Comments Add Comment

इमरान खानको अभिव्यक्तिबाट अफगानिस्तान रुष्ट, पाकिस्तानबाट राजदूत फिर्ता

१३ चैत, काठमाडौं । अफगानिस्तानले पाकिस्तानबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएको एक अभिव्यक्तिबाट रुष्ट अफगानिस्तानले आफ्नो राजदूत फिर्ता बोलाएको हो ।

इमरान खानले हालै अफगानिस्तानमा अन्तरिम सरकार गठन हुनुपर्ने अभिव्यक्ति दिएका थिए । अफगानिस्तानले खानको यो अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको छ ।

बीबीसीका अनुसार इमरान खानले अफगानिस्तानमा अन्तरिम सरकार बनेमा अमेरिका र तालिबान समूहबीच वार्ताले गति लिने बताएका थिए ।

किनकि तालिबान समूहले अफगानिस्तानको वर्तमान सरकारसँग वार्ता नगर्ने अडान लिएको छ । असरफ गनी नेतृत्वको वर्तमान सरकार शान्ति प्रक्रियामा बाधा बनिरहेको अभिव्यक्तिसमेत इमरान खानले दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

अमेरिकाले अफगानिस्तानमा रहेका तालिबान लडाकु समूहसँग वार्ता गर्ने कोशिस गर्दै आएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबाट रुष्ट अफगानिस्तानले आन्तरिक मामिलामा दखल नदिन चेतावनी दिएको छ । अफगानिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले ट्वीटरमा लेखेका छन्– पाकिस्तानले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्दैन, ऊ हस्तक्षेपको नीतिमा अगाडि बढिरहेको छ । यस विषयमा अफगानिस्तानले पाकिस्तानसँग स्पष्ट जवाफ समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment