Comments Add Comment

बिदेश जान हिँडेको ठिटो जब क्रिकेट खेलाडी बन्यो !

cricketer-karan-kcराजकुमार श्रेष्ठ

२१ कात्तिक, काठमाडौं । क्रिकेट खेलाडी करण केसी गत जनवरीमा विदेश जानका लागि पासपोर्ट बनाउन पोखरा पुगेका थिए । क्रिकेटमा नलागेको भए शायद अहिले उनी विदेशमा कठोर श्रम गरिरहेका हुन्थे ।

सानैदेखि क्रिकेट मोह भए पनि त्यसमा निरन्तरता दिन नसकेपछि केसी परिवारको दबावमा रोजगारीका लागि विदेश जान तयार भएका थिए ।

केसीले पोखरा पुगेर पासपोर्ट पनि बनाए । तर, कुन देश जाने भन्ने निश्चित थिएन ।

एकेडेमी भर्ना नगर्ने हो भने स्कुल पनि जान्न भनेँ। तर, आर्थिक अवस्था कमजोर भएका कारण सकिएन

यसैक्रममा मार्चमा पोखरामा क्षेत्र नम्बर ८ को क्रिकेट टोली छनोट हुँदै थियो । उनलाई लाग्यो ,एकपटक प्रयास कसो नगरौं । ‘भिसा लाग्ने कहिले हो, एउटा चान्स लिउँ। भए हुन्छ, नभए विदेश जान्छु भनेर कोसिस गरेँ’ केसीले अनलाइनखबरसँग भने ।

केसीले क्षेत्र नम्बर ८ का खेलाडी दीपेश खत्रीलाई फेसबुकमै सन्देश पठाए । दीपेश उनलाई मौका दिन तयार भए । ‘म पनि क्रिकेट खेल्छु, हेर्नु होला भनेपछि उहाँले लेकसाइड लैजानुभयो’ नेपालमा आफ्नो क्रिकेट यात्रा सुनाउँदै करणले भने-‘पोखराका लागि म छनोट भएँ ।’

क्षेत्रीय टीममा परेपछि करणको विदेश जाने योजना सकियो र सुरु भयो नेपालमा क्रिकेट करिअर । उनले भने- ‘त्यसबेला म निकै उत्साहित थिएँ । अब मेरो क्रिकेट करियर सुरु भयो भन्ने लागेको थियो ।’

एकेडेमी नलगेपछि स्कुल गइँन

बाग्लुङमा जन्मिएका करणलाई झण्डै एक वर्षको उमेरमा नै बाबु-आमाले भारत लगे । जागिरे बाबु चण्डीगढमा बस्थे, करणको वाल्यकाल पनि त्यहीँ बित्यो । यही भएर उनी आफ्नो लवजमा हिन्दी मिसाएर बोल्छन् । नेपाली बोल्न उनी प्रयास गर्दैछन् ।

उनले भारतीय स्कुलमा पढ्दा क्रिकेट खेल्न सिकेका हुन् । पढाइसँगै क्रिकेटलाई निरन्तरता दिए । तर, परिवारबाट क्रिकेटमा खासै सहयोग भएन ।

क्रिकेट एकेडेमीमा भर्ना गरिदिन आग्रह गरे । तर, बाबुआमाले नमानेपछि झण्डै एकमहिना स्कुल नै जान मानेनन् । स्कुले जीवनको त्यो दिन सम्झँदै उनी भन्छन्-‘ एकेडेमी भर्ना नगर्ने हो भने स्कुल पनि जान्न भनेँ।’

उनलाई १४/१५ वर्षको हुँदा बाबुले एकपटक मात्र ब्याट निकिदिएका छन्, त्यो पनि टेनिस ब्याट । उनले भने-‘स्कुलमा खेल्दा साथीहरुको ब्याट प्रयोग गर्थेँ । म्यान अफ दि म्याच, अफ दि सिजन हुँदा ब्याट र बल पाइन्थ्यो । स्कुलको क्रिकेटमा ब्याट पाउँदा खुसी लाग्थ्यो ।’

राष्ट्रिय टोलीमा परेपछि उत्साहित छु । नियमित टीममा पर्न कोसिस गर्छु

स्कुले जीवनपछि उनले क्रिकेटलाई निरन्तरता दिन सकेनन् । टेबलटेनिस खेले तर, मन मानेन् । उनी घरबाट बिहान निस्किएपछि अर्को दिनमात्र फर्किन्थे । ‘दिनभर क्रिकेट हेर्‍यो, फेरि रातमा पनि क्रिकेट हेर्‍यो’ करणले भने- घरवाला परेशान हुन्थे ।’

परिवारले जागिर गर्न भने पनि करणले मानेनन्, बरु क्रिकेटकै पछि लागे । अति भएपछि बाबुआमाले रोजगारीका लागि विदेश पठाउन करणलाई पासपोर्ट बनाउन नेपाल पठाए ।

बाबुआमा भारतमै भएकाले उनी पोखरा काकीको घरमा आए र पासपोर्ट बनाए । तर, विदेशका लागि आएका उनी एकाएक क्रिकेटमा होमिए ।

cricketer-karan-kc-1यसरी लाग्यो ‘लक’

पोखराको क्षेत्रीय क्रिकेटपछि उनले धनगढीमा भएको नेपाल प्रिमियर लिग खेले । १० विकेट लिँदै टपटेन बलरमा परेपछि राष्ट्रिय टीमका प्रशिक्षक पुबुदु दशानायक प्रभावित भए र करणलाई प्रशिक्षणमा बोलाए ।

नेपाली क्रिकेटमा यात्रा थालेको झण्डै ८ महिनामा सिनियर टीममा परेका छन् । बुधबार उनी हङकङविरुद्धको सेरिज खेल्न श्रीलंका भ्रमणमा गए ।

प्रशिक्षक पुबुदु करणका लागि यो भ्रमण अवसर भएको बताउँछन् । करण पनि यो अबसरलाई सदुपयोग गरेर आफ्नो क्षमता देखाउन तयार छन् ।

‘राष्ट्रिय टोलीमा परेपछि उत्साहित छु’ आफूलाई चाहिएको अनुभव श्रीलंका भ्रमणमा हासिल हुन सक्ने भन्दै उनले भने-‘त्यसपछि नियमित टीममा पर्न कोसिस गर्छु ।’

बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, अमृत भट्टराई, जीतेन्द्र मुखिया, राहुल विश्वकर्मा, चन्द्र साउद, अविनाश कर्णजस्ता स्टार बलरहरु छन् । जसले कुनै न कुनैबेला आफूलाई स्थापित गरेका छन् ।

यस्तोमा करणलाई नेपाली टीममा स्थान बनाउन सजिलो छैन भन्ने थाहा छ । ‘टीममा राम्रा र अनुभवी बलरहरु छन् । मसँग त ड्यूज बलको अनुभव छैन । मैले धेरै नै संघर्ष गर्नुपर्छ’ उनले भने- तर, म तयार छु ।’

ओपनिङ बलर बन्ने सपना

नेपाली टीमका कप्तान पारस खड्काबाट करण निकै प्रभावित छन् । फास्ट बलर, ब्याटिङ पनि राम्रो गर्ने पारसको नेचर पनि उनलाई  एकदमै मनपर्छ । उनी भन्छन्- मेरो पनि उद्देश्य पारस दाइजस्तै अलराउण्डर हुने हो ।’

उनको सपना छ, सोमपाल कामीसँगै नेपाली टीमको ओपनिङ बलर बन्ने ।

सोमपाल पञ्जावमा हुर्किएका हुन् । उनी नेपाल आएको निकै छोटो समयमा नेपाली टोलीको महत्वपूर्ण सदस्य बन्न सफल भएका छन् । करण पनि सोमपालकै सिको गर्ने कोसिसमा छन् ।

तर, सोमपाललाई भने नेपाल आएपछि मात्रै चिनेको करणले सुनाए । केही समयपछि भारतमा जाँदा एक साथीले भनिदिए कि सोमपाल र करणको साथी एउटै टीममा थियो पहिले ।

हिन्दी मिसिएको लवजमा करणले भने-‘उसले मेरोसित भी’ खेल्यो भनेपछि सँगै खेलेको भन्ने थाहा पाएँ ।’

नेपाली टीमका सदस्यहरुसँग कुरा गर्दा पनि उनी नेपाली हिन्दी मिसाएर नै बोल्छन् । कुराकानीमा अप्ठ्यारो हुँदैन ? उनले हाँस्दै जवाफ दिए -‘उनीहरु पनि हिन्दी अलिअलि बोल्छन्, म पनि नेपाली ट्राइ गर्छु ।’

सेन बाट्सन आइडल प्लेयर

उनी अष्ट्रेलिया क्रिकेट टीमका फ्यान हुन् भने सेन बाट्सन उनका आइडल प्लेयर हुन् । फुर्सद मिल्यो कि उनी अष्ट्रेलियाको क्रिकेट हेर्छन् । ‘उनीहरुको रणनीति र एग्रेसिभनेस मनपर्छ । करण भन्छन-‘डु अर डाइ’को अवस्थामा राम्रो खेल्न सक्ने क्षमता मन पर्छ ।’

पोखराको घरमा एक्लै बस्नुपर्दा उनलाई बुबाआमाको यादले सताउने गरेको छ ।

भारतमा गएर फेरि क्रिकेटमा ट्राइ गरौं जस्तो लाग्छ ? उनको जवाफ छ -‘लाग्दैन । अब जे गर्ने हो, नेपालमै गर्ने हो । अब त नेपाल टीमको सदस्य बनिसकेँ । देशका लागि सर्पोट गर्ने हो ।’

र, चेल्सीको ज्याकेट …

कुराकानीका क्रममा उनको ज्याकेटमा आँखा पर्‍यो । उनले चेल्सीको ज्याकेट लगाएका थिए । कुराकानीको अन्तिमतिर ज्याकेट त चेल्सीको रहेछ नि भनेर प्रश्न गर्दा करणले हाँस्दै भने- ‘जाडो नहोस् भनेर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment