+
+

प्रधानमन्त्रीका कोइराला र एमाले नेता खनालका स्वकीय सचिव बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते ९:२३

laxman

२१ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एमाले बरिष्ठ नेता झलनाथ खनालले आफ्ना स्वकीय सचिवलाई बर्खास्त गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले लामो समयदेखि स्वकीय सचिव रहेका लक्ष्मण ढकाललाई मंगलबार बर्खास्त गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले विज्ञप्ति जारी गरी ढकाललाई ‘अवकाश’ दिइएको जनाएको छ ।
‘सम्माननीय प्रधानमन्त्रीको स्वकीय सचिवालयका सचिव श्री लक्ष्मण ढकाललाई आजका मितिदेखि लागू हुने गरी अवकाश दिइएको छ ।’ सचिवालयले जारी गरेको एक लाइनको बिज्ञप्तिमा भनिएको छ ।
लामो समयदेखि कोइरालाको सहयोगीका रुपमा काम गर्दै आएका ढकाल र कोइराला परिवारका सदस्यवीच सम्बन्ध बिग्रिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको बुझिएको छ ।
प्रधानमन्त्रीसँग भेटन कोइराला परिवारकै सदस्यलाई पहुँच नदिने, बिभिन्न नाजायज काम गराउने तथा जनसम्पर्कबाट टाढा राख्ने गरेको लक्ष्मणमाथि आरोप लाग्दै आएको थियो । लामो समयदेखिका सहयोगी भएका कारण कोइरालाले कांग्रेस नेताहरुको गुनासोलाईसमेत वास्ता गरेका थिएनन् ।
ढकाल मोरङको लेटाङका स्थानीय बासिन्दा हुन् । ढकाललाई बर्खास्त गरेपछि प्रधानमन्त्री कोइरालाले रमेश शर्मालाई स्वकीय सचिवको जिम्मेवारी दिएका छन् ।


Jhalanath-khanal-Press-release1-650x519

झलनाथले पनि स्वकीय सचिव हटाए
यसैवीच एमाले बरिष्ठ नेता झलनाथ खनालले पनि स्वकीय सचिव रामबाबु अधिकारीलाई बर्खास्त गरेका छन् ।
खनालले मंगलबार एक बिज्ञप्ति जारी गर्दै भनेका छन-‘महाधिवेशनपछिको नयाँ परिस्थीतिमा लामो समयदेखि मेरो पी.ए. का रुपमा कार्यरत श्री रामबाबु अधिकारीलाई उहाँको सेवाबापत धन्यवाद दिँदै कामबाट अबकाश दिएको छु ।’
खनालले रामबाबुको सट्टा इलामकै कृष्ण भट्टराईलाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?