Comments Add Comment

एमालेका ‘इञ्जिनियर’ भन्छन्- ढुलमुलेको भूमिका निर्णायक !

९ असार, काठमाडौं । नेकपा एमालेका पूर्वस्थायी कमिटी सदस्य एवं वाम विश्लेषक राधाकृष्ण मैनालीले नवौं महाधिवेशनमा प्रतिस्पर्धामा गए एमाले खुइलिने बताएका छन् ।

R-K-Mainali‘प्रतिस्पर्धामा गयो भने एमाले खुइलिन्छ र कांग्रेस अगाडि आउँछ, सहमतिका आधारमा नेतृत्व चयन भयो भने एमालेले अझै २० वर्ष खान सक्छ’ पूर्वमालेका संस्थापकसमेत रहेका मैनालीले अनलाइनखबरसँग भने- ‘उपनिर्वाचनको परिणामले पनि देखाइसकेको छ, भगडा गर्दाखेरि शहरबाट एमाले खुइलिन सुरु गरेको छ ।’

‘घनश्याम, योगेश र शंकरहरु छुटे अंगभंग हुन्छ’

अहिलेकै प्यानल अनुसार महाधिवेशनमा जाने हो भने एमाले अंगभंग बन्ने मैनालीको थप विश्लेषण छ । ‘दुबै प्यानलमा राम्रा मान्छे छन्, शंकर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टहरु एमालेलाई चाहिने मान्छे हुन्, मैनालीले भने-‘उनीहरुमध्ये कोही पनि छुट्यो भने एमाले अपाङ्ग हुन्छ ।’

दुई गुट, चार उपगुट

नेकपा एमालेमा यतिबेला दुईवटा गुट र चारवटा उपगुट रहेको मैनालीले बताए । केपी ओली र माधव नेपालका दुई गुटहरु रहेको तर, झलनाथको गुट उपगुटमा परिणत भएको उनको विश्लेषण छ । मैनालीले अनलाइनखबरसँग भने- ‘आठौं महाधिवशेनमा माधव नेपालको उपगुट मात्रै थियो, अहिले गुट बनेको छ, खनालको गुटचाँहि उपगुटमा परिणत भएको छ ।’

एमालेभित्र झलनाथ, वामदेव गौतम, ईश्वर पोखरेल र घनश्याम भुसालका चारवटा उपगुटहरु रहेको उनले बताए । भुसालको उपगुटलाई याुवाहरुको उपगुट भन्दा हुने उनको तर्क छ ।

ढुलमुलेहरुको भूमिका महत्वपूर्ण

एमालेको नवौं महाधिवशेनमा ढुलमुले प्रतिनिधि कति आउँछन्, नेतृत्व निर्माण त्यसैमा निर्भर रहने मैनालीको तर्क छ । ‘ढुलमुले मत २५ प्रतिशतभन्दा कम आयो भने माधव र ओलीपछि नहट्लान् तर यस्तो मत २५ प्रतिशत भन्दामाथि आयो भने दुबैलाई खतरा महसुस हुनेछ ।’

प्रतिनिधि छनोटका क्रममा ओली र नेपालमध्ये जसको धेर-थोर भए पनि तटस्थ वा ढुलमुले मत २५/३० प्रतिशत आयो भने त्यसले एउटा वा अर्को पक्षको हारजितमा महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

‘ढुलमुले मत २५ प्रतिशत भन्दा माथि देखियो भने माधव नेपाल चुनाव नलड्न सक्छन्, त्यस्तो अवस्थामा ओलीलाई पनि खतरा महसुस हुन सक्छ ।’ मैनालीले भने ।

ढुलमुलेहरु धेरै हुँदा झलनाथलाई फाइदा

पूर्वएमाले नेता मैनालीका अनुसार महाधिवशेन प्रतिनिधिहरुमा ढुलमुलेको संख्या जति धेरै हुन्छ, त्यसको फाइदा झलनाथ खनाललाई पुग्नेछ ।

‘ढुलमुलेहरु १० प्रतिशतमात्रै भए भने कसैलाई असर नगर्ला, तर त्यस्ता ढुलमुले प्रतिनिधिहरु २५ प्रतिशत भन्दा माथि देखिए भने झलनाथले भन्दै आएको सर्वसम्मतिमा नेतृत्व छान्नुपर्छ भन्ने विचार बलियो बन्नेछ,’ मैनाली भन्छन्- ‘त्यो अवस्थामा माधव नेपाल वा केपी ओली दुबैले असुरक्षित महसुस गर्नेछन् ।’

मैनाली भन्छन्- ‘त्यो अवस्थामा झलनाथ खनाल झनै चूप लाग्ने सम्भावना छ, किनभने उनलाई त्यस्तो बेलामा मै हुन्छु भनेर बोल्नु भन्दा नबोल्दा बढी फाइदा हुन्छ ।’

माधव नेपाल र केपी ओली दुबैले आफ्नो जित सुनिश्चित नहुँदा प्रतिस्पर्धाबाट बाहिरिने सम्भावना रहेको र प्रतिस्पर्धा नगरी सहमतिमा जाँदा नै एमालेलाई फाइदा हुने मैनालीको दाबी छ ।

महाधिवेशन प्रतिनिधिमा चुनिएकामध्ये ढुलमुलेहरु कति छन् भन्ने आफूले यकिन गर्न नसक्ने मैनालीले बताए । तर, ओली र नेपाल दुशैले आफ्ना भनेका कतिपय मानिसहरु तटस्थ र ढुलमुले रहेको हुनसक्ने उनले बताए ।

गोकर्णलाई अध्यक्ष बनाए पनि हुन्छ

सहमतिमा जाँदा अध्यक्षचाँहि कसलाई बनाउने त ? ओली, नेपाल या खनाल ? अनलाइनखबरको प्रश्नमा मैनालीले भने- ‘ पार्टी सामुहिकताका आधारमा चल्ने भएकाले जसलाई अध्यक्ष बनाए पनि हुन्छ, सबैभन्दा जुनियर गोकर्ण विष्टलाई बनाए पनि पार्टी राम्ररी चल्छ, तर प्रतिस्पर्धामा गइयो र छुटाउनै नहुने मान्छेलाई छुटाइयो भने एमाले खुइलिन्छ ।’

ओली र माधव गुटवीच प्यानलमा प्रतिस्पर्धा भएको अवस्थामा राम्रा मान्छेहरु नेतृत्वमा छुट्ने भन्दै मैनालीले सहमतिका आधारमा नेतृत्व चयन गर्नु एमालेका लागि फाइदाजनक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment