Comments Add Comment

निजी विमान कम्पनीको भाडा किन दोब्बर बढी ?

२६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुर्गम क्षेत्रमा हवाई उडानलाई बढाउन र टिकट बिक्रीमा हुने लापर्बाही र चलखेललाई रोक्न नेपाल सरकार र नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सरकारी र निजी हवाई कम्पनीको जहाजको भाडादरमा एकरुपता कायम गराउन समेत सरकारलाई निर्देश गरेको हो ।
विसं २०१५ मा स्थापना भएको पृष्ठभूमि रहेको नेपाल वायुसेवा निगमको अहिले आन्तरिक र बाहृय उडानमा गरी छवटा विमान सञ्चालनमा रहेका छन् । सामान्य मर्मत गरेर चल्न सक्ने अवस्थाको निगमसंग थप एक विमान रहेको बताइएको छ ।
विगतमा बाहृय र आन्तरिक गरी ४० स्थानमा नियमित उडान भरेको उक्त निगमले हाल २५ वटा स्थानमा उडान गर्दै आएको छ ।
नेपालको हवाई सेवामा करिब पाँच प्रतिशत योगदान रहेको निगमले अन्य निजी कम्पनीको तुलनामा आधा शुल्कमा दूरदराजका जनतालाई सेवा पुर्‍याउँदै आएको छ ।
विगतमा वाषिर्करुपमा ६० करोडसम्म नाफा आर्जन गर्न सफल निगमले हालका वर्षमा रु चार करोड बचत गर्दै आएको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यले चीनबाट ल्याइएको एमए ६० विमानले मुलुकका प्रमुख सहर विराटनगर, भैरहवा, नेपालगन्ज, भद्रपुर र धनगढीमा उडान भर्दै आएको जानकारी दिनुभयो ।
यस्तै, १७ सिट क्षमताको वाइ१२इ विमानबाट तुम्लिङटार, जनकपुर, सिमरा, भरतपुर र पोखरामा उडान भर्ने योजना रहेको सो अवसरमा जानकारी दिइयो ।
चीनबाट थप विमान प्राप्त भएपछि ताल्चा, सिमिकोट, डोल्पा, जुम्ला, बाजुरा, बझाङ, चोैरजहारी, लुक्ला, साँफेवगर, ताप्लेजुङ, लामीडाँडा, खानीडाँडा, काङ्गेल र फाप्लुलगायतका क्षेत्रमा उडान भर्ने योजना रहेको समितिलाई जानकारी गराइएको छ ।
नेपालले चीनबाट ठूलो एक र १७ सिट क्षमताका तीन वटा विमान आगामी चार महिनाभित्र प्राप्त गरी सक्ने गरी काम अगाडि बढाइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव साधुराम सापकोटाले निगमभित्रको बेथिति हटाएर नेपाल एयरलायन्सलाई सही मार्गमा अघि बढाउन सभासद्ले दिनुभएको सुझावलाई उच्चसम्मान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
निगमले चीनबाट विमान ल्याउने तयारी गरेलगत्तै २० जना विमान चालक, २५ जना सह- विमानचालक, २३ जना परिचारिका र २० जना प्राविधिकलाई नियुक्त गरिसकेको निगमका महाप्रबन्धक मदन खरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- यो आर्थिक वर्षको अन्तिमसम्ममा निगमले १३ वटा विमान सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
बैठकमा सांसदहरूले यात्रुले टिकट नपाउने, सरकारी हवाईजहाज खाली उडान भर्नेजस्ता विगतका गल्ती कमजोरी दोहोर्‍याउन नहुने बताउँदै निजी हवाई कम्पनीको बोलवाला बढिरहेको बेला सरकारी निकायको सेवा विस्तारले सबैलाई राहतको अनुभूति दिलाएको धारणा राख्नुभयो ।
निगमको प्रशासनिक र बजारीकरणको पक्षलाई सुधार गरेर हवाई उडानमा समयको पालना र निरन्तरताको पाटोलाई चुस्त बनाउनेतर्फ निगमले विशेष हेक्का पुर्‍याउन सांसदहरूले सुझाव दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment