
३० भदौ, काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्ब डलर बराबरको सहयोगलाई छिटो कार्यान्वयनमा ल्याउनेबारे अर्थमन्त्रालयमा बिस्तृत छलफल भएको छ ।
अर्थमन्त्री डा. रामशरण महतले उक्त सहयोगलाई उपयोग गर्नका लागि अर्थमन्त्रालयमा सोमबार बिभिन्न मन्त्रालयका सचिव तथा अन्तर्गतका महानिर्देशकहरुलाई छलफलका लागि बोलाए ।
‘भारतले यति ठूलो उदारताका साथ सहयोग गरेको छ, यसलाई सदुपयोग गर्नका लागि तत्काल कार्यान्वयन हुन सक्ने आयोजनाहरु अघि सार्नुहोस’ उनले भने- सीमित तथा ठूला आयोजनाहरुको सूची प्रस्तुत गर्नुहोस । धेरै संख्यामा आयोजनाहरु नराखौं, तिनको संभाब्यता गरिहाल्नुहोस ।
संभाब्यता अध्ययनका लागि बजेट नभए आफू बजेटको व्यवस्था गर्न तयार रहेको महतले बताए । उनले संभाब्यता अध्ययनका लागि पनि बजेट भारतसँगै बजेट नमाग्न निर्देशन दिए ।
महतले जलविद्युत, सडक र सिंचाईसँग सम्वन्धित आयोजनाको संभाब्यता अध्ययन गर्न पनि सम्वद्ध मन्त्रालयहरुलाई निर्देशन दिए ।
घोषित उक्त सहयोगको उपयोग गर्नका लागि दुई मुलुकबीच सम्झौता हुनुपर्छ । यसका लागि भारतले सम्झौताको मस्योदा पनि पठाइसकेको छ । अहिले यो परामर्शका लागि कानून मन्त्रालयमा छ ।
छलफलमा अर्थमन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, सिंचाई मन्त्रालयका सचिव माधवप्रसाद रेग्मी, अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी, सिंचाई विभागका महानिर्देशक माधव वेलवासे, अर्थमन्त्रालय तथा अन्य मन्त्रालयका पदाधिकारीहरुको सहभागि थिए ।
प्रतिक्रिया 4