत्व गर्ने पार्टी नेकपा त सबभन्दा बढी त्यही विषयमा प्रशिक्षण दिएर जनताको मन जितेर आएको हो । त्यसैले हामीले वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नैपर्दछ । हाम्रो योजनाले, हाम्रो बजेटले, हाम्रो कार्यक्रमले ।’

उनले सुशासनलाई पनि प्राथमिकतामा राख्न योजना आयोगलाई सुझाव दिए । राष्ट्रिय योजना आयोगको अहिलेको टिम इनर्जेटिक र डाइनामिक बनेको बताउँदै प्रचण्डले भने, ‘हामीले सुशासनमार्फत प्रभावकारी शासन प्रणाली दिन्छौं भनेर जनतालाई भनेका छौं । योजना निर्माणको प्रक्रियादेखि सबैमा त्यो सुशासनको कुरा पनि त्यसरी नै आउनुपर्दछ र जनताले के महसुस गर्नपर्छ भने अब नयाँ चिज आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment