२२ भदौ, काठमाडौं । नेपाली सडकमा कार, जीप र भ्यानको संख्या डेढ लाख नाघेको छ । यातायात व्यवस्था विभागका अनुसार असार मसान्तसम्म कार, जीप र भ्यानको संख्या एक लाख ५० हजार १०७ पुगेको छ ।
आर्थिक वर्ष २०४६/०४७ मा २१ हजार ३५० रहेका यस्ता सवारी २४ वर्षको अन्तरालमा ७ गुनाले बढेका हुन् । यसबीचमा सबैभन्दा बढी आव ०६६/०६७ मा १२ हजार २६८ थान कार, जीप र भ्यान नेपाल भित्रिएका थिए भने गत आर्थिक वर्षमा ११ हजार ३७२ भित्रिएका छन् ।
अन्य वर्षहरुमा यस्ता सवारीको आयातमा थपघट भइरहेको यातायात विभागको तथ्यांकले देखाउँछ । नेपाल भित्रिने यस्ता गाडीहरुमा सबैभन्दा बढी १५ देखि २५ लाख रेञ्जका रहेका छन् ।
नेपालमा गाडीको मूल्य संसारमै सबैभन्दा उच्च रहेका कारण महंगा गाडीमा पहुँच नपुग्ने भएकोले इन्ट्री लेवलका गाडीमा आकर्षण बढेको अटो व्यवसायी सौरभ ज्योति बताउँछन् ।
आर्थिक वर्ष ०६५/०६६ देखिको आयात अवस्था हेर्ने हो भने सो वर्ष ६ हजार ८ सय ५७ थान, ०६६/०६७ मा १२ हजार २६८ थान, ०६७/०६८ मा ८ हजार ५१० थान, ०६८/०६९ मा ८ हजार ७११ थान, ०६९/०७० मा ९ हजार ५९५ थान र ०७०/०७१ मा ११ हजार ३७२ थान यस्ता सवारी यातायात विभागमा दर्ता भएका छन् ।
नेपालीहरुको आयस्तरमा सुधार हुँदै जान थालेपछि यस्ता गाडीहरुको आयात विस्तारै बढ्न थालेको बताउँछन् सौरभ ज्योति । ‘नेपाली मध्यमवर्गी परिवारको पहिलो रोजाइ मोटरसाइकल रहेका छ भने दोस्रो रोजाइमा इन्ट्री लेवलका कारहरु पर्छन’ उनले भने- ‘सरकारले कर घटाउने हो भने कारको बिक्री बढाउन सकिन्छ ।’
प्रतिक्रिया 4