१३ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को यू–१९ महिला विश्वकपको सह–आयोजक नेपालमा भइरहेको तयारीप्रति सन्तुष्टि व्यक्त गरेको छ ।
आईसीसीका इभेन्ट्स एन्ड अपरेसन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले नेपाल आएर माथिल्लो मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको थियो ।
प्रतियोगिताको पूर्वतयारी तथा व्यवस्थापनबारे निरीक्षण गरेपछि सक्सेनाले नेपालमा क्रिकेटप्रतिको उत्साह विश्वका जुनसुकै देशसँग तुलना गर्न सकिने उल्लेख गर्दै यू–१९ महिला विश्वकप यहाँ आयोजना गर्न पाउँदा आईसीसी उत्साहित रहेको बताए ।
उनले भने, ‘नेपालमा क्रिकेटप्रतिको लगाव विश्वका जुनसुकै स्थानसरह छ । यो प्रतियोगितामार्फत सुन्दर देश नेपालसँग क्रिकेटको सम्बन्ध अझ मजबुत बनाउने अवसर हुनेछ। हामी सफल र अविस्मरणीय प्रतियोगिता आयोजना गर्न उत्साहित छौं ।’
सक्सेनाले निरीक्षण भ्रमण आईसीसी प्रतियोगिताको योजना र व्यवस्थापनको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै हालसम्मको प्रगतिप्रति टोली सन्तुष्ट रहेको बताए । उनका अनुसार प्रतियोगितालाई विश्वस्तरीय बनाउन आवश्यक पूर्वाधार, सञ्चालन र अन्य व्यवस्थापनका विभिन्न पक्षमा विस्तृत छलफल गरिएको छ ।
उनले क्यानलाई निरन्तर सहयोगका लागि धन्यवाद दिँदै आगामी महिनाहरूमा आईसीसीले क्यानसँग नजिकबाट सहकार्य गर्दै विशेष प्रतियोगिताको तयारीलाई पूर्णता दिने विश्वास व्यक्त गरे ।
नेपालले सन् २०२७ मा हुने आईसीसी यू–१९ महिला विश्वकपका लागि बंगलादेशसँगै सह–आयोजकको जिम्मेवारी पाएको छ ।
प्रतिक्रिया 4