Comments Add Comment

दिल्लीले सन्दीपलाई नखेलाउँदा क्रिकेट पण्डितहरु आश्चर्यमा

१३ चैत, काठमाडौं । आईपीएलको हिजोको म्याचमा दिल्ली क्यापिटल्स साविक विजेता चेन्नई सुपरकिङ्ससँग ६ विकेटले पराजित बन्यो ।

दिल्लीले म्याच हारेपछि यतिबेला ‘टकिङ प्वाइन्ट’ बनेका छन् नेपाली स्पिनर सन्दीप लामिछाने । उनी खेलेर होइन, नखेलाइएर चर्चाको विषय बनेका हुन् ।

दिल्लीले लगातार दोस्रो म्याचमा सन्दीपलाई प्लेइङ ११ मा समावेश गरेन । यसले क्रिकेट एक्सपर्टहरुलाई आश्चर्यमा पारेको छ । यसकारण पनि कि दोस्रो म्याच दिल्लीको होम ग्राउन्डमा भएको थियो, जहाँको पिच स्पिनरका लागि सुहाउँदो थियो । यदि सन्दीपलाई खेलाएको भए म्याचको नतिजा अर्कै आउन सक्ने क्रिकेट विश्लेषकहरुले बताएका छन् ।

पहिलो म्याचमा सन्दीप ४ ओभरसिज प्लेयरको कोटामा अटाएनन् भन्ने हो भने दोस्रोमा अटाउन सक्थे । किनकी दोस्रो म्याचमा दिल्लीले ३ जना मात्रै ओभरसिज प्लेयरलाई खेलाएको थियो । साउथ अफ्रिकाका कोलिन इन्ग्राम विकेट किपरको भूमिकामा थिए भने अलराउन्डरका रुपमा वेस्ट इन्डिजका किमो पाउल र फास्ट बलर कंगिसो रबाडा थिए । चौंथो ओभरसिज प्लेयरको कोटामा भारतीय खेलाडीलाई नै खेलाइयो ।

क्रिकइन्फो डट कमले दुई क्रिकेट विश्लेषक ब्राड होज र दिप दासगुप्तासँग गरेको कुराकानीमा सन्दीपको विशेष चर्चा भएको थिए । होज र दिप दुवैले टिम सेलेक्सनमा दिल्ली चुकेको निश्कर्ष सुनाए ।

होजले भने, ‘सन्दीप किन टिममा परेनन् म आश्चर्यमा छु । यस्तो पिचमा उनी म्याच विनर सावित हुन सक्थे । सन्दीप र अमित मिश्रको जोडीलाई झेल्न चेन्नईका ब्याट्सम्यानलाई सहज हुने थिएन । उनले सेन वाट्सन र महेन्द्र सिंह धोनी जस्ता ब्याट्सम्यानलाई अप्ठेरोमा पार्न सक्थे । सन्दीपलाई नखेलाउनुको कुनै तार्किक कारण देखिएन ।’

होजले सन्दीपसित सबै प्रकारको भेरिएसन रहेको भन्दै उनको बलिङ शैली दिल्लीको पिचका लागि अत्यन्त सुहाउँदो हुन सक्ने बताए ।

यसैगरी दीपले पनि सन्दीपलाई टिममा समावेश नगरेर दिल्लीले गल्ती गरेको बताए । उनले भने, ‘सन्दीप टिममा नहुनुपर्ने कारण थिएन । बल एकदम टर्न हुने पिच थियो । जडेजाले पनि त्यति टर्न गराए भने सन्दीपले पक्कै सक्थे । उनको स्पिड राम्रो छ र त्यसमा उनले टर्न गराउँदा ब्याट्सम्यानका लागि दुस्वप्न हुन सक्थ्यो ।’

अघिल्लो आईपीएलमा अन्तिम तीन म्याच मात्रै खेल्न पाएका सन्दीपले त्यसपछि विभिन्न लिगहरुमा आवद्ध भएर उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । उनले अष्ट्रेलिया, वेस्ट इन्डिज, बंगलादेशदेखि पाकिस्तानसम्म आफ्नो स्पिनको जादु देखाइसकेका छन् ।

के अन्य लिगमा सन्दीपले गरेको प्रदर्शनलाई दिल्लीले वास्ता नगरेको हो भन्ने प्रश्नमा होजले भने, ‘सन्दीपले सबै खाले कन्डिसनमा आफूलाई प्रमाणित गरेका छन् । अघिल्लो आईपीएलमा दिल्लीबाटै पनि उनले राम्रो प्रदर्शन गरेका थिए । त्यसलाई दिल्लीले नजरअन्दाज गर्नु हुँदैनथ्यो ।

दोस्रो म्याचमा नखेलाइएपछि सन्दीपले कहिले मौका पाउलान् भन्ने अनिश्चय भएको छ । कतिपयले चाहिँ पाकिस्तानी लिग खेलेका कारण असन्तुष्ट भएर दिल्लीले सन्दीपलाई बाहिर राखेको टिप्पणीसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment