Comments Add Comment

बाबुराम पक्षमाथि कारवाहीको घोषणा, गंगानारायण र रामरिझन निलम्बित

Baburam

१९ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीले डा. बाबुराम भट्टराई पक्षका नेताहरुलाई कारवाही गरेको छ ।

आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला माओवादी संस्थापन पक्षले भट्टराईलाई सचेतना कारबाही गरिएको छ भने सचिव टोपबहादुर रायमाझी र नेता देवेन्द्र पौडेलको स्थायी समिति सदस्य पद खारेज भएको घोषणा गरिएको छ । स्थायी समिति सदस्य नरहेपछि रायमाझी स्वतः सचिव पदबाट पनि हट्नेछन् ।

प्रचण्ड निवास लाजिम्पाटमा सोमबार साँझ बसेको माओवादी स्थायी समितिको बैठकले आठबुँदे आचारसंहिता उल्लंघन गरेको र धनुषामा समानान्तर कमिटी बनाएको भन्दै पोलिटब्यूरो सदस्य गंगानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई निलम्बन गरेको छ ।

साथै यसअघिका बैठकमा अनुपस्थित भएको भन्दै बैठकले भट्टराईलाई स्थायी समिति बैठकमा आउने कि नआउने भनी अन्तिम पटक सोधिनेछ । त्यसपछि निर्णय गर्न भदौ १० गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

विना सूचना तीन पटकसम्म बैठकमा अनुपस्थित भए स्वतः पदमुक्त हुने विधानको व्यवस्था रहेको स्थायी समिति सदस्य गोपाल किरातीले अनलाइनखबरलाई बताए ।

बिराटनगर सम्मेलनबाट सुरु भएको विवादपछि भट्टराई पक्षले केन्द्रीय समितिमा मात्र बसेका छन् । पदाधिकारीसहित स्थायी र पोलिटब्यूरो गठनका लागि भएको चुनावमा उम्मेदवारी नदिए पनि भट्टराई पक्षलाई जिताइएको थियो । सचिवमा भट्टराई पक्षका रायमाझी र स्थायी समितिमा भट्टराई र रायमाझीसँगै देवेन्द्र पौडेललाई जिताइएको थियो ।

गंगानारायण र रामरिझन निलम्बनमा

स्थायी समितिको बैठकले आठबुँदे आचारसंहिता उल्लंघन गरेको र धनुषामा समानान्तर कमिटी बनाएको भन्दै माओवादीले पोलिटब्यूरो सदस्य गंगानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

श्रेष्ठले जेठको केन्द्रीय समिति बैठकपछि समानान्तर कार्यविभाजन गरेको र प्रमुख अतिथि बनेर धनुषा जिल्लामा भेला गराई समानान्तर समिति बनाएको आरोप छ । उनलाई तीन महिनासम्म पोलिटब्यूरो र केन्द्रीय समिति सदस्य नरहने गरी निलम्बन गरिएको किरातीले बताए ।

धनुषामा समानान्तर कमिटी गठनमा विशेष अतिथि बनेका रामरिझनलाई एक महिनाका लागि केन्द्रीय सदस्य नरहने गरी निलम्बिन गरिएको छ । ‘पार्टी एकता र रुपान्तरणका निम्ति गम्भीर हुँदै यो निर्णय लिइएको हो’ उनले भने ।

स्थायी समितिको बैठकपछि महासचिव कृष्णबहादुर महराले श्रेष्ठ र यादवलाई टेलिफोन गरेर निलम्बित गरेको जानकारी गराएका छन् ।

कारवाही तत्काल फिर्ता हुनुपर्छ : पौडेल

यसैवीच डा. भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले अनलाइनखबरसँग कुरा गर्दै कारवाही तत्काल फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीको यस्तो निर्णयले पार्टी विभाजनतिर लान सक्ने पौडेलले बताएका छन् ।

‘विवाद समाधान समिति बनेको छ, बहस चलाउन राजनीतिक व्यवस्थापन समिति बनेको छ, यस्तोबेलामा कारवाही गरेर हल हुँदैन यो गलत प्रकारको काम भयो,’ पौडेलले अनलाइनखबरसँग भने- ‘समानान्तर कमिटी बनाएको जिल्लामा दुबै कमिटी भंग गरेर नयाँ बनाई समस्या सुल्झाउनेतिर लागेको भए हुन्थ्यो, यस्तो तरिकाले पार्टी मिल्नेतिर भन्दा पनि विभाजनतिर जाने खतरा बढेको छ ।’

कारवाहीमा परेका गंगानारायण श्रेष्ठले पार्टीलाई नयाँ बनाउने भनेका बेला यसलाई कारवाही विषय बनाउन नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment