+
+
Shares

पलेँटी उत्सवमा दिपक, कुन्ती र आभास

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १० गते १४:३२

Paleti Utsav 2014 artists Singers Dipak Kharel  Kunti Moktan and Aavaas

‘पलेँटी उत्सव’ ले यो वर्ष तेश्रो श्रृंखला मनाउने भएको छ । उत्सवले यसपाला परिचित गायक–गायिका दीपक खरेल, कुन्ती मोक्तान र आभासलाई प्रस्तुत गर्दैछ ।
सत्तरी र असीका दसकमा नेपाली संगीत आकासलाई सुप्रसिद्ध गीतहरु दिएका दीपक खरेल आज पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छन् । उनका ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘प्रतिक्षा गर मेरी मायालु’, ‘तिम्रो हर प्रश्नको जवाफ’ जस्ता दर्जनौं गीतहरु सदाबहार मानिन्छन् र आज पनि नेपाली जनजीब्रोमा झुण्डिएकै छन् । लामो समय श्रोता दर्शकसँगको सम्पर्कबाट पर बसेका खरेलको गत वर्ष मात्रै पलेँटी श्रृंखलामार्फत् पुनरागमन भएको थियो । उनै खरेललाई अझ बढी श्रोता दर्शकसँग प्रत्यक्ष जम्काभेट गराउने उद्देश्यले यसपाला पलेँटी उत्सवको निम्ति पनि चयन गरिएको हो । कार्यक्रममा उनले केहि नयाँ गीतहरु पनि सुनाउने छन् ।
‘हामीले सक्रिय रुपमा गाउँदाको समय र अहिलेमा प्रविधिदेखि प्रस्तुतीसम्म ठूलो अन्तर आइसकेको छ,’ खरेल भन्छन्, ‘पलेँटी उत्सवमार्फत् म श्रोतालाई फेरि पुराना दिनहरु सम्झाउनुका साथै नयाँ पुस्तालाई समेत हाम्रो समयसँग जोड्न इच्छुक छु ।’
असीको दसक अन्त्यतिर दार्जिलिङ छाडेर नेपाल आएकी कुन्ती मोक्तान विशेषगरि शास्त्रीय आधारमा बसेर श्रोताको मन जित्ने भाकाहरु सुनाउने गायिकाका रुपमा परिचित छिन् । उनका ‘माथि माथि सैलुङेमा’, ‘ गोठालो जाँदा’, ‘धरान धनकुटा’, ‘कहिले काँहि मलाई पनि’ र ‘तिम्रो मायाले मलाई डो¥याइ ल्यायो’ जस्ता गीतहरुले सबैखाले श्रोताको मन जितेको छ ।
‘यसअघि पलेँटी श्रृंखलामा प्रस्तुत हुँदा संगीतका गम्भीर श्रोताहरु पाएर प्रभावित भएकी थिएँ,’ मोक्तान भन्छिन्, ‘कार्यक्रममा केहि नयाँ सिर्जना पनि प्रस्तुत गर्ने तयारी गरिरहेकी छु ।’
पलेँटीलाई दस वर्षदेखि सञ्चालन गर्दै आएका संयोजक एवं गायक आभास स्वयं पनि यसपटक प्रस्तुत हुने तयारीमा छन् । प्रगतिशिलकालीन संगीत ‘संकल्प’बाट सुरुभएर पछिल्लो समय कविताहरुमा आधारित सिर्जनालाई बढी जोड दिँदै आएका कवि एवं गायक आभास प्रयोगवादी संगीतकारका रुपमा पनि चिनिन्छन् । ‘मेरा सिर्जना भए पनि यसपाला सबै गीतहरु सामूहिक स्वरमा प्रस्तुत हुनेभएको छ,’ आभास भन्छन्, ‘नेपाली श्रोताका निम्ति क्यान्टेटाको प्रभाव दिने हिसाबले नौला खाले काब्य संगीत तयार पारेको छु ।’
उनका अनुसार करिब एक घन्टाको यो प्रस्तुतीबाहेक वालगीतहरु लाई पनि सामूहिक गायनबाटै प्रस्तुत गरिने भएको छ ।
‘पलेँटी उत्सव’ भदौ २६, २७ र २८ गते अघिल्ला वर्षहरु जस्तै जावलाखेलस्थित डिएभी स्कुलको अडिटोरियममा चल्नेछ ।
यसपालीको पंलेटी उत्सवमा भदौ २६ गते विहिवार (११ सेप्टेम्वर) मा गायक तथा सँगीतकार आभासले आफ्नो सँगीत प्रश्तुत गर्नेछन् भने भदौ २७ गते शुक्रवार (१२ सेप्टेम्वर) मा गायिका कुन्ती मोक्तानको प्रश्तुती रहनेछ । उत्सवको अन्तिम दिन भदौ २८ शनिवार ( १३ सेप्टेम्वर )मा गायक दिपक खरेल प्रश्तुत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?