+
+

लालबाबुको पीआरविरोधी अभियान काम लागेन

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते २०:३२

३१ असार, काठमाडौं । नेकपा एमालेको १४ सदस्यीय पदाधिकारीमा मधेसी नेताहरु बढारिएका छन् । दुबै प्यानलबाट उपाध्यक्षमा दुई र सचिवमा एक मधेसी उम्मेदवार बनाइएकामा सबैले पराजय व्यहोरेका छन् ।

Lal-babu-panditउपाध्यक्षमा नेपाल प्यानलका उम्मेदार बनाइएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पराजित भए भने ओली पक्षका धर्मनाथ साहले पनि जितेनन् । त्यस्तै सचिवमा ओली प्यानलका उम्मेदवार रघुवीर महासेठ सबैभन्दा कम मत ल्याएर पराजित भए ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डीभी, पीआर र ग्रीनकार्ड विरोधी अभियान चलाएर लोकपि्रयता हासिल गरेको माधव नेपाल पक्षको दाबी थियो । तर, उर्जामन्त्री हुँदा गोकर्ण विष्टले कमाएजस्तो लोकपि्रयता उनले बमाउन सकेको देखिएन । एमालेमा मधेसी समुदायप्रति सकारात्मक दृष्टिकोण प्रवाह हुन सकेको भए पण्डितले जित्ने अनुमान केहीले लगाएका छन् ।

एमालेले पदाधिकारीलाई समावेशी बनाउने भनेर संख्या बढाइए पनि आरक्षण कोटा नराखेकाले मधेसीको पराजय भएको हो । एमालेले केन्द्रीय सदस्यमा भने मधेशी कोटामा १० केन्द्रीय सदस्यलाई आरक्षण गरेको छ ।

त्यसो त एमालेभित्र मधेसीप्रतिको जनमत राम्रो छैन भन्ने प्रमाण पनि पदाधिकारीको परिणामले दिएको छ । मधेसविरोधी भनिएका भीम रावललाई एमाले कार्यकर्ताले अत्यधीक मत ल्याएर जिताएका छन् ।

पदाधिकारीलाई समावेशी बनाउने भन्दै उम्मेदवारीमा दुवै पक्षले महिला, जनजाति र मधेसीलाई समेत स्थान दिएका थिए । मधेसी समुदायका लालबाबु पण्डितले उपाध्यक्षमा ९९८ मत पाए भने धर्मनाथले ९२३ मतमात्रै पाए । रघुवीर भने ९२८ मत पाए । महासेठ आठौं महाधिवेशनमा पनि सचिवमा पराजित भएका थिए ।

हालसालै पेरिसडाँडामा भएको एमाओवादीको स्थायी समितिको चुनावमा पनि एमालेमाजस्तै गरी मधेसी नेताहरु बढारिएका थिए । रामचन्द्र झा, विश्वनाथ साह एमाओवादीको स्थायी समितिको चुनाव हारेका थिए ।

महिला र जनजाति दुई-दुई

एमालेको १४ सदस्यीय पदाधिकारी टोलीमा दुई महिला र दुई जनजाति विजयी भएका छन् । जनजाति समुदायबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा जनजाति आन्दोलनका अगुवा पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । महिलामा दुई उपाध्यक्ष विद्या भण्डारी र अष्टलक्ष्मीले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?