+
+

राष्ट्रपति रामवरणको एउटै इच्छा : संविधानमा सही गर्न पाऊँ

अनलाइनखबर अनलाइनखबर
२०७० माघ १३ गते १९:१३

rambaran-yadav

१३ माघ, काठमाडौं । मुलुकको पहिलो राष्ट्रपति भएकाले नयाँ संविधानमा हस्ताक्षर गरेर मात्रै शीतलनिवास छाड्न मन लागेको राष्ट्रपति डा. रामवरण यादवले आफ्ना शुभेच्छकलाई बताएका छन् ।

‘रामवरण नेपालका पहिलो राष्ट्रपति हुन्, उनले संविधानमा आफैंले हस्ताक्षर गर्ने उनमा तीव्र आकांक्षा देखिएको छ,’ बेलाबखत शीतलनिवास पुगेर राष्ट्रपतिलाई कानूनी सल्लाह दिँदै आएका एकजना एमाले समर्थित संविधानविदले अनलाइनखबरसँग भने, ‘मेरो विचारमा राष्ट्रपति यादवको यो आकांक्षा जायज छ, एक वर्षसम्म उनैलाई राष्ट्रपतिमा कायम राखेर संविधान जारी गर्नु सबैभन्दा न्यायसंगत हुने देखिन्छ ।’

मुलुकको पहिलो राष्ट्रपतिले संविधानमा हस्ताक्षर गरेर इतिहास रच्न खोज्नु स्वाभाविक भएको ती कानूनविदको तर्क छ । उनी भन्छन्-‘पहिलो राष्ट्रपति भएर पनि संविधान जारी नगरी विदा हुनुपर्दा उनलाई खल्लो लाग्नु स्वाभाविकै हो ।’

तर, राष्ट्रपति पदमा निरन्तरताका लागि लविङ नगर्न आफूले राष्ट्रपति यादवलाई सुझाव दिएको ती वकिलले बताए । ‘तपाई आफ्नो बारेमा लविङचाहिँ पटक्कै नगार्नोस् है, यसले राम्रो सन्देश जाँदैन ।’ उनले राष्ट्रपतिलाई दिएको सुझाव उधृत गर्दै अनाइनखबरसँग भने ।

विवादमा मुछिँदै राष्ट्रपति

दोस्रो संविधानसभाको चुनावपछि राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिने कि फेर्ने भन्नेमा दलहरुवीच विवाद छ । नेपाली कांग्रेस राष्ट्रपतिलाई निरन्तरता दिनुपर्ने अडानमा छ भने दोस्रो ठूलो दल एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

एकीकृत नेकपा माओवादी भने राष्ट्रपति फेर्नुपर्ने पक्षमा रहे पनि आफ्नो भागमा सो पद नआउने अवस्थामा उसले यो विषयलाई खासै जोड नदिने बताएको छ । अन्य साना दलहरुले भने शीतलनिवासमा बोलावट भएकै बेला रामवरणको निरन्तरतामा मत जाहेर गरिसकेका छन् ।

संविधानसभाको चुनाव सकिनासाथ राष्ट्रपति यादवले विभिन्न दलका नेतालाई शीतलनिवासमा बोलाएर संविधानसभाको पहिलो बैठक आफूले आह्वान गर्न पाउने गरी संविधान संशोधन गरिदिन आग्रह गरेका थिए । तर, मन्त्रिपरिषद अध्यक्ष रेग्मी आफैंले संविधानसभाको पहिलो बैठक आह्वान गरेका थिए । त्यसपछि एकहदसम्म पछि हटेका राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेर आफ्नो संवैधानिक महत्तालाई फेरि एकपटक सक्रिय बनाएका छन् ।

संविधानसभाको पहिलो बैठक र व्यवस्थापिका संसदको अधिवेशन आह्वान भैसकेको अवस्थामा राष्ट्रपतिले गरेको सरकार गठनको आह्वानपछि राजनीतिक दलहरु यतिबेला सरकार गठनको प्रक्रियामा लागेका छन् । यद्यपि सरकार गठनको सिलसिलामा समेत मुख्य दल कांग्रेस र एमालेवीच ‘पावर सेयरिङ’को विषय उठ्दा राष्ट्रपतिका विषयमा पनि विवाद बल्भिmन सक्ने सम्भावना भने अझै टरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?