Comments Add Comment

संविधान लेख्ने सभासद् राजधानीमा कोठा खोज्दै

राजकुमार श्रेष्ठ

११ माघ, काठमाडौं । संविधान लेख्न सभासद चुनिएर आएकी डडेल्धुराकी ज्ञानु गैरेलाई काठमाडौंमा कोठाको समस्याले सताएको छ । अहिलेसम्म तीन/चार ठाउँमा हेरे पनि अनुकूलको कोठा भेटिएको छैन । एमाले समानुपातिक सभासद गैरेले अनलाइनखबरसँग भनिन्-गाह्रो त नभनौं । तर, कहीँ भाउ मिल्दैन, कहीँ पानी, ट्वाइलेटलगायतको सुविधा छैन । कहीँ महंगो भन्छन् । अहिलेसम्म चित्तबुझ्दो कोठा भेटिएको छैन ।’ca-house

एक ठाउँमा १५ हजारको कोठा भेटिएकोे सुनाउँदै उनले भनिन्- काठमाडौंको भाउअनुसार त ठिकै होला तर, हामी टाढाबाट आएकालाई यो महंगो लाग्यो ।’

लगलनखेलमा नातिसँगै बस्दै आएकी गैरे सकेसम्म बानेश्वर आसपासमा कोठा खोज्दैछिन् । उनले कोठा खोज्न बहिनी, ज्वाइँ र साथीभाइको समेत सहयोग लिएकी छन् ।

यो समस्या गैरेको मात्र होइन । काठमाडौंमा घर भएका र पहिल्यैदेखि डेरा जमाएका सभासदलाई समस्या छैन । तर, प्रत्यक्षमा जितेका वा समानुपातिकमा परेका धेरै सभासदका लागि काठमाडौंमा यतिबेला डेरा जटिल समस्या बनेको छ ।

पाल्पा १ बाट प्रत्यक्ष निर्वाचित एमाले सभासद राधाकृष्ण कँडेलले अनलाइनखबरसँग भने-‘साथीभाइको सहयोगमा कोठा खोजिरहेको छु, भेटिएको छैन ।’ बानेश्वर बुद्धनगर क्षेत्रमा कोठा खोजेको उनले बताए । उनी अहिले भने बसुन्धरामा आफन्तकहाँ बस्दै आएका छन् ।

कांग्रेस सभासद सरवत आरा खातुन हलुवाइनी पनि काठमाडौं आएदेखि होटलमा बस्दै आएकी छिन् । कोठा खोज्न जाँदा निकै महंगो भन्ने गरेको भन्दै उनले अनलाइनखबरसँग गुनासो पोखिन्-‘शुक्रबारदेखि होटलमा बस्दै आएकी छु, अहिलेसम्म कोठा भेटिएको छैन । तीनकुनेमा भेटिएको पनि १५ हजार भनिरहेको छ ।’ कोठा भेट्टाउन गाह्रो मात्र होइन, महंगो पनि तिर्नुपर्ने भएको उनले बताइन् ।

सिंहदरबार छेउछाऊ बस्ने इच्छा

धेरै सभासदहरु पाएसम्म सिंहदरवार र संविधानसभा भवन नयाँ बानेश्वर आसपासमा बस्न चाहन्छन् । जसका कारण यो क्षेत्रमा कोठा पाउन मुस्किल मात्र भएको छैन, पाएपनि महंगो पर्ने गरेको छ । बानेश्वर क्षेत्रमा घर भएका केहीले सभासदहरु आउँदैछन् भनेर खाली भएका घरमा रंगरोगन मात्र गरेका छैनन्, केहीले बढी भाडा असुल गर्न पाइने आशमा भाडामा बस्दै आएकालाई हटाएर खाली गराएका छन् ।

बानेश्वर क्षेत्रमा तीनतले घरमा खाली कोठा देखेर सोध्दा एकजना घरबेटी बाले भने-‘सभासदहरु आउँदैछन्, अब तपाईलाई कहाँ दिनु ? मैले बस्दै आएकाहरुलाई हटाएर खाली गराएको छु ।’

 घरभाडासम्बन्धी कानून पो बनाउने हो कि ?

संविधान र कानून बनाउन काठमाडौं छिरेका सभासदले यतिबेला राजधानीमा कोठाको समस्या भोगे पनि बाहिरबाट अध्ययन गर्न वा जागिर खान उपत्यकामा छिरेका नागरिकले पहिलेदेखि नै यस्तो समस्या भोग्दै आएका छन् ।

मुलुकी ऐनमा घरबहाल सम्बन्धी सामान्य व्यवस्था भए पनि डेरामा भएको व्यक्तिलाई जुनसुकै बेला घरबेटीले हटाउने, अनयिमितरुपमा भाडा असुल्ल्ने, पानी विजुली लगायतका सुविधा नदिने आदि समस्याका कारण कोठाभाडा सम्बन्धी कानून निर्माण खाँचो महसुस गर्न थालिएको छ ।

कानून बनाउने सभासदहरुले राजधानीमा कोठाभाडा महंगो भयो भन्दै गुनासो गर्नुको साटो यो समस्यालाई सुल्झाउने कुनै नयाँ विधेयक पो ल्याउने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment