+

टावल बाँधेको फोटो राख्दै विरानदीपले भने : मैदानमा जान नपाउँदै खेल रद्द भएछ…

२०८३ असोज  १३ गते ७:४९ २०८३ असोज १३ गते ७:४९

१३ असोज, काठमाडौं । एसियन गेम्समा बंगलादेशविरुद्धको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि मलेसियाका क्रिकेटर विरानदीप सिंहले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका छन् ।

टावल बाँधेको फोटो सार्वजनिक गर्दै विरानदीपले आफूहरू मैदान पुग्नसमेत नपाउँदै खेल रद्द भएको बताएका छन् । उनले लेखेका छन्, ‘हाम्रो क्वाटरफाइनल खेल रद्द भएको जानकारी आउँदा हामी होटलमै थियौं, म टावलमै थिएँ । बंगलादेशविरुद्ध खेल्ने अर्को अवसरका लागि तीन वर्षदेखि पर्खिरहेको थिएँ, तर यसपटक त्यो अवसर पनि जुरेन । एसोसिएट क्रिकेट कठिन छ ।’

बंगलादेश र मलेसियाबीच तय भएको क्वाटरफाइनल खेल निरन्तरको वर्षाका कारण रद्द भएको छ । विरानदीपले पनि खेल सुरु हुनुभन्दा तीन घण्टाअघि नै खेल रद्द भएको जानकारी पाएको बताएका छन् ।

खेल हुने कोरोगी स्पोर्ट्स पार्कको क्रिकेट मैदान पूर्णरूपमा ढाकिएको पनि छैन । पिच र स्क्वायर मात्र ढाकिएको अवस्थामा छ भने आउटफिल्ड त्यतिकै छाडिँदा मैदानभरी पानी जमेको छ ।

खेल रद्द भएपछि वरीयताका आधारमा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि आजै श्रीलंका र नेपालबीचको क्वाटरफाइनल खेल पनि वर्षाका कारण रद्द भएको थियो भने सोमबा पाकिस्तान र हङकङ तथा भारत र अफगानिस्तानको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

यससँगै वरीयताकै आधारमा क्वाटरफाइनलमा स्थान बनाएका टोलीहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश नै सेमिफाइनल पुगेका छन् ।

नेपाल र अफगानिस्तान समूह ‘ए’ तथा मलेसिया र हङकङ समूह ‘बी’ बाट क्वाटरफाइनलमा पुगेका थिए । वर्षाका कारण क्वाटरफाइनलका खेलहरू प्रभावित भएपछि वरीयताले नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाएको हो ।

एसियन गेम्स पुरुष क्रिकेट विरानदीप सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय