Comments Add Comment

क्यासिनो सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीको आग्रह

 HAN-with-Tourism-Minister-final
९ कात्तिक, काठमाडौं । होटल एशोसियशन अफ नेपाल (हान)ले व्यवहारिक क्यासिनो निर्देशिका ल्याएर सहज रुपमा क्यासिनो सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

आइतबार पर्यटनमन्त्री दीपक अमात्यसँग भेट गरी हानले बन्द अवस्थामा रहेका क्यासिनोहरु पुनः सञ्चालनमा ल्याउन व्यवहारिक निर्देशिका आवश्यक रहेको बताएको हो ।

हानका अध्यक्ष वीके श्रेष्ठले क्यासिनो बन्द हुँदा नेपाल आउने पर्यटकको संख्यामा करिव २ लाखले कमी आएको ठोकुवा गरे । विगत ६ महिनादेखि क्यसिनो बन्द अवस्थामा रहँदा मुलुकको पर्यटन क्षेत्रमा नकरात्मक असर परेको उनको भनाई थियो ।

व्यवसायीहरुले संशोधित ‘क्यासिनो निर्देशिका-२०७०’ अनुसार नविकरण गर्न अटेर गरेपछि सरकारले मुलुकभर सञ्चालनमा रहेका १० वटा क्यासिनो बन्द गराएको थियो । जसमध्ये याक एण्ड यती होटलमा रहेको रोयल क्यासिनो भने सर्वोच्च अदालतबाट स्टे अर्डर लिएर असोज पहिलो हप्तादेखि सञ्चालनमा आएको छ ।

भेटका अवसरमा होटल व्यवसायी र मन्त्री अमात्यबीच पर्यटनसँग सम्बन्धित जल्दाबल्दा समस्याहरुका बारेमा छलफल भएको थियो । सोही अवसरमा अध्यक्ष श्रेष्ठल आगामी ५ वर्षभित्र तारे होटलहरुमा कोठाहरुको संख्या उल्लेख्य वृद्धि हुने बताउँदै पर्यटकहरुको सख्ंया बढाउनेतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले नेपाल पर्यटन बोर्डमा रहेका विद्यमान समस्यालाई यथाशक्य निराकरण गर्दै बोर्डमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ट्राभल डेस्कहरु स्थापना गरी परिणाममुखी पर्यटन प्रवर्द्धनका कार्यक्रमहरुको आयोजना गर्न आग्रह गरेका छन् ।

उनले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउन नेपाल सरकारले विशेष पहल गर्नुपर्नेतर्फ मन्त्री अमात्यको ध्यानाकर्षण गराए । नेपालको पर्यटन प्रवर्द्धन तथा विकासका लागि नेपाल वायु सेवा निगमलाई समय सापेक्ष स्तरोन्नति गर्दै नयाँ नेपाली विमान कम्पनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यक रहेको पनि उनले बताए ।

भेटमा मन्त्री अमात्यले खर्बौं रकम लगानी रहेको होटल पर्यटनको प्रमुख आधारस्तम्ब रहेको बताउँदै पर्यटन क्षेत्रको विकासका अवरोधहरु समाधानका लागि दीर्घकालिन, तत्कालीन र अल्पकालीन योजनाहरु अवलम्बन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
उनले हानलाई पर्यटन विकासमा अनुकरणीय भूमिका निर्वाह गर्न सुझाव दिँदै समग्र पर्यटनको विकासका लागि सरकार कटिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिनिधिमण्डलमा प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव, विनायक शाह, कोषाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठ, कार्यकारी सदस्यहरु प्रवीणबहादुर पाण्डे, रामकुमार पुरी, कानुनी सल्लाहकार गान्धी पण्डित र कार्यकारी निर्देशक प्रवेश अर्याल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment