Comments Add Comment

फ्याक्ट चेक : अञ्जु पन्त धर्म प्रचार गर्न बारा पुगेकी हुन् ?

२० चैत, काठमाडौं । मंगलबार एकाएक गायिका अञ्जु पन्त आँधी प्रभावित बारामा राहतको नाममा धर्म प्रचारमा गएको खबर सामाजिक सञ्जालमा फैलियो । गाडीको डिकीमा केही राहत सामाग्री र किताबहरु राखेर उभिएकी अञ्जुको तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

पीडामा पनि धर्म प्रचार गरेको भन्दै धेरैले गायिका अञ्जुलाई गालीगलौज गरिररहेका छन् ।

अञ्जु पन्त धर्म प्रचार गर्न बारा पुगेकी हुन् त ? अनलाइनखबरले गरेकाे ‘फ्याक्ट चेक’ मा रहस्य अर्कै पाइयो ।

अहिले अञ्जु पन्त बारा गएकी छैनन् । बुधबार बिहान ११ बजे उनी रेडियो नेपालमा भेटिइन् । रेडियो नेपालको स्थापना दिवसको अवसर पारेर आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिताको जज (निर्णायक) भएकाले व्यस्त रहेको उनले बताइन् ।

‘मेरो लगातार गीत रेकर्डिङ पनि चलिरहेको छ । म यो पटक बारा जान पाएको छैन, तर हामीले सहयोग पठाएका छौं,’ उनले टेलिफोन कुराकानीमा भनिन् ।

रेडियो नेपालले पनि मंगलबार विहान अञ्जु कार्यालयमा व्यस्त रहेको पुष्टि गरेको छ ।

उसो भए यो तस्वीर अहिलेको हो त ?

अञ्जुले आफ्नै नाममा अञ्जु पन्त फाउण्डसेन खोलेकी छन् । त्यसमार्फत विभिन्न सामाजिक कार्य गर्दै आएकी छिन् ।

उनका अनुसार केही पहिले उनी सहयोग लिएर बारा पर्सा लगायतका तराईका जिल्ला गएकी थिइन् । त्यहीबेला खिचेको तस्वीर अहिले भाइरल बनाइएको हो ।

अहिले प्रचार गरिएको तस्वीर उनको फेसबुक पेजमा पनि ५ डिसेम्बर २०१८ मै पोष्ट भएको भेटियो । अञ्जु भन्छिन्, ‘हामीले त्यसबेला बालबालिकालाई ब्याग र किताव कापी लगेका थियौं । त्यसलाई अहिले गलत प्रयासमा प्रयोग गरिएछ ।’

आफूले गीत संगीतबाट कमाएको रकमको केही अंश समाजसेवामा लगाउन चाहेको, तर पटकपटक गलत प्रचार गरेर निराश बनाउन खोजेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment