+
+
Shares

एक्ली महिला वडाध्यक्षको कथा : गाईपालन गर्दैछु, कुनै लोभ छैन

श्रवण देव श्रवण देव
२०७५ चैत १२ गते २०:१७

१२ चैत, सप्तरी । सप्तरीमा १८ वटा स्थानीय तहमा १६३ वडाध्यक्ष छन् । तर, कुसुम आचार्य जिल्लाकै एक्ली महिला वडाध्यक्ष हुन् । अग्निसाइर कृष्णासावरण गाउँपालिका वडा नम्बर ६ बाट अध्यक्ष पदमा निर्वाचित भएकी हुन् आचार्य ।

२ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट उम्मेदवार बनेकी उनी ३४ मत अन्तरले वडाध्यक्ष निर्वाचित भइन् । । निकटतम प्रतिद्वन्द्वी तत्कालीन माओवादीका तेतर चौधरीले ४०० मत ल्याउँदा उनले ४३४ पाइन् ।

एकातिर आफ्नो प्रतिद्वन्द्वी पुरुष र अर्कातिर तत्कालीन अवस्थामा एमालेलाई मधेस विरोधी भनेर गरिएको प्रचारका बीच वडा अध्यक्षमा निर्वाचित हुनु आचार्यका लागि आश्चर्यकै कुरा थियो । तर उनी भन्छिन्, ‘म निर्वाचित हुन्छु भन्ने विश्वास भने थियो ।”

अरुलाई धेरै धपेडी, मैले भेट गर्दा पुग्यो

उनी अध्यक्ष भएको वडामा महुली बजार पर्छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीकै नमूना महुली दूध तथा मासु उत्पादनमा अग्रणी छ । यहाँका अधिकांश महिला नै गाईपालनमा लागेका छन् ।

यसबाहेक खसी र बाख्रापालन गर्नेमा पनि पुरुषभन्दा महिलाको संख्या अत्यधिक छ । कुसुम वडाभरिका अधिकांश महिलासँग शुरुदेखि नै सम्पर्कमा थिइन् । उनीहरुसँग राम्रै घुलमिल थियो । ‘जहिल्यै, जुनसुकै समयमा बोलाउँदा महिलाहरु समक्ष पुग्ने गरेको थिएँ’ कुसुम भन्छिन्, ‘प्रहरी कार्यालयदेखि अदालतसम्म पुग्दा मलाई खोज्थे ।’

यही कारण चुनाव जित्न सजिलो भएको उनको विश्लेषण छ । अरु उम्मेदवारले धेरै धपेडी गर्नुपरे पनि आफूले महिलाहरुसँग भेट गर्दा पुगेको बताइन् । ‘न त रकम नै खर्चिनुपर्‍यो, नत अरु उम्मेदवारजस्तो घरदैलो नै गर्नुपर्‍यो’ उनी थप्छिन्, ‘आफ्नो संघर्ष देखेरै यहाँका जनताले मलाई जिताएका हुन् ।’

पतिले छाडे, संघर्षमै बन्यो जीवन

१५ वर्षको उमेरमै विवाह गरेकी उनको दाम्पत्य जीवन राम्रैसँग जीवन बिताइरहेकी थिइन् । पहिलो सन्तानका रुपमा छोरा जन्मिए । यामप्रसाद तनहुँको दमौलीमा निजी विद्यालयमा अध्यापन गर्थे । कहिले यामप्रसाद पनि घर आउँथे त कहिले कुसुम पनि त्यहाँ पुग्थिन । तर, उनको खुशी धेरै दिन टिक्नै सकेन ।

पति याम प्रसाद सापकोटाले तनहुँकै महिलासँग अर्को बिहे गरे । उनी तत्कालै काखे छोरा बोकेर दमौली पुगिन् । दमौली पुग्दा श्रीमान र सौताको हेला सहेर घर फर्किन बाध्य भइन् उनी । अहिले ४८ बर्ष उमेर पार गरेकी कुसुम त्यो दिन सम्झिदैं भनिन्, ‘पतिले अर्काे विवाह गर्छन् भन्ने कल्पना गरेका थिएनौं ।’

अहिलेको जस्तो बहुविवाहको मुद्दा हाल्ने, अंश लिने जस्ता कुराबारे उनी अनभिज्ञ थिइन् । ‘यो भन्दा त छोरालाई कसरी पाल्ने र हुर्काउने ? बारेमा सोंच्न थाले ।’

‘छोरा हुर्कँदै जाँदा पुराना दिनहरु बिर्सिएर समाजमा महिलाहरुमाथि हुने अन्याय, अत्याचारले ती दिनहरु सम्झाउने गथ्र्याे’ उनी भन्छिन्, ‘मैले त दुःख पाएँ पाएँ, अरुले नपाओस् भन्नका लागि महिलाहरुको पक्षमा लड्न शुरु गरे ।’

घरेलु हिंसामा परेका, श्रीमानबाट हेपिएका महिलाका लागि उनले आवाज उठाउन थालिन् । यो संघर्षलाई अहिलेसम्म निरन्तरता दिएकी छन् । वडाध्यक्ष बन्नुअघि जिल्लामा महिला अधिकारकर्मीको रुपमा चिनिएकी उनी भन्छिन्, ‘जनप्रतिनिधि भएपछि महिलालाई न्याय दिलाउन अझ जिम्मेवारी बढेको महसुस भएको छ ।’

गाई पालन गर्दैछु, कुनै लोभ छैन

श्रीमानले छाडेपनि आफूसहित छोरालाई पाल्न गर्नु परेको संघर्षको कथा लामै छ । ‘धन्य एसएलसी पास थिएँ र गाउँमा प्रौढ कक्षाहरु आउँदा मौका पाएर काम गरी केहि रकम पाएँ’ पुराना दिन सम्झिदै भनिन्, ‘कृषि कर्मलाई पनि निरन्तरता दिएँ ।’ अहिले उनको घरमा तीन वटा जर्सी जातका गाइ छन् ।

एउटा गाईबाट सुरु गरेकी उनले त्यही गाईको दूध बेचेर तीन वटा बनाएकी हुन् । ‘गाईको दूध बेचेरै आफ्नो र परिवारको गुजारा चलिरहेको छ’ भन्छिन्, ‘जनप्रतिनिधि बनेर आएपछि मलाई वडा र गाउँपालिकाबाट कुनै लोभ छैन् ।’

छोरा बुहारी र नातिका साथ घरमा बस्दै आएकी उनाई अहिले परिवारले पनि निकै सघाएको छ ।

वडामा हुने विकासका काममा ध्यान दिन समय पाएकी छन् । ‘जतिको स्टिमेट हुन्छ, यसअनुसार काम गराउन आफैं अग्रसर हुन्छु । कहिल्यै कमिसनको कुरा गरेका छैन’ उनले भनिन्, ‘अरुले पनि मसँग कमिसनको कुरा गर्न सक्दैनन् ।’

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?