+
+

विजय सुब्बाले भने- काज सकेर एमालेमा फर्किएँ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २९ गते २१:३३

Bijaya-shuba-UMLPrabesh

२९ साउन, काठमाडौं । संघीय समाजवादीबाट नेकपा एमाले फर्किएका विजय सुब्बाले आफू अशोक राईसँग काजमा गएको भन्दै पुरानै घर फर्किएको बताएका छन् ।

बिहीबार एमाले मुख्यालय बल्खुमा अध्यक्ष केपी ओलीको हातबाट अविर र खादा लगाएर एमाले प्रवेश गरेपछि नेता सुब्बाले भने-‘रमाइलो लाग्दैछ । आज १९ महिना भयो । काज फिर्ता भएको छु । नयाँ पार्टी बनाएर चलाउने रहर पनि पुरा भयो ।’

माले छाडेर एमाले फर्किँदा बामदेव गौतमले राष्ट्रिय सभामा अब कुटे पनि कुट्नुस् भनेको प्रसंग स्मरण गर्दै उनले भने-‘म त्यस्तै क्षणमा छु । तपाईहरुको माया पाउने आशा छ ।’

बाठो हुँदा घाटा लागेको भन्दै उनले भने-समावेशीलाई स्वीकार गरेको भए हामीहरु छाडेर जाने नै थिएनौं । त्यसबेला हामीलाई गाली गरियो । हामीले पनि उफ्री उफ्री गाली गर्‍यौं । अहिले मोहीयानी हक स्थापित गरियोस् ।’

सुब्बाले १९ महिनासम्म संघीय समाजवादीमा बस्दा एक दिन पनि रमाउन नसकेकेा बताए । संघीय समावादीमा धेरै निराश रहेको भन्दै उनले आफूलाई एमालेले गर्ने व्यवहारलाई उनीहरुले हेरेर बसेको बताए ।

मोहियानी हैन, पूरै हक लाग्छ : केपी ओली

सुब्बालाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्किएकाहरुलाई कुनै पनि विभेद नहुने बताए । बाटो विराएकाहरु फर्किको भन्दै ओलीले भने-मोहीयानीको हक मात्रै होइन, स्वामित्वकै हक लाग्छ ।’

अध्यक्ष ओलीले पार्टी छोडेर गएका अरुलाई पनि पुरानै घरमा फर्किन समेत आग्रह गरेका छन् । एमाले कुनै एउटा सेक्टर वा जातिको पार्टी नभइ राष्ट्रिय पार्टी भएको भन्दै उनले बहुपहिचानमा जोड दिए । उनले भने-लोकतन्त्र भनेको समानता हो । साम्प्रदायिकता होइन ।’

यो त कास्टिङ मात्रैः गुरुङ

कार्यक्रम संचालक समेत रहेका सचिव पृथ्वी सुब्बा गुरुङले एक पहिचानका आधारमा प्रदेशको नामांकन र संविधानसभा पुनस्र्थापनाबाहेक सबै मुद्धा सम्बोधन गर्दा पनि केही नेताहरुले बाटो विराएर गएको बताए ।

कमजोरी भयो भन्ने महसुस गरेर सुब्बासहितका नेताहरु फर्किएको भन्दै उनले भनेे-यो त काष्टिङ मात्र हो । रियल पिक्चर त बाँकी नै छ ।’

को को फर्किए ?

कार्यक्रममा संघीय समाजवादीका तत्कालीन उपाध्क्ष सुब्बा, सचिव मीना गुरुङ, केन्दि्रय सदस्य चन्द्रलाल क्याप्छाकी, नवपरासीका पूर्व सांसद मजीलाल थारु, ललितपुर अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ३५ जना एमालेमा प्रवेश गरेका छन् ।

अर्का उपाध्यक्ष मोहम्मद रिजवान अन्सारी पनि संघीय समाजवादी छाड्ने मनस्थितिमा छन् । यसअघिनै उपाध्यक्ष गोपाल ठाकुर, योगिलाल यादव लगायतले संघीय समाजवादी त्यागे पनि कुनै पार्टीमा प्रवेश गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?