Comments Add Comment

राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

१२ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीविरुद्ध ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्याौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको कुरा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरुबाट समेत पुष्टि भएको बताएको छ ।

अख्तियारले यही घुस प्रकरणमा जोडिएका राजनारायण पाठकका भाइ शुभनारायण पाठकले लिएको १५ लाख रुपैयाँ  नेपाल इन्जिनियरिङ कलेजसंग सम्बन्धित नरहेकोले त्यस विषयमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको जनाएको छ ।

अख्तियारले पाठकलाई ११ वर्ष कैद सजायको मागदावी गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को (१) र दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम जरिवाना र कैद सजाय गर्न माग गरिएको छ । ऐनको उक्त दफा ३ मा ५० लाखदेखि एक करोड रुपैयाँसम्म घुस खुवाउनेलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

त्यस्तै पाठक संवैधानिक आयोगको पदमा बहाल रहेकै अवस्थामा कसुर गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजाय पनि माग गरिएको छ । दफा २४ मा संवैधानिक अंगका पदाधिकारीले कसुर गरेमा थप ३ वर्ष कैद हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment