News Summary
Generated by OK AI. Editorially reviewed.- तमोर करिडोर निर्माणपछि धनकुटाका दुर्गम बस्तीहरूमा सडक पहुँच पुगेसँगै बसाइँ सरेका स्थानीयहरू आफ्नै जन्मथलो फर्कन थालेका छन् ।
- सडकले कृषि उपजको बजार सुनिश्चित गरिदिएपछि फलामेटारका महेन्द्र न्यौपाने लगायतका किसानहरूले व्यावसायिक फलफूल खेतीमा लगानी विस्तार गरेका छन् ।
- चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङका अनुसार सडकसँगै विद्युत् र सञ्चार सेवाको विस्तारले गर्दा गाउँ छोडेका परिवार पुनः गाउँ फर्किने क्रम बढेको छ ।
४ साउन, धनकुटा । एक समय फलामेटार पुग्न चार–पाँच घण्टा उकालो-ओरालो हिँड्नुपर्थ्यो । बिरामी परे डोकोमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता थियो । गाउँमा फलफूल फल्थे, तर बजार नपुग्दा बोटमै कुहिन्थे । त्यसैले धेरैले आफ्नो पुर्ख्यौली गाउँ छाडे । कोही सदरमुकाम झरे, कोही सहर पसे ।
तर अहिले त्यही गाउँमा फेरि चहलपहल फर्किन थालेको छ । परिवर्तनको आधार बनेको छ- सडक ।
तमोर करिडोर निर्माणसँगै धनकुटाका पहाडी बस्तीमा सडक पुगेपछि वर्षौँअघि बसाइँ सरेका परिवारहरू आफ्नै जन्मथलो फर्कन थालेका छन् । सडकले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ ।
चौबिसे गाउँपालिका–४ फलामेटारका महेन्द्र न्यौपाने त्यही परिवर्तनका प्रतिनिधि हुन् । करिब दुई दशकअघि वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै केही गर्ने सपना देखेका उनी सडक, बजार र आधारभूत सेवाको अभावका कारण अन्तत: धनकुटा सदरमुकाम बसाइँ सर्न बाध्य भएका थिए ।
गाउँमा फलफूल खेती गरे पनि उत्पादन बजार पुर्याउने बाटो थिएन । फल पाकेपछि आफैं खाने, आफन्तलाई बाँड्ने र बाँकी कुहिएर फाल्नुपर्ने अवस्था थियो । बिरामी पर्दा अस्पताल पुग्न पनि सास्ती थियो। त्यसैले गाउँमा भविष्य नदेखेर उनी गाउँ छाडे ।
तर तमोर करिडोर बनेपछि उनको निर्णय फेरियो ।

अहिले उनी आधा समय गाउँमा र आधा समय सदरमुकाममा बिताउँछन् । गाउँ फर्किएपछि करिब ३० रोपनी जग्गामा आँप, एभोकाडो, सुपारी, सजिवनलगायतका फलफूलको व्यावसायिक खेती विस्तार गरेका छन् ।
‘पहिला फलफूल बेच्ने बाटो नै थिएन,’ उनी भन्छन्, ‘अहिले व्यापारी बगैँचामै आइपुग्छन् । चाहे सदरमुकाम वा धरान–इटहरी लगेर बेच्न पनि सजिलो भएको छ । मल, बीउ र अन्य सामग्री ल्याउन पनि कुनै समस्या छैन ।’
उनको अनुभवले सडकले कृषिमा ल्याएको परिवर्तनलाई प्रस्ट देखाउँछ ।
फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्तीमध्ये एक मानिन्थ्यो । वर्षायाममा गाउँ बाहिरी संसारबाट लगभग कटिन्थ्यो । तर अहिले सडकसँगै विद्युत्, खानेपानी, सञ्चार र यातायातको पहुँच विस्तार भएको छ । स्थानीय उत्पादन सहजै बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन् ।
यही परिवर्तनले स्मृति लिम्बूको परिवारलाई पनि गाउँ फर्काएको छ ।

सुविधाको अभावले २०७८ सालमा गाउँ छाडेको उनको परिवार केही वर्षपछि फेरि आफ्नै गाउँ फर्किएको छ। अहिले उनीहरू गाउँमै व्यवसाय गर्दै बसेका छन् ।
‘पहिला धेरै असुविधा थियो । बिरामी हुँदा झन् ठूलो समस्या हुन्थ्यो,’ लिम्बू भन्छिन्, ‘अहिले सडक भएपछि सामान ल्याउन सजिलो भएको छ । शिक्षा, स्वास्थ्य र व्यापार सबैमा सहज भएको छ । त्यसैले फेरि गाउँ फर्कियौं ।’
फलामेटार मात्र होइन, तमोर करिडोरअन्तर्गत पर्ने सदामटार, हंसमोरङ र भैँसेटारजस्ता बस्तीमा पनि बसाइँ सरेका परिवारहरू फर्कने क्रम सुरु भएको छ ।
स्थानीय विनोद भण्डारीका अनुसार फलामेटारबाट मात्रै नफर्कने गरी बसाइँ गएका छ परिवार अहिले पुन: गाउँ आएका छन् । अन्य बस्तीमा पनि केही परिवार फर्किएका छन् ।

फर्किएकामध्ये कसैले कृषि सुरु गरेका छन्, कसैले होटल तथा पसल सञ्चालन गरेका छन् भने कतिपयले पुराना घर मर्मत गरेर स्थायी बसोबास थालेका छन् ।
‘पहिला गाडी चढ्नै चार–पाँच घण्टा हिँड्नुपर्थ्यो,’ भण्डारी सम्झिन्छन्, ‘उत्पादन बेच्न सकिँदैनथ्यो। अहिले गाडी गाउँमै आउँछ । सामान पनि यहीँ आइपुग्छ। जीवन धेरै सहज भएको छ ।’
सडकसँगै बाँझिएका खेतबारी फेरि हरियाली हुन थालेका छन् । उत्पादन बजारसम्म पुग्ने निश्चित भएपछि कृषिमा लगानी गर्ने किसानको संख्या बढ्दै गएको स्थानीय बताउँछन् ।
चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङका अनुसार पछिल्ला वर्षहरूमा सडक सञ्जाल विस्तारसँगै धनकुटाका सातवटै स्थानीय तहमा गाउँ फर्किने क्रम देखिन थालेको छ ।
उनका अनुसार सडकसँगै गाउँ–गाउँमा विद्युत्, खानेपानी, इन्टरनेट र टेलिफोन सेवा पुगेको छ । अब गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, कृषि बजार र स्थानीय रोजगारीका अवसर विस्तार गर्न सके बसाइँसराइलाई अझ प्रभावकारी रूपमा रोक्न सकिने उनको विश्वास छ ।

धनकुटाका पहाडी बस्तीहरूमा सडकले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छाडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि दिएको छ ।
एक समय सुनसान बन्दै गएका बस्तीमा फेरि बालबालिकाको हाँसो सुनिन थालेको छ, खेतबारी हराभरा देखिन थालेका छन् र गाउँलेहरू भविष्य खोज्न सहर होइन, आफ्नै गाउँ फर्किन थालेका छन् ।
यही परिवर्तनले देखाउँछ—कहिलेकाहीँ एउटा सडकले केवल दुई ठाउँ जोड्दैन, टुटेको सम्बन्ध पनि जोडिदिन्छ ।
प्रतिक्रिया 4