+
+
Shares

लौ सुन म भन्छु वैदेशिक रोजगार विभागको कहानी

नेपालको राजनीतिक अस्थिरता, बढ्दो गरिबी महंगी, बेरोजगारीलगायतका समस्याले आक्रान्त भएपछि लाखौँ नेपाली बैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा जान बाध्य छन् । यसको पछिल्लो उदाहरण श्रम मन्त्रालय अन्तर्गतको बैदेशिक रोजगार विभागमा श्रम गर्न लाइन बसेका नेपालीहरुको भिडले नै प्रमाणित गर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ३० गते २०:२४

नवराज पन्थी, कुवेतRojgar-bivag

नेपालको राजनीतिक अस्थिरता, बढ्दो गरिबी महंगी, बेरोजगारीलगायतका समस्याले आक्रान्त भएपछि लाखौँ नेपाली बैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा जान बाध्य छन् । यसको पछिल्लो उदाहरण श्रम मन्त्रालय अन्तर्गतको बैदेशिक रोजगार विभागमा श्रम गर्न लाइन बसेका नेपालीहरुको भिडले नै प्रमाणित गर्दछ ।

देशमा रोजगारी त पाइएन पाइएन दुई हात पाखुरा बजारेर खाने वातावरण पनि नभएपछि रोजगारीका लागि बिभिन्न मुलुक पुगेका नेपालीहरु घरबिदामा नेपाल आर्इ आफ्नो काममा सम्बन्धित मुलुक फर्किन सरकारी नियमको पालना गर्दै श्रम गर्न बैदेशिक रोजगार विभागमा जाने गर्छन् । म पनि दशैँलगत्तै श्रम गर्न बैदेशिक रोजगार विभागमा गएँ ।

 तिहारलगत्तै अर्थात कार्तिक २५ देखि मंसिर ५ गते सम्म चुनाब बहिस्कार गरेको बैद्य नेतृत्वको मोर्चाको आमहडताल र यातायात बन्दका कारण विदेश यात्रामा पनि अवरोध पुग्यो। जिल्लाबाट रात्री बसमा काठमाण्डौ गएको म बिहान ८ बजे बैदेशिक रोजगार बिभागमा पुग्दा झन्डै १२ सय नेपाली युवा सडकमा लाइन लागिरहेका थिए । दाहिनेपट्टि अघिल्लो दिन भौचर काट्नेहरु, जसले टोकन पाएका थिए, उनीहरु थिए भने बायाँपट्टि नयाँ टोलीको लाइन थियो। मैले हेर्दाहेर्दै मान्छेको भिड झन्डै २५ सय नाघ्यो । खुट्टा राख्ने ठाउँ समेत थिएन ।

बिमाको कागज तयार गरेर डकुमेन्टसहित म पनि लाइनमा अरु नेपालीसरह पालो पर्खिदै थिएँ । न नास्ता, न चिया, न खाना । लाइन कुर्दाकुर्दै भौचर काट्ने ठाउँसम्म पुग्दा बेलुकीको साढे चार बजेछ ।

हल्ला सुरु भयो, ५ बजे कार्यालय बन्द हुन्छ । अरु सबै काम भोलिमात्र । भोलि बिहान आएर फेरि यसैगरी लाइनमा बस्नुपर्छ । मैले पनि त्यही हल्ला सही मानेर एभरेष्ट बैंकको भौचर काटेर आफु बस्ने होटलतिर पाइला बढाएँ।

 दिनभरिको भीड, धुलो, कोलाहल र भोकले आघात गराएको थियो । कोही फ्लाइट छुट्यो भन्दैथिए त कोही भन्दै थिए, भोलि कम्पनीमा हाजिर हुन नपुगे रोजीरोटी नै बन्द हुन्छ । एकजना काभ्रेतिरका दाइ त लाइन मै ढलेर बेहोस भए । दिनभरिका ती दृश्य मेरा आँखाअगाडि घुम्न थाले ।

नेपालमा बिमाको फारम भर्न पनि ठगी नै पर्ने । फारम भरिदिएको मात्रै एजेन्टलाई २ सय रुपैयाँ दिनुपर्ने रहेछ । त्यतिमात्र कहाँ हो र, एकजना झापाकी पूजा राजबंशी दिदीलाई ५ हजार दिनु, श्रमको काम सबै गरिदिन्छु भन्दै लाइनमा बस्न लगाएर बिमा सीमाको फाराम थमाएर भित्र मान्छे भेटेर आउँछु भन्दै एजेन्ट टाप कसेछ्न् । उता दाङका रमेश खड्कालार्इ त्यसैगरी झुक्याएर ३ हजार लिएर एजेन्ट फरार भएछन् । उनले पुलिसलाई गुनासो सुनाइरहेको दृश्य पनि मेरो कानमा गुन्जिरहेको थियो । र मेरो मन आत्तियो ।

बिहान सबैभन्दा पहिला वैदेशिक विभाग पुग्ने र सबैभन्दा अगाडि लाइन बस्ने सोचाइ बनाएँ। नभन्दै बिहान ठीक ८ बजे नै म श्रम मन्त्रालयको बैदेशिक विभागमा लाइन बस्न पुगें । एक साइडमा नयाँ र एक साइडमा पुरानो लाइन लागिरहेको थियो । भौचर काटिसकेकाले म पनि बासी लाइनमा गएर उभिएँ । मेरो टोकन नम्बर ४८७ पर्यो । साथीहरु राति ११ बजेबाटै लाइनमा बसेको कुरा मैले एकापसमा बोलेको सुनिरहेको थिएँ ।

त्यहीँ लाइनमा बस्दाबस्दै एकजना काँधमा गलबन्दी भिरेको झिल्के आएर ओह दाजु छिटो काम गर्नुछ भने २ हजार दिनु, तुरुन्तै म काम गरिदिन्छु भन्यो । मैले ११ घण्टा बिताएसकें, अब के घुस खुवाउने तपाईलाई मात्र के भनेको थिएँ । उनी रिसाउँदै अर्को दिशातिर मोडिए । हेर्दाहेर्दै लाइन मिचेर आयो भनेर पुलिसले एकजनालार्इ लात्ताले हान्दै थिए । कोही पुलिसहरु टोकन बाँड्नमै पनि दुई नम्बरी गर्दै थिए । ४८० को टोकन पाएको व्यक्तिसँगै रहेको व्यक्तिलाई ४८१ नदिएर ४८४ दिँदै थिए । वीचवीचमा यस्तो गर्दै टोकन बाँडिरहेको दृश्य देखिँदै थियो । कोही भन्दै थिए, भित्र सीसी क्यामराले गर्दा खान मिलेन क्यारे, अख्तियारमा लोकमान पसेको छ । अब टोकन नै बेचेर खान पल्किए छ्न् ।

हेर्दाहेर्दै मान्छेको भीड ह्वात्तै बढ्यो, पुलिस र कर्मचारी भन्दै थिए, आज पनि ३ हजारको संख्या नाघिसक्यो । आज टोकन बाँडेको १२ सय जनाको मात्र श्रमको काम सकिन्छ । १२ सयको भनेपछि मेरो मन अलिक रमायो, नभन्दै धन्नै दिउँसोको २ बजे निक्कै कठीनपूर्वक श्रम गरेर बाहिर निस्किए, लगभग १३ घन्टाको प्रयत्नपछि श्रमको काम सकियो ।अब भारी भएको ज्यान हल्का भएको महसुस भयो।

 वैदेशिक रोजगार विभागमा करिब १३ घण्टा बस्दा मैले धेरै कुरा नियाल्ने मौका पाएँ । वैदेशिक शाखा, जहाँ दिनहुँ सयौँ मान्छे श्रम गर्न जान्छन्, त्यो ठाउँ नै साघुँरो छ । जहाँ सजिलोसँग लाइन बसे ५ सयजना पनि अट्दैनन् । सडक र गल्ली नै बन्द गरेर २५ सयदेखि तीन हजारको संख्यामा उकुस–मुकुसमा रहँदाको अवस्था झन् पीडादायी छ ।

अरुभन्दा दशैँ तिहारजस्ता चाडपर्वमा नै श्रम गर्ने नेपालीको ताँती लाग्ने कुरामा कुनै शंका छैन । त्यसैले सबैभन्दा पहिला वैदेशिक रोजगार विभागको यो श्रम स्वीकृत गर्ने यो कार्यालयलाई अलि सुविधाजनक अनि फराकिलो जग्गामा सार्नु उपयुक्त हुन्छ । कार्यालयको साघुँरो गल्लीमा हिँड्ने सवारी साधन र आफ्नै घरभित्र छिर्न पनि घरबेटीलार्इ समेत बाटो नपाएर सास्ती त्यहाँका मान्छेले भोगेका छन् ।

आफ्नै देशमा रोजगारी दिन नसक्ने सरकारले कमसेकम अर्काको देशमा मजदुरी गर्न ऋण खोजीखोजी जाने नेपाली कामदारलाई सजिलोसंग पासपोर्ट र श्रम डकुमेन्ट बनाउने ब्यवस्था गर्न श्रम मन्त्रालय र सरकारको आँखा पटक्कै पुग्न सकेको छैन । कामदारलार्इ मात्र होइन, कि वैदेशिक विभागमा काम गर्ने कर्मचारीको पनि अवस्था कष्टकर नै रहेको छ । राजाको काम कहिले जाला घाम भन्ने कर्मचारीलाई कसेर जागिरमा राखिएको छ ।

अर्को कुरा, नेपालभरि नै एभरेष्ट बैंकका शाखाहरु खुलेका छन् । तर पनि बैदेशिक बिभागमै रहेको एभरेष्ट बैंकको काउन्टरमै भौचर काट्नुपर्ने बाध्यतालार्इ परिबर्तन गर्दै एभरेष्ट बैंकको कुनै पनि शाखामा काटेको भौचरलार्इ मान्यता दिए हुन्थ्यो । यसो गरेको भए विभागका कर्मचारीले त्यति साह्रो भिडलार्इ सहनुपर्ने थिएन । कामदारले धेरै समय लाइन कुर्नु पर्ने थिएन कि ? बेलैमा आफ्नो काम सकेर फर्किन पाउने थिए ।

बैदेशिक रोजगारीमा गएका नेपालीले भित्र्याएको मोटो रेमिट्यान्सले नै देश चलेको छ भन्ने बुझ्दाबुझ्दै पनि नेपाल सरकार र सम्बन्धित निकायको ध्यान बैदेशिक रोजगार विभागको श्रम फाँटसम्म पुग्न नसक्नु प्रवासी नेपालीहरुका लागि दु:खदायी कुरा हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?