Comments Add Comment

वैदेशिक व्यापार : निर्यात ९० अर्ब, आयात ७०८ अर्ब

८ भदौ, काठमाडौं । निर्यातको तुलनामा आयात उच्च दरले वृद्धि भएपछि गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा २८.९ प्रतिशतले बढी ६ खर्ब १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा नेपालबाट ९० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने विभिन्न मुलुकबाट ७ खर्ब ८ अर्ब ७६ करोड export-import-logoरुपैयाँ बराबरको वस्तु आयात भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १७.४ प्रतिशत र २७.३ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष ७६ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो भने ५ खर्ब ५६ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात १६.५ प्रतिशतले बढेको छ । अन्य मुलुकतर्फको निर्यात अघिल्लो १९.१ प्रतिशतले बढेको छ । भारत तथा अन्य मुलुकतर्फको निर्यातमा सुधार आएपछि गत वर्ष कुल निर्यात १४ अर्ब रुपैयाँले बढ्न गएको हो ।

यस अवधिमा भारततर्फ जिङ्क शिट, गिट्टी तथा बालुवा, जुस र अलैंची लगायतका वस्तुहरुको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ ऊनी गलैंचा, तयारी पोशाक, जडीवुटी र पश्मिनाको निर्यातमा वृद्धि भएको छ ।

भारत तथा अन्य मुलुक दुबैतर्फको आयात उच्च दरले बढ्न जाँदा कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा उच्च रहन गएको राष्ट्र बैंकले जनाएको छ । कुल वस्तु आयातमध्ये भारततर्फको आयात २८.८ प्रतिशत र अन्य मुलुकतर्फको आयात २४.४ प्रतिशतले बढेको छ ।

भारतबाट मुख्यतयाः पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपूर्जा, हट रोल्ड शिट इन क्वायल र धागो लगायतका वस्तुहरुको आयात बढेको छ भने अन्य मुलुकबाट सुपारी, कच्चा सोयाविन तेल, चाँदी र पोलिथिन ग्रान्युयल्स लगायतका वस्तुहरुको आयातमा वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment