Comments Add Comment

एसईई प्रश्नपत्र आउट प्रकरण : सिरहामा फोटो खिचियो, सप्तरीमा बेचियो !

प्रहरीकै मिलेमतोमा किनबेच भएको आशंका, ८ जना पक्राउ

२० चैत, काठमाडौं । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको प्रश्नपत्र प्रहरीबाटै बाहिरिएको निष्कर्ष नजिक अनुसन्धान अधिकारीहरु पुगेका छन् ।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार १४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्न–पत्र प्रहरीकै संलग्नतामा किनबेच भएको निष्कर्षसहित अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।

अब पक्राउ परेकाबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण रिपोर्टको पर्खाइमा छ ।

ब्युरोका एक उच्च अधिकारीका अनुसार घटनामा संलग्न भएको आशंका दुई जना प्रहरीसहित ८ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलको प्रत्यक्ष संलग्नतामा  प्रश्नपत्र बाहिरिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

उनीहरु मध्ये एकको दाजु एसईईका परीक्षार्थी थिए । दाजुलाई सहयोग गर्ने उद्देश्यले सुरक्षार्थ खटिएको परीक्षा केन्द्रबाट उनीहरुले प्रश्नपत्र चुहाएका थिए ।

इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । यसअघि सामाजिक सञ्जालमा बाहिरिएको प्रश्नपत्रको छेवैमा ब्लेड देखिएपछि प्रश्न–पत्र हुने पोकाको तलबाट काटेर प्रश्नपत्र निकालिएको आशंका गरिएको थियो । प्रश्नपत्र निकालेर फोटो खिचेपछि उनीहरुले सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु भएको प्रहरीको आशंका छ ।

‘जवानले यहाँबाट प्रश्नपत्र पठाएपछि सप्तरीमा पाउनेले प्रलोभनमा परेर प्रश्न–पत्र किनबेच गरेको हुनसक्ने देखिएको छ’, ब्युरोका एक अनुसन्धान अधिकारीले भने, ‘तर, विक्री गरेर ठूलो परिणाममा रकम लिएको देखिन्न ।’

हाल घटनाको अनुसन्धानमा ब्युराका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोली खटिएको छ भने परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

६ जना विद्यार्थीबाट सुरु भएको अनुसन्धान

प्रहरीले सप्तरीबाट शंकास्पद ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनीहरुबाट अनुसन्धान गर्दै जाँदा सिरहाका प्रहरीसम्म कनेक्सन पुगेको थियो ।

ती विद्यार्थीबाटै विभिन्न व्यक्तिको फेसबुक, भाइबर, ह्वाट्स एप लगायतसमक्ष प्रश्नपत्र पठाइएको खुलेको छ । प्रहरीले उनीहरुबाट बरामद मोबाइल र प्रश्नपत्रको फोटोलाई केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा पठाएको छ ।

‘हामी ल्याबकै रिपोर्टको पर्खाइमा छौं’, ब्युराका एक अधिकारीले सुनाए, ‘रिपोर्ट आउने वित्तिकै घटना प्रमाणित हुन्छ ।’

ब्युरोका निर्देशन नायब महानिरीक्षक (डीआईजी) निरज शाही भने घटनाको अनुसन्धान भइरहेको बताउँछन् । ‘ अहिल्यै यसै भनिहाल्ने अवस्था छैन’, उनले भने ।

पक्राउ परेका विद्यार्थीहरुलाई भने जिल्ला प्रहरी कार्यालय, सप्तरीको हिरासतमा राखिएको छ । ‘हामीले उनीहरुविरुद्ध अभद्र व्यवहार कसुर अन्तरगतको मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं’, सप्तरीका एसपी राजेन्द्र विष्टले अनलाइनखबरसँग भने, ‘उनीहरुको घटनामा संलग्नताबारे तथ्य खुलेपछि मात्रै के मुद्दामा कारबाही अघि बढाउने भन्ने निक्र्यौल हुन्छ ।’

उनका अनुसार परीक्षा भएकै दिन ८ जना शिक्षकलाई पनि पक्राउ गरिएको थियो । उनीहरुविरुद्ध भने शिक्षा ऐन अनुसार कारबाही हुने जनाइएको छ ।

‘शिक्षकको पनि प्रश्नपत्र लिक प्रकरणमा संलग्नता देखिएको होइन’, एक अनुसन्धान अधिकारीले भने, ‘तर, परीक्षा हल खुकुलो छाडिदिएको र कक्षा कोठामा मोबाइल चलाउने दिएको भेटिएकाले उनीहरुलाई कारबाही गरिएको हो ।’

प्रारम्भमा उनीहरुमाथि पनि प्रहरीले प्रश्नपत्र लिक प्रकरणसँग जोडेर अनुसन्धान गरे पनि पछि संलग्नता देखिएको थिएन । ब्युरोका प्रवक्ता एसपी उमाप्रसाद चर्तुवेदी भने पक्राउ परेका व्यक्ति बाहेक अन्यलाई पनि अनुसन्धानको दायरामा ल्याइएको बताउँदै अहिल्यै निष्कर्षमा पुग्न हतारो हुने बताउँछन् ।

परीक्षा नियन्त्रकको प्रश्न–जसलाई साँचो दियो, त्यसैले मनलाग्दी गर्ने ?

दुई विषयको प्रश्नपत्र परीक्षा अगावै चुहिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १५ चैतमा पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए ।

स्थगित भएको परीक्षा यही शुक्रबारदेखि सुरु हुँदैछ । विद्यार्थी भने पुनः प्रश्नपत्र बाहिरिएर परीक्षा रद्द हुने हो कि भन्ने चिन्तामा छन् । तर, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीका प्रमुख नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने आफूहरुले सबै व्यवस्था मिलाएको दाबी गर्दै ढुक्कसँगले परीक्षा दिन विद्यार्थीलाई आग्रह गर्छन् । उनले भने, ‘हामीले सुरक्षालाई थप मजबुत बनाउन परिपत्र गरिसकेका छौं । प्रहरीले अनुुसन्धान पनि गरिरहेको छ । त्यसैले विद्यार्थीले कुनै शंका गर्नु पर्दैन ।’

आफूहरुले अहिल्यै व्यवस्था नै परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै हालकै अवस्थालाई सुरक्षित गराइएको दाबी गरे । ‘जसलाई सियो दियो, उसैले मन लाग्दी ग¥यो भने त के गर्ने ?’, उनले गुनासो मिश्रित भावमा प्रश्न पनि गरे ।

प्रदेश दुईमा एसईई परीक्षा दिने विद्यार्थी संख्या ७० हजार ५ सय बढी छ । २२ गते विज्ञानको परीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment