+
+
Shares

एक साताभित्रै खुल्ने भयो मलेसियाको रोजगारी

कलिङ भिसा आएकाहरु तत्कालै जान पाउने

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७५ चैत १२ गते २०:२०

१२ चैत, काठमाडौं । सरकारले झण्डै १० महिनापछि मलेसियामा कामदार पठाउन सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार एक साताभित्रै कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी थालिएको छ ।

‘मलेसियासँग भएको श्रम समझदारीको मर्म अनुरुप हामीले कलिङ भिसा आएकालाई जान दिन सुरु गदैछौं’ मन्त्रालयका एक अधिकारीले भने,’अब कलिङ भिसा प्राप्त भएकाहरुलाई रोक्दैनौं ।’

गत जेठबाट नै सरकारले मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लगाएर ठगी गरिएको भन्दै गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । विभिन्न विचौलिया संयन्त्रमार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले ठगी गर्नेमाथि कारवाही चलाएका थिए ।

ती संयन्त्रमाथि गृह मन्त्रालयमार्फत अनुसन्धान गरेर हाल अदालतमा ठगीको मुद्दा विचाराधीन अवस्थामा छ । यही बीचमा कामदारले मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिनुनपर्ने र लागेको सबै शुल्क रोजगारदाताले बेहोर्ने गरी दुई देशबीच श्रम समझदारी भएको थियो ।

समझदारीमा कलिङ भिसा आएकाहरुलाई तत्कालै जान दिने उल्लेख भएपनि पुरानो बिचौलिया -भेन्डर)मार्फत कामदारको भिसा प्रक्रिया अघि बढाउन नसकिने अडान नेपालले लिएको थियो । तर, मलेसियाले पनि तत्कालै भेन्डर नफेर्ने संकेत गरेको थियो ।

यसैका कारण श्रम समझदारीपछि पनि कलिङ भिसा आएकाहरुलाई पनि मलेसियाका लागि श्रम स्वीकति दिइएको थिएन । बीचमा २० जना कलिङ भिसा पाएका कामदार मलेसिया दूतावासको सिफारिसमा उडेका थिए ।

त्यसपछि सरकारले कलिङ भिसा आएका कामदारको विवरण म्यानपावरहरुसँग मागेको थियो । मन्त्रालय स्रोतका व्यवसायीले ७ हजार कलिङ भिसा आएका कामदारको सूची बुझाएका छन्

अब पहिलो चरणमा ती कलिङ भिसा आएका कामदारलाई पठाएर मलेसियामा खोल्ने तयारीमा सरकार जुटेको हो । अब संस्थागततर्फबाट भिसा आइसकेकाहरु पनि मलेसिया उड्न पाउनेछन् ।

नयाँ कामदारलाई कहिले ? 

सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ । ‘मलेसियन सरकाकरो केही महत्वपूर्ण निर्णयको प्रतिक्षामा हामी छौं,’ मन्त्रालय स्रोत भन्छ ।

मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले अब केही दिनमै कामदारको स्वास्थ्य जाँचमा योग्य अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गर्ने तयारी गरेको छ ।

यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वासथ्य परीक्ष्ण गर्न सक्ने गरी तोकेको थियो । अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन् । यसबाट स्वासथ्य परीक्षणमा विगतमा रहेको सिन्डिकेट पनि सकिने दावी श्रम मन्त्रालयको छ ।

मलेसियाले निकट भविष्यमा नै कामदार आपूर्तिको विधि र प्रक्रियाबारे नयाँ नीति लिन लागेकाले श्रम समझदारीको मर्ममै रहेर नयाँ कामदार जान पाउने मन्त्रालय स्रोत दावी गर्छ ।

श्रमिकका लागि विभिन्न नयाँ नीति ल्याएर चर्चा पाएका श्रम मन्त्री बिष्ट मलेसिया बन्द हुँदा भने राजनीतिक स्तरबाटै बढी आलोचित भएका थिए । उनले कामदारको हितका लागि भन्दै कारवाही गरेका भेन्डरलाई हटाउने विषयलाई आफ्नो प्रतिष्ठा बनाउँदा समस्या भएको आरोप राजनीतिक वृत्तबाटै लागेको थियो ।

तर, अब मलेसियाको अन्योल लामो समय नरहने र श्रम समझदारी अनुरुप नै मलेसियाको रोजगारी खुल्ने दावी मन्त्रालयको छ ।

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?