१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको चौथो क्वाटरफाइनल खेल पनि रद्द भएको छ ।
बंगलादेश र मलेसियाबीच हुने तय भएको क्वाटरफाइनल खेल निरन्तरको वर्षाले रद्द भएको एसियन गेम्सको आधिकारिक वेबसाइटमा रहेको खेलसूचीमा उल्लेख छ । यसअघि आजै बिहानको श्रीलंका र नेपालबीचको खेल पनि रद्द भएको थियो ।
मलेसियाका खेलाडी विरानदीप सिंहले पनि ३ घण्टाअगाडि नै खेल रद्द भएको जानकारी आएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
योसँगै वरीयताका आधारमा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि पाकिस्तान र हङकङ, भारत र अफगानिस्तान तथा श्रीलंका र नेपालबीचको खेल पनि वर्षाले रद्द भएका थिए ।
यी चारवटै टोलीले वरीयताकै आधारमा सोझै क्वाटरफाइनलमा स्थान पाएका थिए भने अब वरीयताकै आधारमा सेमिफाइनल पनि पुगेका छन् ।
नेपाल र अफगानिस्तान समूह ‘ए’ बाट तथा मलेसिया र हङकङ समूह ‘बी’ बाट क्वाटरफाइनलमा पुगेका थिए ।
प्रतिक्रिया 4