Comments Add Comment

नेतालाई ‘भ्रष्ट र अनैतिक’ भन्दा माओवादी नेता शर्मालाई घोक्रेठ्याक !

२३ भदौ, काठमाडौं । कम्युनिष्ट पार्टी कतिसम्मको तानाशाही हुन्छ भन्ने उदाहरण नेकपा-माओवादीका महासचिव रामबहादुर थापा (बादल)ले देखाएका छन् ।

आफ्नो पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई बादलले अनिश्चित कालका लागि पार्टीको जिम्मेवारीबाट हटाएका छन् । पार्टीमा लामो योगदान गरेका शर्माको गल्ती एउटै थियो, उनले नाम नतोकी पार्टी नेतृत्वमा ‘भ्रष्ट र अनैतिक’ तत्व रहेको बताएका थिए ।

बादलको वक्तव्य

माओवादी महासचिव रामबहादुर थापा बादलद्वारा सोमबार जारी वक्तव्यमा भनिएको छ,-‘हाम्रो पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’द्वारा विज्ञप्ति प्रकाशित गरी नेतृत्वका विरुद्ध अनर्गल आक्षेप लगाइएको छ । यस प्रकारको मर्यादाविपरीत तथा अनुशासनहीन काम गरेकोमा तत्काल वहाँलाई अनिश्चितकालका लागि सम्बन्धित कामको जिम्मेवारीबाट निलम्बन गरिएको कुरा सार्वजनिक गरिन्छ ।’

Press-Statement-of-badal

शर्मालाई हटाउनुको कारण

केन्द्रीय सदस्य शर्माले भदौ १९ गते एमाओवादीका जिल्ला अध्यक्ष रमेश रेग्मी अमरसँग मिलेर संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए । चितवनको भरतपुरस्थित पार्टी कार्यालय विक्री गर्न लागिएको विरोधमा जारी संयुक्त वक्तव्यमा ‘जनयुद्धको प्रक्रियाबाट आएका केही भ्रष्ट र अनैतिक नेताहरुले’ भन्ने वाक्यांश उल्लेख थियो ।

विज्ञप्तिमा परेको यही वाक्यांशका कारण महासचिव थापाले केन्द्रीय सदस्य शर्मामाथि पार्टीको बैठकसमेत नडाकी र स्पष्टीकरणसम्म नसोधी कारवाही गरेपछि नेकपा- माओवादीको पार्टी पङ्तीमा हल्लीखल्ली मच्चिएको छ ।

विप्लव रिसाए

यसैवीच शर्मालाई महासचिवले कारवाही गरेपछि पार्टी सचिव नेत्रविक्रम चन्द विप्लव महासचिव वादलसँग आक्रोशित भएका छन् ।

हिजो बुलुकासम्म सँगै हुँदा केही नभन्ने, अहिले जे पायो त्यही गर्ने भन्दै विप्लव बादलसँग रुष्ट बनेको माओवादी स्रोतले अनलाइनखबरलाई बतायो । ‘महासचिवले यो गर्नै नहुने काम गर्नुभयो, म यसबारे आजै कुरा गर्छु,’ विप्लवको भनाइ उधृत गर्दै एक माओवादीले नेताले अनलाइनखबरसँग भने ।

कारवाहीमा परेका शर्मा माओवादीभित्र विप्लव खेमाका नेता हुन् । उनी विभिन्न पत्रपत्रिकामा नितयमितजसो स्तम्भ समेत लेख्छन् ।

बादलविरुद्ध हस्ताक्षर अभियान

यसैवीच महासचिव बादलले शर्मामाथि गरेको कारवाहीको विरोधमा हस्ताक्षर अभियान अघि बढाउने नेकपा माओवादी चितवन जिल्ला कमिटीले सोमबारै निर्णय गरेको छ ।

‘शर्मामाथिको कारवाही फिर्ताको माग गर्दै पार्टीभित्र हस्ताक्षर संकलन गर्ने निर्णय भएको छ,’ विप्लवनिकट एक जिल्ला नेताले चितवनबाट टेलिफोनमा अनलाइनखरसँग भने ।’ चितवन पवपार्टी कार्यालय विक्री गर्ने निर्णयको विरोधमा शर्माले निकालेको विज्ञप्ति सही भएको ती नेताले बताए । उनले भने-‘जिल्लाका तमाम कार्यकर्ताहरु पार्टी कार्यालय बेच्नुहुँदैन भन्ने पक्षमा छन् ।’

विवादको चुरो : ७ करोडको पार्टी कार्यालय

माओवादी र एमाओवादीभित्र यतिबेला चितवनमा रहेको पार्टी कार्यालयबारे विवाद चर्कंदै आएको छ । यही विवादको सिलसिला माओवादीभित्र कारवाही र हस्ताक्षर अभियानसम्म पुगेको हो ।

anil-sharma

एमाओवादी र माओवादी नफुट्दै जग्गा खरिद गरेर भरतपुर ७ मा बनाइएको पार्टी कार्यालयमा लगभग ७ करोडको अचल सम्पत्ति रहेको छ । केही साताअघि काठमाडौंबाट चितवन पुगेका एक एमाओवादी नेता जिल्ला कार्यकर्ताले संविधानसभा चुनावमा लागेको ऋण के गरी तिर्ने भनी सोध्दा एमाओवादी नेताले पार्टी कार्यालय बेचेर चुनावको ऋण तिर्ने बताएका थिए ।

चितवन पार्टी कार्यालयको सम्पत्ति ३३ प्रतिशत माओवादीलाई दिने एमाओवादीले बताउँदै आएको छ । माओवादीले भने ५०/५० प्रतिशत भागवण्डा हुनुपर्ने बताउँदै आएका छन् । यो अवस्थामा कार्यालय बेचेर आएको पैसा बाँड्ने एमाओवादी र माओवादी दुबैतर्फका नेतावीच सहमति भएको थियो ।

स्रोतका अनुसार वैद्य माओवादीतर्फबाट सूर्य सुवेदी पथिकले कार्यालय बेच्न एमाओवादी पदाधिकारीसँग छलफल अघि बढाएका थिए । एमाओवादीबाट नारायण दाहाल कार्यालय विक्रीको पक्षमा छन् । तर, एमाओवादी र माओवादी दुबै तर्फका कार्यकर्ताहरु भने कार्यालय विक्रीको विरोधमा उभिएका छन् ।

प्रचण्ड पक्ष भन्छ- बेच्ने कुरै भएको छैन

यसैवीच भट्टराई पक्षमा एमाओवादी जिल्ला अध्यक्ष रमेश रेग्मीले कार्यालय बेच्न नहुने भन्दै शर्मासँग संयुक्त विज्ञप्ति जारी गरे पनि प्रचण्ड पक्षमा जिल्ला अध्यक्ष यामबहादुर परियार इन्द्रजीतले कार्यालय बेच्ने कुरै नभएको भन्दै अर्को विज्ञप्ति जारी गरेका छन् । साथै भट्टराई पक्षका रेग्मीलाई स्पष्टीकरण सोध्न लागिएको एमाओवादीले जनाएको छ ।

चितवनका एमाओवादीका दुईजना जिल्ला अध्यक्ष छन् । रेग्मी भट्टराई पक्षका अध्यक्ष हुन् भने परियार प्रचण्ड पक्षका । वैद्य र भट्टराई खेमाका कार्यकर्ताहरु कार्यालय व्यक्तिलाई बेच्न नहुने बरु पर्यटकीय वा जनयुद्धको स्मारक बनाउनुपर्ने पक्षमा छन् ।

कुखुरा मालिकको पैसा तिर्न बाँकी

एमाओवादी स्रोतका अनुसार गत चुनावमा पार्टीले चितवनका कुखुरा व्यवसायीसँग लिएको ऋण अहिलेसम्म तिर्न सकेको छैन । चुनावपछि पार्टी कार्यालय बेचेर पैसा तिर्ने भन्दै एमाओवादी नेताले ऋण उठाएको स्रोत बताउँछ । अहिले एमाओवादीको चितवन जिल्ला पार्टीलाई डेढ करोडभन्दा माथि ऋणको भार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment