Comments Add Comment

गगन थापाले भने- बाबुराम समितिले सहमति जुटाउन सक्दैन

२४ असोज, काठमाडौं । संविधानमा सहमति जुट्न बाँकी रहेका विषयलाई प्रक्रियामा लगेर टुंग्याउन सभासदहरुले दबाब दिएका छन् ।

संविधानसभाको शुक्रबारको बैठकमा कांग्रेसका सभासद गगन थापा, एमाले सभासद रवीन्द्र अधिकारी, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, मजदूर किसान पार्टीका प्रेम सुवाल लगायतले सहमतिका नाममा अब कुर्न नहुने बताए ।

कांग्रेस सभासद गगन थापाले अघिल्लो संविधानसभामा प्रक्रियामा नगएर गल्ती भएको भन्दै आफ्नो तर्फबाट गम्भीर आत्मालोचना गरे ।

थापाले भने-‘अब असहमतिका विषयलाई प्रश्नावली बनाएर लैजाऔं, अन्तिम पटक भनेर समय दिने ओ भने सहमतिका लागि दिइएको समयमा संविधानसभा अध्यक्ष पनि नेताहरुसँगै बस्नुस ।’

बाबुराम भट्टराई नेतृत्वमा रहेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमतिथ समितिले अब सहमति जुटाउन नसक्ने भन्दै उनले विवादित विषयहरुमा प्रश्नावली बनाउन संविधानसभाले अर्को समिति बनाउनु पर्ने बताए ।

प्रक्रियामा जाने कुराबाट केही दल आत्तिएको भन्दै थापाले संविधानसभालाई सहमतिका नाममा बन्धक बनाउन नहुने बताए । कांग्रेस सभासद थापाले आक्रोशित हुँदै एमाओवादीलाई प्रश्न गरे-‘तपाईहरुले प्रक्रियामा गइन्छ भनेर घोषणापत्रमा किन लेखेकोे ? किन जनतासँग भोट मागेको ?’

कांग्रेसका अर्का सभासद धनराज गुरुङले शीर्ष नेताहरु जुवाको खालमा बसेको भन्दै सभासद तमासे हुन् भनी प्रश्न गरे ।

एमाले सभासद रवीन्द्र अधिकारीले समितिले प्रश्नावली बनाउन किन सकेन भन्दै समितिले नसक्ने हो भने संविधानसभाले प्रश्न बनाएर असहमतिका बुँदामा जनताको मत लिने बताए ।

सभासद अधिकारीले संविधानसभाले दिएको निर्देशन संवाद समितिले गम्भीरतापूर्वक नलिएको भन्दै सहमतिका नाममा संविधानसभालाई बन्धक बनाउन नपाइने बताए ।

अधिकारीले एउटै दलमा पनि समान धारणा नहुने भन्दै सहमतिका नाममा अनन्तकालसम्म रोकिन नसक्ने बताए ।

कांग्रेस एमाले र एमाओवादी लगायत सबै दलले घोषणापत्रमा सहमति नभए प्रक्रियामा गएर संविधान बनाउने भनेको स्मरण गराउँदै अधिकारीले केही दल त्यसबाट भाग्न खोजेको आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले १७ वर्षसम्म स्थानीय निकायको निर्वाचन गर्न नसक्नेहरुले जनतालाई संविधान नदिने बताए ।

उनले संघीयता नछाडेसम्म मुलुकमा संविधान नबन्ने भन्दै अल्पमतले उठाएको कुरालाई बहुमतले मान्नुपर्ने बाध्यता सिर्जना गरेर सहमति नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment