Comments Add Comment

चिनी कारखानामा मन्त्रीः कस्तो फोहोर ! कसैले देखे के भन्छन् ?

१२ चैत, वीरगञ्ज । बन्द भएका सरकारी उद्योग तथा सार्वजनिक संस्थानहरु पुनः खोल्ने नारा दिएको उद्योगमन्त्री मातृका यादवले मंगलबार वीरगञ्ज चिनी कारखानाको निरीक्षण गरे ।

तर, उद्योग पुनःसंरचना गर्ने कुरा गरेनन् । बरु उद्योग परिसर र मेसिन फोहोर रहेछ, सफा राख्नू भन्ने निर्देशन दिए । उनकाअनुसार त्यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यहोर्नेछ ।

मंगलबार चिनी कारखानाको अवलोकनपछि उनले उद्योग परिसर र मेशिन सफा राख्न निर्देशन दिएका हुन् । ‘कारखाना बन्द छ भनेर यस्तो छोड्नु हुँदैन’ उनले भने, ‘हेर्नुस् त कस्तो फोहोर छ । कसैलाई ल्याएर देखाउँदा पनि के भन्छ ? सफा राख्नुस् ।’

उनले मेशिनसम्बन्धी जानकारी भएको टोली लिएर पुन अवलोकनका लागि आउने समेत बताएका छन् । वीरगञ्ज चिनी कारखाना बन्द भएपनि केहि कर्मचारी कार्यरत छन् ।

मन्त्री यादवले आफू चिनी मिलको अवस्था कस्तो छ भनेर हेर्न र अदालतका लागि जग्गाको माग भएकाले त्यसबारे बुझ्न आएको बताए । जनकपुर उच्च अदालतको वीरगञ्जमा इजलास छ तर, भौतिक संरचना नभएको भन्दै सशस्त्र प्रहरी बलद सीमा सुरक्षा कार्यालय पर्सालाई जमिन दिएकै ठाउँमा १० विगाहा जग्गा माग भएको छ ।

वीरगञ्ज चिनी कारखाना भने १५ फागुन २०५९ देखि बन्द छ । २०२१ साल माघ १८ मा स्थापना भएको उद्योगले स्थापना कालमै वाषिर्क ९० हजार क्विन्टलसम्म चिनी उत्पादन गरेको थियो । कारखानामा २०३४ सालमा आधुनिक मेशिन थपिएपछि उत्पादन क्षमता १ लाख ३५ हजार क्विन्टल पुगेको थियो । तर, राजनीतिक चलखेलका कारण बन्द हुन पुग्यो । सरकार परिवर्तन भएसँगै चिनी उद्योग सञ्चालन हुने चर्चा चल्ने गरेको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment