२८ असोज, काठमाडौं । नेयमारको उत्कृष्ट प्रदर्शनको मदतमा ब्राजिलले मैत्रिपूर्ण फुटबलमा जापानलाई पराजित गरेको छ ।
अर्जेन्टिनालाई हराएको तीन दिनपछि ब्राजिलले मंगलबार जापानलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।सिंगापुरमा भएको खेलमा ब्राजिलका लागि चारै गोल नेयमारले गरेका थिए ।
खेलको १८ औं मिनेटमा नेयमारले टार्डेलीको पासमा गोल गर्दै टीमलाई अग्रता दिलाए । अर्जेन्टिनाविरुद्ध दुई गोल गरेका डिएगो टार्डेली र नेयमारको निकै राम्रो तालेमेल देखिएको थियो ।
दोस्रो हाफको ४८ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरे । काउटिन्होको पासमा नेयमारले वान भर्सेज वानमा गोल गरेका थिए ।
खेलको ७७ औं मिनेटमा हृयाट्रिक पूरा गरे । काउटिन्होको प्रहार जापानका गोलरक्षकले पन्च गरेपछि बाउन्स भएको बेलमा उनले गोल गरेका थिए ।
खेलको ८१ औं मिनेटमा गोल गर्दै उनले ब्राजिललाई ४-० को जित दिलाए । काकाको पासमा उनले हेड गोल गरेका थिए ।
यससँगै नेयमारले ब्राजिलका लागि ५८ खेलमा ४० गोल गरेका छन् ।


प्रतिक्रिया 4