+
+
Shares

त्रिविमा अध्ययन बिदा दुरुपयोग : उठ्नुपर्ने २ अर्ब, उठ्यो १६ करोड मात्र

त्रिविमा अध्ययन बिदा दुरुपयोग गर्नेबाट रकम असुल हुनुलाई सरकारले आफ्नो उपलब्धि मानेको छ । तर, दुरुपयोग गर्ने १७ प्रतिशत प्राध्यापकबाट मात्रै रकम असुल गरेको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८३ असोज १६ गते १८:२१
Listen News
0:00
0:00
🔊

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट १६ करोड ७१ लाख रकम असुल गरेको छ । रकम असुल गर्न गठित अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले शुक्रबार त्रिवि उपकुलपति प्रा.डा भोला थापालाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा ७७ जनाबाट १६ करोड ७१ लाख असुल उपर गरिएको उल्लेख छ ।

१८ जनाको ४ करोड ४० लाख हिसाब भएको तर बुझाउन बाँकी रहेको प्रतिवेदनमा छ । त्रिविका अनुसार, पैसा फिर्ता गर्ने प्रक्रियामा ४० जना जति प्राध्यापक छन् । अध्ययन बिदाको दुरुपयोग गर्ने ४५० प्राध्यापक र कर्मचारी छन् । तर १७ प्रतिशतले मात्र रकम फिर्ता गरेका छन् । बिदाको दुरुपयोग गर्ने ८३ प्रतिशतले भने अझै रकम फिर्ता गरेका छैनन् ।

रकम असुल हुनुलाई सरकारले आफ्नो उपलब्धि मानेको छ । तर दुरुपयोग गर्ने प्राध्यापकबाट अझै रकम असुल गर्न त्रिविले सकेको छैन । समितले आफूले पाएको समय सकिएपछि प्रतिवेदन भने त्रिवि पदाधिकारीलाई बुझाएको छ ।

अनलाइनखबरमा २०८१ मंसिर ७ मा अध्ययन बिदामा गएका त्रिविका प्राध्यापक विदेशमै लुक्ने गरेको समाचार प्रकाशित भएपछि त्रिविले खोजबिन गर्न डा. जीवन काफ्लेको संयोजकत्त्वमा समिति बनाएको थियो ।

उक्त समितिले खोजबिन गर्दा ४५० जना प्राध्यापक र कर्मचारीबाट बिदाको दुरुपयोग भएको भेटिएको थियो । उक्त प्रतिवेदन समितिले त्रिविको अघिल्लो पदाधिकारीलाई बुझाइ सकेको छ । समितिले सुरुमा बिदाको दुरुपयोग गर्ने ३९८ जनाको खोजबिन गरेको थियो । पछि ५० वटा जति फाइल भेटिएको थियो ।

समितिले प्रतिवेदन बुझाएपछि दुरुपयोग गर्ने प्राध्यापकबाट रकम असुल गर्न डा. काफ्लेकै संयोजकत्त्वमा बिदा सुव्यवस्थापन कार्यान्वयन समिति बनाइएको थियो । २०८२ साउन २८ गते गठित समितिले १ वर्षको समय पाएको थियो । समिति गठन भएपछि पैसा असुल गर्ने काम सुरु भएको थियो । समितिका अनुसार, २५० जना प्राध्यापक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किएका र थप २ सय जना फर्किएको तर अध्ययन पूरा नगरेका छन् ।

अध्ययन पूरा नगरी काममा फर्केकाको हकमा के गर्ने ? भन्ने विषय अन्यौलतमा पर्दा पनि कम रकम असुल भएको समिति संयोजक काफ्ले बताउँछन् ।

‘अध्ययन पूरा नगरी फर्केकाको हकमा कार्यकारीले निर्णय नगरेकाले प्रक्रिया अगाडि बढ्न सकेन । कसरी उठाउने कति उठाउने भन्ने स्पष्ट नभएकाले हो,’ समितिका संयोजक काफ्लेले भने । समितिले १ वर्षको मात्र सयम पाएकाले प्रतिवेदन बुझाएको अब रजिस्ट्रार कार्यालयबाट थप काम गर्न सकिने उनले बताए ।

‘अध्ययन बिदा निरन्तर रूपमा रहि रहने कार्य भएको हुनाले नियमित प्रशासनिक प्रणाली मार्फत सञ्चालन गर्न सकिने अवस्था सिर्जना भएको समितिको विश्वास छ,’ प्रतिवेदनमा भनिएको छ ।

अध्ययन बिदा उपभोग गरी नियमानुसार सेवा नगर्ने शिक्षक कर्मचारीहरूको तत्कालीन अवस्थाको तथ्यांक संकलन, हरहिसाबको अभिलेख पुष्टी गरी कागजात तयार गर्ने कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष समितिले निकालेको छ ।

त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

अध्ययन बिदा सकिएपछि नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ । तर शिक्षक कर्मचारीले रकम फिर्ता नगरी राजीनामा दिएर धेरैजसो विदेशमै लुक्ने गरेको पाइएको छ ।

अध्ययन बिदा लिएर धेरै शिक्षक अमेरिका, अष्ट्रेलिया र क्यानडा जाने गरेको पाइएको छ । कोही छात्रवृत्तिमा त कोही आफ्नै खर्चमा अध्ययनका लागि भनेर त्यहाँ पुग्छन् । बिदा सकिएपछि कति त उतैको पीआर समेत लिएर बसेका छन् ।

सम्पर्कमा नआएका प्राध्यापक र कर्मचारीलाई अब पुससम्मको समय दिएर बाँकी रकम उठाउने त्रिविले जनाएको छ । ‘पुससम्मको समय दिन्छौँ । जसरी पनि त्रिविको रकम फिर्ता ल्याउँछौँ,’ रजिस्ट्रार रविन्द्र शिवाकोटीले भने ।

समितिले प्रतिवेदन बुझाएकाले अब बाँकी काम रजिस्ट्रार कार्यालय मातहत हुने उनले बताए ।

‘रजिस्ट्रार कार्यालयमा सहायता कक्षा राखेका छौँ । चार जना कर्मचारी राखेका छौँ । उहाँहरूले शिक्षक र कर्मचारी दुवैको हेर्नुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म एउटा समितिले हेरेको थियो । अब रजिस्ट्रार मातहत काम हुन्छ ।’

समितिले बिदाई थप व्यवस्थित गर्न नीतिगत निर्णय गर्न सिफारिस गरेको छ । ‘अध्ययन बिदालाई व्यवस्थित गर्न नीतिगत निर्णय आवश्यक छ । थप व्यवस्थित बनाउन सिफारिस गरेका छौँ,’ काफ्लेले भने ।

त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहित दिएको अध्ययन बिदा दिने गरेको हो । तर बिदाको चरम दुरुपयोग हनुे गरेको छ । अध्ययन बिदामा गएकामध्ये नफर्किनेको संख्या बढ्दा त्रिविले आर्थिक क्षति, शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?