Comments Add Comment

त्रिभुवन विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ बनाउन थालियो काम

सजियो गैँडाको मूर्ति

१२ चैत, काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ बनाउने काम अघि बढाएको छ । सरकारले पारित गरेको कार्यविधि अनुरुप विमानस्थल कार्यालयले काम सुरु गरेको हो ।

आगामी वैशाख १ मा प्रारम्भिक पूर्वाधार तयार गरिसकेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘बुटिक एयरपोर्ट’ घोषणा गर्ने गरी काम थालिएको हो । बुटिक एयरपोर्टको घोषणा भएपछि अरु ८ महिनामा सबै काम सकेर विमानस्थललाई विश्वकै नमूना बनाउने दावी सरकारको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्डले बुटिक एयरपोर्टको प्रारम्भिक कामका लागि साढे ७ करोड बराबरको बनेट विनियोजन गरेको छ । अब सो रकम खर्च गर्न सुरु गरिएको छ । यसअघि देखि नै विमानस्थलमा सुधारको काम सुरु भएको थियो । तर, बुटिक मर्मअनुरुप स्तरोन्नति गर्न ठूलो बजेटको आवश्यकता छ ।

प्रारम्भिक कामका लागि साढे ७ करोडको बजेट पास भएलगत्तै सोझै खरिदमार्फत विमानस्थलमा विभिन्न मूर्तिहरु राख्ने लगायतका काम सुरु भएका हुन् । विमानस्थलको आगमनतर्फको भागमा हालै दुर्लभ एक सिंगे गैँडाका मूर्ति राखिएका छन् । नेपालमा पाइने लोपोन्मुख एक सिंगे गैँडाको माउ र केटाको मूर्ति विमानस्थलको बगैँचा क्षेत्रमा राखिएको हो ।

पर्यटन मन्त्रालयले बुटिक एयरपोर्टका लागि करिब ४५ करोड खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । तर, पहिलो चरणमा न्युनतम् तवरका काम गर्न साढे ७ करोड खर्च गर्ने गरी काम सुरु भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए ।  बाँकी बजेट आगामी वर्षको बजेटमा विनियोजन हुनेछ ।

के-के काम गरिँदैछ ?

तत्कालै आगमनतर्फको लिफ्टसँगकै खाली सटरलाई व्यवस्थित गरेर विभिन्न देवी देवताका मूर्ति राख्न लागिएको छ । त्यसमा यसमा नटराज लगायतका मूर्ति राख्ने योजना बनेको छ ।

‘अरु काम विस्तारै गर्ने योजना छ, अहिले तत्काल बुटिक एयरपोर्टका लागि तत्कालै गर्नैपर्ने काम सुरु गरेका छौं,’ क्षेत्रीले भने ।

विमानस्थलको टर्मिनल भवनमा रंगरोगनको काम पनि हुनेछ । विमानस्थल बनेदेखि हालसम्म पनि टर्मिनल भवनको इँटामा सिलिकन कलर पोत्ने काम भएको छैन । रंगरोगन गरेर विमानस्थल चम्काउने योजना छ ।

यस्तै विमानस्थलका विभिन्न भागमा बगैँचा बनाएर फूलहरु रोपिनेछ । हालको बगैँचालाई सुधार गर्ने र नयाँ बगैँचा निर्माण गरी सुन्दर किसिमका फूलहरु रोप्ने काम पनि तत्कालै गर्नेछ ।

यस्तै विमानस्थलको टर्मिनल भवनको ‘थिम’ सँग मिल्ने गरी अव्यवस्थित तारहरुलाई प्लास्टिकको पाइपबाट हटाएर काठले छोप्ने योजना पनि छ । तारहरुलाई काठले छोप्दा भवनका भित्ताहरु कुरुप पनि नदेखिने र बुटिक थिम पनि आउने दाबी विमानस्थलको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख क्षेत्री प्रधानमन्त्रीको निर्देशनअनुसार सकेसम्म बैशाख १ मै बुटिक एयरपोर्ट घोषणा हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment