+
+

विजय दशमी हिन्दुहरूको मात्र चाड होइन

बौद्घमार्गीहरूले मनाउँदै आइरहेको “धर्म बिजया दशमी” पर्व केही वर्षयता देखि पुर्ण रूपमा हिन्दुकरण भइसकेको देखिन्छ । विजया दशमी किन र कहिलेदेखि मनाउन थालियो भन्ने बारे प्रस्ट तथा लिखित प्रमाणहरू हुँदाहुँदै पनि यस बारे खोज अनुसन्धान नहुँदा महान पर्व विजय दशमीको गलत व्याख्या भएको छ । अहिंसा, दया, शान्ति तथा करूणाको पर्व हाल चरम् प्राणी हिंसाको पर्व हुन पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १९ गते ८:४७

गेली शेर्पा

बौद्घमार्गीहरूले मनाउँदै आइरहेको “धर्म बिजया दशमी” पर्व केही वर्षयता देखि पुर्ण रूपमा हिन्दुकरण भइसकेको देखिन्छ । विजया दशमी किन र कहिलेदेखि मनाउन थालियो भन्ने बारे प्रस्ट तथा लिखित प्रमाणहरू हुँदाहुँदै पनि यस बारे खोज अनुसन्धान नहुँदा महान पर्व विजय दशमीको गलत व्याख्या भएको छ । अहिंसा, दया, शान्ति तथा करूणाको पर्व हाल चरम् प्राणी हिंसाको पर्व हुन पुगेको छ । विजय दशमी हिन्दुहरूको मात्र पर्व होइन भन्ने वारे विस्तृतरूपमा विभिन्न धर्म लेखहरूमा लेखिएको तथ्य अनुसार भन्नु पर्दा विजय दशमी पर्व न कुनै भगवतीले राक्षसको वध गरेको दिन थियो नत रामले रावणलाई मारेको दिन नै थियो । ई.पू. २६० मा अशोक सम्राटद्वारा धर्म विजय सम्बन्धी तेह्रौं धर्म अभिलेखमा लेखिएको लेख अनुसार यस्तो तथ्य प्रष्ट हुन आउँछ ।

सम्राट अशोक मगध महाराज बिंदुसारका छोरा थिए, मौर्य सम्राट अशोक ३४ वर्षको उमेरमा ई.पू. २७३ मा राजा बनेका थिए । महाराजा बिंदुसारको पालादेखिनै सुरू भएको राज्य विस्तारको अभियानलाई सम्राट अशोकबाट पनि निरन्तरता दिने काम भयो । पश्चिममा कश्मीरमाथि पनि मौर्य राज्यको अधिकार स्थापित भइसकेको थियो, त्यसैले कश्मीरको ईतिहासमा अशोकलाई पहिलो मौर्य वंशको सम्राट मानिन्छ । एवं रितले स–साना राज्यहरूलाई पनि समाहित गर्ने क्रममा सम्राट अशोकको नजर गोदावरी र महानदी बीचको कलिंग राज्यमा पनि पर्‍यो ।

प्राचिन कलिंग राज्य दंतपुर, वर्तमान जगन्नाथपुरी थियो । कलिंग राज्य व्यापारिकरूपमा सम्पन्न थियो, कलिंग राज्यलाई महाराजा बिंदुसारले पटक पटक आक्रमण गर्दा पनि परास्त गर्न सकेका थिएन । सम्राट अशोकले कलिंग राज्य माथि आफ्नो अधिकार स्थापित गर्ने दृढ निश्चय गरे । आफ्नो राज्यभिषेकको आठौं वर्ष सन् २६१ ई.पू.मा कलिंग राज्यमाथि उनले धावा बोले । सेनाले चारैतर्फबाट घेरा हालेर भिषण हमला गरे । (कलिंगको भिषण युद्घको वारे अशोकको तेह्रौ धर्म अभिलेखमा विस्तृत वर्णन गरिएको छ ।) यस युद्घमा अत्याधिक रक्तपात तथा नरसंहार भयो ।

कलिंगका सेना र जनताहरूले वीरताका साथ मुकाविला गरे, तै पनि युद्घमा सम्राट अशोककै विजय भयो त्यस समयमा कलिंगका राजा चैत्रराजको शासन थियो । त्यस भिषण युद्घका वारे अभिलेखमा यसरी वर्णन गरिएको छ । युद्घमा १ लाख ५० हजार जना लाई बन्दी बनाएर निर्बासित गरियो, एकलाख भन्दा बढीको ज्यान गयो । युद्घमा भाग नलिएका ब्राम्हण, श्रमण, तथा सर्वसाधरण जनताहरूलाई पनि आफ्ना आफन्त नाता गोताहरूको संहार भएबाट अतिनै कष्ट भयो । कलिंग राज्य मगद साम्राज्यको एउटा प्रदेश वन्न पुग्यो । कलिंग प्रदेशमा दुई प्रशासनिक केन्द्रहरूको

स्थापना भयो, जस्मा उत्तरी केन्द्र तोसाली र दक्षिणी केन्द्र जौगडलाई बनाइयो । अव मौर्य साम्राज्य पुर्वमा वंगालको खाडि सम्म विस्तार भयो ।
कलिंगको युद्घको बिजयको साथै युद्घमा भएको हृदय बिदारक हिंसा र नरसंहारको दृष्य सम्राट अशोक आफ्नै आँखाले देखेका थिए । त्यो भिषण युद्घको दृष्यले सम्राट अशोकको मनमा एकदम ठूलो असर पर्यो र उनको मन धेरै असान्त हुन पुग्यो । पाटलि पुत्रको( हालको पटना) राजमहलमा बस्ता पनि उनको कानमा युद्घको चित्कार र तरवारको खनखनाहट मात्र गुञ्जी रह्यो ।

त्यो घटना उनको मनबाट कहिल्यै पनि हट्न सकेन उसलाई पश्चतापले पोल्न थाल्यो । जति धेरै कोसिस गरे पनि त्यो घटनो विर्सन नसकि उनि छटपटाइ रहेका थिए । यहि समयमा एक जना न्यग्रोध नाम गरेका भिक्षु राज महलको बाटो भएर हिडिरहेका थिए र संयोग वस सम्राटको नजर भिक्षुमा पर्यो । उनको मनमा एक्कसी भिक्षु प्रति आस्था जागेर आयो । उनले भिक्षुलाई दरवारमा निमनत्रण गरे र संमान पुर्बक आसनमा राखेर स्वागत सत्कार गरि आधर पुर्वक भोजन चडाए । भोजन पछि भिक्षुले सम्राट अशोकलाई (धम्मपद) वौद्घ धर्म पदका वारेमा उपदेश दिनु भयो ।

भिक्षु न्यग्रोधको उपदेशले सम्राट अशोकको शोकाकुल हृदयलाई एकदमै राहतको महसुस भयो । अमृत समान वुद्घ वचनको वर्षाले उनको तटपि रहेको मनलाई अनन्त शितलता मिल्यो र यस उपदेशले उनि अत्यन्त प्रभावित भएर सम्राटले वौद्घ धर्मको दिक्षा लिने संकल्प गरे । सम्राटले भिक्षु न्यग्रोध र उनको सम्पूर्ण भिक्षु संघ सहित भोजनका लागि निमन्त्रण गरे । दोश्रो दिन आचर्य स्थाविर प्रमुख सहित वत्तिस विक्षुहरूका साथमा भिक्षु न्यग्रोध राजमहल पुगे ।
त्यस दिन सम्राट आफैले भिक्षुहरूलाई आफ्नै हातले पस्केर भोजन चढाए । भोजन पश्चाद भिक्षुहरूबाट धर्म देशना भयो । सम्पुर्ण राज परिवारहरूका साथ सम्राट अशोकले पनि भिक्षु संघबाट वौद्घ धर्म दिक्षा ग्रहण गरे ।

दिव्यवदानका अनुसार भिक्षु आचर्य स्थाविर उपगुप्तले सम्राट अशोकलाई वौद्घ धर्ममा दिक्षित गरेका थिए । संसारको मिथ्या दुःख र अतृप्त मनलाई छाडि धर्म पथको दिक्षा पाएपछि सम्राटलाई परम आनन्दको अनुभव भयो । उनि एक वौद्घ धर्मका अनुयायी वने र दैनिक एक हजार भिक्षुहरूलाई नित्य भोजन गराउने व्यवस्था गराए । यस उपरान्त सम्राट अशोकले सस्त्रद्वार युद्घ विजयको ठाउँमा दया, शान्ति र करूणा द्वारा धर्म विजय प्राप्त गर्ने दृड प्रतिज्ञा गरे । सम्पूर्ण जम्वुदिपका मालिक सम्राट अशोकको जिवनमा यो अपुर्व घटना असौज शुक्ल दशमीको दिन घटेको थियो । युद्घ विजयको स्थानमा धर्म विजय भएको त्यस दिन देखि सम्राट अशोकको राज्य सम्पुर्ण भारतिय महादिपमा विजय दशमी पर्वको रूपमा मनाइयो ।

प्रत्येक वर्ष विजय दशमी पर्वलाई राष्टिय पर्वकोरूप मनाउने घोषणा भयो । नगरका विभिन्न ठाउँबाट धार्मिक झाँकीहरू र शोभा यात्रहरू निकालियो, यस्ता कार्यक्रममा सम्राट आफैले पनि भाग लिने गरेका थिए । ठाउँ ठाउँमा उत्साह पुर्वक समारोह गर्नकालागि मण्डपहरू वनाए र विजय दशमी पर्वलाई असत्य माथि सत्यको विजय,पाप माथि धर्मको विजयको चाडको रूपमा प्रत्येक वर्ष वडो श्रद्घा र धुमधामका साथ मनाउने चलन भएको इतिहाशमा उल्लेख गरिएको छ ।

यसरी दशै चाडको वारेमा धेरै दस्तावेज र प्रमाणहरू पनि पाइएका छन् । तर समयको अन्तरालमा सम्राट अशोकको अन्त्य पछि भारतीय महादिपका राज्यहरू फेरि छिन्नभिन्न हुने क्रम सुरूभयो । ति राज्यहरू स्वतन्त्र हुने क्रममा सम्राट अशोकले स्थापना गर्नु भएको वौद्घ धर्ममा आधारित शासकिय नैतिकतामा पनि विचलन आयो भने त्यसै वखत हिन्दु धर्मका सुत्रधार मनुको मनुस्मृती द्वार प्रशिक्षित व्राम्हणहरूलाई आफ्नो हिन्दु धर्मको प्रभाव विस्तार गर्ने राम्रो मौका मिल्यो । भारतिय महादिपका सम्पूर्ण मानव समुदायले मनाउने धर्म विजयको चाडलाई षडयन्त्र पुर्वक विभिन्न कथा र काल्पनिक घटनासँग जोडेर हिन्दु चाडको नाममा मनाउन वाध्य गराइन थालियो ।

अहिंसा वादि वौद्ध धर्मावलम्वीहरू र वौद्ध भिक्षुहरूको हत्या गर्ने, वौद्ध धर्म संग सम्बन्धित तिर्थ स्थल, स्मारक, स्तम्वहरू ध्वस्त गर्ने पाशविक अभियान थालियो । हिंसाको वदला हिंसा गर्न नचाहने वौद्धमार्गीहरूलाई विभिन्न तरिकाले यातनाहरू दिने र वौद्ध धर्म संग सम्वन्धित चाड पर्वहरूलाई पनि जवरजस्ति हिन्दु करण गरिए । सम्पूर्ण पशु प्राणीहरूको सह–अस्तित्वलाई सहज रूपमा स्वीकार गर्ने वौद्ध मार्गीहरूको करूणको सिद्धान्तलाई कमजोरीका रूपमा प्रयोग गर्दै हिन्दु अतिवादीहरूले आफ्ना स्वर्थ र षड्यन्त्रलाई विभिन्न कर्मकाण्ड वा पुरेत्याँइका नाममा लागु गर्दै आएका थिए । यसै अनुरूप प्रकृतीको एउटै मानव जाति भित्र विभिन्न उच्च, निच जात,जाति,छुवा छुत जस्ता नियमहरूको आधारमा हिन्दु धर्मको विकाश भयो ।

जुन अविस्ट प्राप्त गर्न सृष्टिको समान सन्तान पुरूष र महिलामा महिला लाई भने अपवित्र र दास जस्तो रूपमा व्याख्या गरिएको छ । नारि जातिलाई अपवित्र र दासी मान्ने हिन्दु संस्कारमा त्यहि नारि शक्तीको स्वरूप देवीको कथा कतिको हाँस्यस्पद र अपत्यरिलो छ ? त्यसकारण वौद्ध मार्गी हरूले मनाउने अन्याय माथि न्यायको विजय,पाप माथि धर्मको विजय,आसुर्य शक्ती मा दैविक शक्तीको विजय, हिंसा माथि अहिंसाको विजयको चाड विजय दशमीलाई ठिक विपरित व्याख्या गर्दै निरिह पशुहरूको हत्या गरेर हिंसा र पापको चाडको रूपमा आज परिणत गरिएको छ ।

देवीलाई खुशी पार्न वा धर्मको नाममा बर्षेनी हजारौं पशुहरूको वलि दिने गरिन्छन । निर्मम् हत्यका भागी वन्नु परेका ति निर्दोष पशुहरूको आत्माको शान्तिको कामना गर्दै फेरि पनि हिंसा माथि अहिंसाको विजय, अधर्म माथि धर्मको विजयको चाड शुभ धर्म विजय दशमी लाई भव्य रूपमा मनाऔ । शुभ धर्म विजय दशमीको उपलक्षमा सम्पूर्ण प्राणी जगतमा सुख र शान्ति फैलिरहोस…… टशि देलेक्

(यो लेखकको व्यक्तगत विचार हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?