Comments Add Comment

राराकी अप्सरालाई नजिकबाट स्पर्श गर्दा (फोटो कथा)

Rara Tal (9)

मात्रिका पौडेल
२२ कात्तिक, काठमाडौं । कवि एवम् गीतकार मविवि शाहले रारा तालको दक्षिणपूर्वी किनारामा बसेर ०२० साल चैत २० गते मंगलवारको बिहान लेखेका दुई पंक्तिले नेपालको सबैभन्दा ठूलो रारा तालको वर्णन गर्छ ।
मविवि शाहका ती दुई हरफ अहिले पनि रारा तालको किनारामा नेपाली सेनाले बनाएको विश्रामस्थलको मास्तिर काठका अक्षरमा कुँदिएका छन् । स्वर्गकी अप्सरा, रारा तालका बारेमा यति भने पुग्छ ।
‘सुन्दरताको भण्डार सारा,
के खनाया यसै रारामा राराकी अप्सरा’
मुगुको ताल्चा विमानस्थलमा उत्रिएर करीव अढाइ घण्टाको कालो पैदल यात्रा गरेपछि राराको पहिलो दर्शन गर्न पाइन्छ । जहाँ कञ्चन नीलो पानी समुद्रको छालजस्तै गरी शीतल प्रहार गर्दै हामीतिरै हान्निएर आउँछ ।

Rara Tal (10)
राराको पहिलो दर्शनबाट नलोभिने मान्छे सायदै कोही होला । यस्तो लाग्छ, स्वर्गको सानो टुक्रा कहीँ छ भने यही रारा नै हो । अनि त भन्न मन लागिहाल्छ, ‘आहा स्वर्गकी अप्सरा’ ।
पाँच किलोमिटर लामो, ३ किलोमिटर चौडा र १ सय ६८ मिटर गहिरो यो अद्भूत जलअवतारको एक फन्को लगाउन ठ्याम्मै तीन घण्टाले पुग्दैन । माझघाटनिर पुगेपछि राराको पानी निकास हुने सानो खोल्सी भेटिन्छ, जुन बाजुरा हुँदै अनन्त यात्रामा निस्कन्छ ।
२ हजार ९ सय ९० अर्थात करीव ३ हजार मिटर उचाइमा अवस्थित रारालाई महेन्द्र ताल पनि भनिन्छ । किनकि तिनै कवि गीतकार मविवि शाहले पहिलोपटक ०२० मा रारा दहमा पुगेर राराकी अप्सरा लेखेपछि यसले नेपाललगायत विश्वभर प्रख्याती पायो । र, रारा राष्ट्रिय निकुन्जभित्र सुरक्षित भई अहिले संसारभरका मानिसहरुको पर्यटकीय गन्तव्य बन्न पुगेको छ ।
विकट कणर्ालीको पनि सबैभन्दा विकट मुगुको सिरानमा एक्लै बसेको रारासम्म पुग्न अधिकांश मान्छेका लागि त्यसबेलासम्म प्रायः असम्भव थियो ।
पछिल्लो समय मुगुमा ताल्चा बिमानस्थल बन्नु, कणर्ाली राजमार्गले जुम्ला हुँदै मुगु छुनु र नेपालीहरुमा पदयात्रा गर्ने बानी बढ्नुले रारामा पनि विस्तारै मानव आवागमन बढेको हो ।
डुंगा चढेर राराको फन्को लगाउँदा विश्व जितेको अनुभव त हुन्छ नै, यसको सौन्दर्य र वरिपरिका प्राकृतिक छटाहरुले मनै तरंगित बनाइदिन्छ । तर, पछिल्लो समयमा बिस्तारै मानव प्रदुषण र पूर्वी भागबाट शुरु भएको पहिरोले राराको अस्थित्वमाथि खतरा उब्जाइदिएका छन् ।

Rara Tal (17)
पहिरोले रारालाई भेट्न डेढ सय मिटर जतिमात्र बाँकी छ । त्यसैले त्यस क्षेत्रमा डोजर गुडाउन बन्देज लगाउँदै सुरक्षाका उपाय खोज्न ढीला गर्न नहुने मुगुवासीहरु बताउँछन् ।
पछिल्लोपटक रारामै कणर्ाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डार्क र नेपाल सरकारको संयुक्त आयोजनामा उच्च पहाडी क्षेत्रको जनजीवन जलवायु परिवर्तनका कारण असर गरेको सन्दर्भमा राष्ट्रिय सम्मेलन पनि भयो ।
अब चिन्ता छ, जलवायु परिर्वतनसँगै मानव आवागमनको अतिक्रमणबाट राराको सुन्दरता जोगाउँदै यसलाई आकर्षक गन्तव्यस्थलका रुपमा विकास कसरी गर्ने । स्वर्गकी अप्सरालाई एकपटक नजिकबाट छुन हरेकलाई मन लाग्छ, यस्तै अप्सरा हुन् रारा ।

Rara Tal (1) Rara Tal (2) Rara Tal (4) Rara Tal (5) Rara Tal (6) Rara Tal (7) Rara Tal (8) Rara Tal (11) Rara Tal (13) Rara Tal (14) Rara Tal (15) Rara Tal (18) Rara Tal (19) Rara Tal (20) Rara Tal (21)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment