Comments Add Comment

विदेशी लगानीको ७८ प्रतिशत भारत र चीनबाट

FDI

१७ असार, काठमाडौं । नेपालमा सबैभन्दा बढी विदेशी लगानी भित्राउने देशहरुमा चीन, भारत र कोरिया रहेका छन् । नेपाल भित्रिने कुल वैदेशिक लगानीको अधिकांश हिस्सा चीन र भारतबाट रहेको हुन्छ ।

चालु आर्थिक वर्षको दश महिनामा आएको कुल विदेशी लगानी प्रतिवद्धतामध्ये ७८ प्रतिशत चीन र भारतबाट रहेको छ । यस अवधिमा १८ अर्ब ५९ करोड ९७ लाख रुपैयाँ कुल विदेशी लगानीको प्रस्ताव आएकोमा चीनबाट ७ अर्ब ६५ करोड रुपैयाँ र भारतबाट ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

चीनबाट ६ अर्ब ६० करोड र स्वसासित क्षेत्र हङकङबाट १ अर्ब ५ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । चिनिया लगानीकर्ताहरु पछिल्ला वर्षहरुमा नेपालको उर्जा र सेवा क्षेत्रमा लगानीका लागि आकषिर्त देखिएका छन् । चीनबाट दश महिनामा ४ अर्ब २३ करोड ६० लाख रुपैयाँ उर्जा क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ ।

छिमेकी मुलुक भारतबाट आएको लगानी प्रतिवद्धता पनि उर्जा क्षेत्रमा बढी देखिन्छ । उद्योग विभागका अनुसार दश महिनामा भारतबाट उर्जा क्षेत्रमा ५ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । त्यसपछि निर्माण क्षेत्रमा भारतीय लगानीको आकर्षण देखिएको छ । पर्यटन, सेवा र खनिजजन्य क्षेत्रमा पनि भारतीय लगानीको प्रतिवद्धता आएको छ ।
नेपालमा लगानी भित्राउने तेस्रो ठूलो मुलक दक्षिण कोरियाबाट १ अर्ब ९२ करोड ६० लाख रुपैयाँ लगानीको प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ । त्यहाँबाट सेवा क्षेत्रमा सबैभन्दा बढी १ अर्ब ७६ करोड ९२ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ ।

दश महिनामा विभिन्न ४५ देशबाट २ सय २७ परियोजनामार्फत लगानीको प्रतिवद्धता आएको हो । यी परियोजनामा ९ हजार २ सय ७६ जनालाई रोजगारीको अवसर प्रदान गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment