+
+

सर्प नेपालभरि छन्, दबाइ भारतबाट ल्याउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ९ गते १९:२३

कमल मादेन

बिराटनगरका प्रेम बिष्ट सर्प समाउन नाम चलेका व्यक्ति हुन् । उनी ‘इकोलोजिकल कन्जरभेसन नेपाल’ नामक संस्थाका अध्यक्ष पनि हुन् । सर्प जतिसुकै विषालु किन नहोस्, उनले नाङ्गो हातले बिना औजार सजिलै समात्छन् । त्यो उनको कला हो । उनले बिराटनगर आसपासका क्षेत्रमा सयौं विषालु सर्प समाएका छन् ।Prem-Bist-with-Goman

कसैको घरमा सर्प पसेको देखियो भने बिष्टले तुरुन्त खबर पाउँछन् । उनी हतार-हतार सर्प समाउन जान्छन् । उनले घरका मानिसलाई भयमुक्त मात्र गर्दैनन्, घरमा पसेको सर्पलाई समेत उद्धार गर्छन् ।

बिष्टले सर्पलाई पहिले कतै टाढा लगेर छाड्थे । तर, हिजोआज घरमै पाल्न थालेका छन् । बिष्टको यो कामबाट बिराटनगरबासीले ठूलो गुण मानेका छन् ।

गोमनले टोक्दा झण्डै प्राणान्त

 प्रेम बिष्ट गत साउनमा सिन्धुली पुगेका थिए । एक सर्पदंश उपचार केन्द्रको अनुरोधमा उनले सिन्धुलीमा केही विषालु सर्पहरु समाए । बिष्ट श्रावण १५ गते एउटा गोमन सर्प आफ्नो झोलामा हालेर मोरङ फर्किए ।

बिष्ट मोटरसाइकल पछाडि थिए । साथमा झोलाभित्र गोमन सर्प थियो । बाटामा खाल्डाखुल्डी प्रशस्तै थिए । उनी चढेको मोटरसाइकल खाल्डोमा उफ्रियो । त्यसक्रममा बिष्टले पाखुरामा चिसिक्क गरेको अनुभव गरे । खाल्डोमा परेर मोटरसाइकल उफ्रँदा गोमनलेे बिष्टलाई झोला भित्रैबाट डस्न भ्याएछ ।

सिन्धुलीकै एक सर्पदंश उपचार केन्द्रमा बिष्टलाई १४ स्नेक एन्टिभेनम् भाइल दिइयो । त्यतिबेलासम्म बिष्टको स्थिति ठीकै थियो । उपचार केन्द्रका कर्मचारीले उपचारका क्रममा भेन्टिलेटर आवश्यक पर्न सक्छ भनेर बिष्टलाई वीपी अस्पताल धरान लैजान राम्रो हुने बताए । बिष्टलाई तुरुन्तै धरान लगियो ।

अस्पताल पुुर्‍याउँदा बिष्टको मुखबाट र्‍याल आइरहेको थियो । आँखा उघार्न सकिरहेका थिएनन् । हात खुट्टा अररा हुँदै गइरहेका थिए । वीपी अस्पतालमा ३६ स्नेक एन्टिभेनम् भाइल थपियो । बिष्टको ज्यान जोगियो ।

स्नेक एन्टिभेनम् भाइल

सर्पदंशको उपचारमा प्रयोग गरिने औषधि नै स्नेक एन्टिभेनम् भाइल हो । त्यो सर्पकै बिषबाट बनाइन्छ । त्यो औषधि बनाउनका लागि सर्पको विष भेडा, घोडा, गधा, खच्चरलगायत जनावरको स्वस्थ शरीरमा लगाइन्छ । शुरुमा थोरै लगाइन्छ । बिषको असरले जनावर बिरामी हुन्छ । मर्दैन ।
त्यही जनावरमा केही महिनाको अन्तरालमा पहिलेभन्दा अलि बढी बिष लगाइन्छ । जनावर फेरि बिरामी हुन्छ । त्यो क्रम केहीपटक गरिन्छ । पछि जनावरलाई सर्पको विषले केही असर नगर्ने हुन्छ ।

सर्पको विष पचाएको जनावरको रगत झिकिन्छ । रगतबाट सेतो पदार्थ अर्थात प्लाज्मा आधुनिक प्रविधिबाट छुट्याइन्छ र त्यसलाई निश्चित तापक्रममा स्टोर गरिन्छ । त्यही हो – स्नेक एन्टिभेनम भाइल ।

गोमन सर्पले टोक्दा लगाइने स्नेक एन्टिभेनम भाइल गोमनकै विषबाट बनाइएको हुन्छ । करेत जातको सर्पले टोक्दा लगाइने स्नेक एन्टिभेनम करेतकै विषबाट बनाइएको हुन्छ । त्यसैगरी १ भन्दा बढी सर्प प्रजातिको विषबाट पनि स्नेक एन्टिभेनम भाइल बनाइन्छ ।

कमल मादेन
कमल मादेन

एकै किसिमको विषबाट बनेको एन्टिभेनमलाई ‘मोनोभलेन्ट’ भनिन्छ । दुई किसिमको विषबाट बनेको एन्टी भेनमलाई ‘डाईभलेन्ट’ र तीन वा तीनभन्दा बढी सर्पका प्रजातिको विषबाट बनेको एन्टी भेनमलाई ‘पोलीभलेन्ट’ भनिन्छ ।

नेपालमा औषधिको अभाव

नेपालमा स्नेक एन्टिभेनम् भाइल बन्दैन । त्यो भारतबाट आयात गरिन्छ । पत्रकार दीपक दाहालले एक दैनिक पत्रिकामा – ‘भारतले बेच्दैन, तेस्रो देशकाले निको हुँदैन’ शीर्षकमा यससम्बन्धी समाचार लेखेका थिए । नेपालमा पाइने बिषालु प्रजातिको सर्पदंशको टोकाइमा भारतीय कम्पनीका स्नेक एन्टिभेनम् भाइलले मात्र काम गर्छ ।

‘भारतले बेच्न नदिएपछि अघिल्लै वर्षदेखि नेपालमा सर्पदंशको भ्याक्सिन अभाव छ । स्नेक एन्टिभेनम् भाइलको बैकल्पिक व्यवस्थापन स्वास्थ्य बिभागमाथि चुनौति बनेको छ’ भनेर दाहालले लेखेका थिए ।

समाचार पुष्टि गर्न ‘गत वर्ष नै खोपको हाहाकार भएपछि केही बिरामीको अस्पताल आइपुगेर पनि उपचार नपाई मृत्यु भएको थियो’ भनेर जानकारी दिएका थिए ।

इपिडिमोयोलोजी तथा रोग नियन्त्रण माहाशाखा प्रमुख डा.बाबुराम मरासिनीले जनाएअनुसार असार महिनामा डब्लु.एच.ओ. ले ४ हजार प्रति स्नेक एन्टिभेनम् भाइल उक्त शाखालाई उपलब्ध गरायो । अन्य ६ हजारप्रति आउने क्रममा छ । स्नेक एन्टिभेनम् भाइलको अहिलेको मूल्य प्रति भाइल भारु ६ सय हो ।

नेपालका ९० प्रजातिका सर्प छन्

एक लेखअनुसार नेपालमा हालसम्म २२ सर्प प्रजाति विषालु पाइएका छन । विषरहित र विषसहितका गरी नेपालमा ९० प्रजातिका सर्पहरु सुचीकृत भएका छन् ।Bis rahit sarpa photo by Kamal Maden

इपिडिमोयोलोजी तथा रोग नियन्त्रण माहाशाखा टेकुका अनुसार मुलुकमा बर्षेनी झण्डै १२ हजार मान्छेलाई सर्पले टोक्छ, जसमध्ये २ हजारजतिलाई विषालु सर्पले टोकेको हुन्छ ।

उक्त शाखाले जनाए अनुसार सर्पदंश भएकामध्ये २ सयजतिको अस्पताल पुग्न नसकेर वा ढीलो पुगेको कारण मृत्युसमेत हुने गरेको छ । झापास्थित दमकको आम्दा अस्पतालमा ०७० साल जेठदेखि पुस महिनाभरि १ हजार २९ जना व्यक्ति सर्पदंश उपचारका निम्ति भर्ना भएका थिए । सबै बिरामी सकुशल घर फर्केको अस्पतालको दाबी छ ।

त्यसैगरी कोशी अञ्चल अस्पताल बिराटनगरमा ०६९ सालमा १ सय २९ जना सर्पदंश उपचारका निम्ति भर्ना भएको तथ्यांक अस्पतालको रजिष्टरमा देखिन्छ । तीमध्ये ५० जनालाई विषालु सर्पले टोकेको उल्लेख छ । उपचारका क्रममा ३ जनाको ज्यान गएको थियो ।

झापादेखि कञ्चनपुरसम्म नेपाली सेनाका सहित करिब ३५ वटा सर्पदंश उपचार केन्द्र छन ।

सर्पले टोकेका लक्षणहरु

गोमनजस्ता विषालु सर्पले टोक्दा केही मिनेटपछि नै विष फैलावको लक्षण देखा पर्छ । बिरामीले आँखा उघार्न सक्दैन । मुख बन्द हुन्छ । बिरामीले मुखबाट जिब्रो बाहिर निकाल्न सक्दैन । पानी निल्न असजिलो हुन्छ । स्वास फेर्न गार्‍हो हुन्छ । हात खुट्टाका मांशपेशी चल्न गार्‍हो हुन्छ । मुखबाट र्‍याल निस्कन्छ । उल्टी आउला जस्तो हुन्छ ।

करेत सर्पले अक्सर राति सुतेका बेला टोक्छ । करेतको विष चाँडै फैलँदैन । बिहान पेट दुख्छ, आँखा उघार्न गार्‍हो हुन्छ । तराईमा करेत सर्पको टोकाइबाट अभिभावकले थाहै नपाई अक्सर केटाकेटीहरु मर्ने गर्छन् ।

सर्पले टोक्नेवित्तिकै मृत्यु हुने भयले बिरामीमा विष फैलिसकेको भ्रम पर्दछ । यसले गर्दा विष नफैलिई नै बिरामी सिथिल हुने गर्छन्, जसले गर्दा विष कति फैलिएको छ भन्ने अनुमान गर्न उपचारकर्तालाई असजिलो हुन्छ ।

भाइपर समुहका सर्पले टोक्दा धेरै रक्तश्राव हुन्छ । विष फैलिएको प्रारम्भिक लक्षणस्वरुव पीडितको गिजाबाट रगत बग्छ । गम्भीर विषक्तताका बेला त जुनसुकै ठाउँबाट रगत बग्न थाल्छ । जस्तो, छालाभित्र, आँखामा, पेटभित्र, टाउकाको भित्रपट्टि अथवा मष्तिष्कमा रक्तश्राव हुन सक्छ ।

गोमन सर्पले डसेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्नु राम्रो हो ।

उपचार पद्दति

सर्पदंशका पीडितमा विषको लक्षण देखिएको छैन भने २४ घण्टा अवलोकन गर्ने गरिन्छ । बिषको लक्षण देखा परेन भने थप केही समय राख्ने अथवा पीडितलाई डिस्चार्ज गर्ने गरिन्छ । विषको लक्षण देखा परेको छ भने स्नेक एन्टिभेनम् भाइल दिन शुरु गरिन्छ । स्नेक एन्टिभेनम् भाइल सर्पको विषका निम्ति एकमात्र औषधि हो ।

गोमन सर्पले डसेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्नु राम्रो हो । त्यस्तो स्नेक एन्टिभेनम नहुँदा ‘पोलीभलेन्ट’ लगाउने गरिन्छ । त्यो लाभदायक भए पनि स्वास्थ्यका लागि हानीकारक हुन सक्छ ।

नेपालमा सबैमा प्रयोग गरिने स्नेक एन्टिभेनम् भाइल ‘पोलीभलेन्ट’ नै हो । त्यो ‘पोलीभलेन्ट’ करेत, कमन कोब्रा र २ भाइपर सर्प प्रजातिको विष समि्रश्रण गरी बनाइएको हुन्छ । त्यो स्नेक एन्टिभेनम् भाइलले उल्लेखित ४ सर्प प्रजातिले टोकेको अवस्थामा उपयोगी सिद्ध हुन्छ । तर, पाँचौं प्रजातिको सर्पले टोकेको हो भने त्यो स्नेक एन्टिभेनम् भाइलले काम नगर्ने संभावना बढी हुन्छ र बिरामीको मृत्यु हुन सक्छ ।

कुनै बिरामी समयमै अस्पताल पुर्‍याई स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्दागर्दै मृत्यु भयो भने त्योे ‘पोलीभलेन्ट’ ले काम नगरेको हो । अर्थात त्यो सर्प प्रजाति अनुसार स्नेक एन्टिभेनम् भाइल प्रयोग नभएर हो ।

ठूला अस्पतालभन्दा सर्पदंश केन्द्र नै ठीक

सर्पदंशका निम्ति ठूला अस्पतालभन्दा सर्पदंश उपचार केन्द्रमै उपचार गर्न ठीक हुन्छ । अस्पतालमा अनावश्यक स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्ने गरेको पाइन्छ ।

कोशी अञ्चल अस्पतालमा एक बिरामीलाई १ सय भाइल चढाएको रेकर्ड छ । वीपी अस्पताल धरानमा समेत सावधानीपूर्वक उपचार गरेको पाइएन । प्रेम बिष्टलाई सिन्धुलीमै १४ भाइल चढाइएको थियो । धरानमा थप २० भाइल जति चढाउँदा बिष्टको अवस्था सुधि्रएकै थियो । तर, लगातार थप ३६ भाइल चढाइयो । त्यसपछि बिरामीे ठीक भएजस्तो देखिएर फेरि लल्याक-लुलुक भए ।

सर्प सम्बन्धी अध्ययन गर्दै आएका स्नातकोत्तर क्याम्पस बिराटनगरका उप- प्राध्यापक कुलप्रसाद लिम्बुले स्नेक एन्टिभेनम् भाइल बढी भयो भन्दा मात्रै डाक्टरले बन्द गरेका थिए ।

यसको असर बिष्टमा देखियो । शरीरका केही भाग सुन्नियो । जसले गर्दा उनले ओछ्यानमा हप्तौं बिताउनुपर्‍यो ।

सर्पले डसेको हात वा खुट्टालाई हलचल हुन दिनुहुँदैन । पीडितलाई ढल्काएर आरामसँग राख्नुपर्छ । काम्रो लगाएर भए पनि डसेको भाग हल्लिन दिनु हुँदैन । डोरीले कहिल्यै बाँध्नु हुँदैन ।

सर्पले टोकेपछि ध्यान दिनुपर्ने कुराहरु

सर्पले टोक्दा पीडितमा अत्यधीक मृत्युको भय फैलिन्छ, जसले गर्दा बिष फैलिएर भन्दा पनि डरकै कारणले पीडितको मृत्यु हुन सक्छ । त्यसैले पीडितलाई नजिक रहेका व्यक्तिले शान्त्वना दिनु पर्छ । केही हुँदैन, विष चाँडै फैलँदैन, फैलिहाले पनि उपचारपछि नियन्त्रण हुन्छ भनेर सम्झाउनुपर्छ ।

जानकारहरुका अनुसार प्राथमिक उपचारका निम्ति सर्वप्रथम सर्पले डसेको हात वा खुट्टालाई हलचल हुन दिनुहुँदैन । पीडितलाई ढल्काएर आरामसँग राख्नुपर्छ । काम्रो लगाएर भए पनि डसेको भाग हल्लिन दिनु हुँदैन । डोरीले कहिल्यै बाँध्नु हुदैन । बाँधिएका कारण नशामा प्रेसर पर्छ र झन चाँडो विष फैलन्छ । अर्कोतिर डोरीले बाँधेपछि हातखुट्टा नै काम नलाग्ने हुनसक्छ ।

त्यसैगरी पीडित आँफै कुदेर अस्पताल वा सर्पदंश उपचार केन्द्रमा जानु हुँदैन । कसैको सहारामा आरामसँग जानुपर्छ ।

सर्पदंशमा पीडितलाई औसत २५ स्नेक एन्टिभेनम् भाइल दिइनुपर्ने हो । बढी प्रयोग गरिनुले औषधिको क्वालिटी शंका गर्ने पर्ने हुन्छ । स्नेक एन्टिभेनम् भाइललाई क्वालिटी परीक्षण गर्न (फर्माको भिजिलियन टेष्ट) आवश्यक छ ।

स्नेक एन्टिभेनम् भाइल बढी प्रयोग भए पीडितमा के कस्तो असर पर्छ भन्ने पनि अनुसन्धान हुनु आवश्यक छ । नेपालमा डाक्टरहरु त्यसप्रति अनभिज्ञ छन् ।

नेपालमा दबाइ उत्पादन गर्न सकिन्छ । सर्पको विष प्रेम बिष्टले पालेका सर्पबाट लिन सकिन्छ । कानुनको आवश्यकता परे सभासदले त्यसप्रति ध्यान दिन जरुरी छ ।

नेपालमै औषधि बनाउन सकिन्छ

नेपालमा स्नेक एन्टिभेनम् भाइल उत्पादन गर्न सकिन्छ । त्यसका निम्ति स्नेक एन्टिभेनम् भाइल कार्यमा संलग्न भई सेवानिवृत्त भएका भारतीय नागरिक वा अन्यबाट त्यो कार्य अघि बढाउन सकिन्छ । घोडा तराई, पहाड, हिमाल जताततै बाँच्न सक्छ ।

सर्पको विष प्रेम बिष्टले पालेका सर्पहरुबाट लिन सकिन्छ । ऐन कानुनको आवश्यकता परे संविधानसभाका युवा सभासदहरुले त्यसप्रति ध्यान दिन जरुरी छ । आज नेपाललाई खाँचो पर्दै आएको स्नेक एन्टिभेनम् भाइल भोलि नेपालले विश्वलाई बेच्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?