+
+

तीनदलको छलफल जोगी र भैंसीको उखान जस्तै

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २८ गते २०:२९

समाचार टिप्पणी

२८ कात्तिक, काठमाडौं । माघ ८ गते कुनै पनि हालतमा संविधान जारी हुन सक्दैन भन्ने कुरा अब संबिधानसभा अध्यक्षदेखि दलका नेता र सभासद सबैलाई थाहा छ । तर, कसको मुखबाट बोलाउने भन्ने मात्रै बाँकी हो ।

संविधानसभा आफैंले बनाएको कार्यतालिका र नियमावलीअनुसार पनि माघ ८ गते संविधान जारी हुन सक्दैन । माघ ८ मा संविधान जारी गर्नका लागि ढीलोमा कात्तिक १५ भित्र दलहरुबीच सहमति वा प्रक्रियामा जाने कुरा टुंगो लागिसक्नुपर्थ्यो ।

फाइल फोटो
फाइल फोटो

पछिल्ला वार्ता र छलफलहरुले कांग्रेस एमाले र एमाओवादीलाई नदीको दुई किनारातर्फ धकेलिरहेको प्रष्ट बुझ्न सकिन्छ । दुबैले एक अर्काको नियतमाथि खोट देखिसकेका छन् ।

शुक्रबार बालुवाटारमा तीन दलको छलफलका क्रममा कांग्रेस एमाले जसरी पनि पेलेर लैजाने र बहुमतको आडमा संविधान जारी गर्ने खेलमा लागेको संकेत पाएपछि एमाओवादी नेताहरु भरंग भएर उठे ।

तर, कांग्रेस एमाले भने एमाओवादी माघ ८ लाई जसरी पनि टार्ने र संविधानसभाबाट संविधान जारी हुन नदिने खेलमा लागेको आशंका गर्न थालेका छन् ।

सोमबार बालुवाटार वार्ता छाडेर एमाओवादी नेताहरु हिँडेको निकैबेरपछि बाहिरिएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल ‘माओवादीले संविधान बनाउन दिँदैनन्’ भन्दै थिए । ‘संविधानसभा माओवादीहरुको रणनीतिमात्र थियो भन्ने कुरा अहिले आएर पुष्टि हुँदैछ, यतिका वार्तामा बसिरहेको छु उनीहरु संविधान बनाउन चाहँदैनन्,मैले इमान्दार भएर भनेको हुँ’ पौडेलले आफ्नो अनुभव सुनाए ।

एमाओवादी संविधानसभामा निकै कमजोर भएपछि जातजातिलाई भड्काउँदै संविधानसभा बाहिर जान खोज्नुले पनि संविधान बन्ने सम्भावना कमजोर हुँदै गएको कांग्रेस एमालेका नेताहरुको बुझाइ छ । ‘एकातिर प्रचण्डले संविधानसभाभित्र प्रक्रिया अनुसार जान नमान्नु, अर्कातिर मोहन वैद्यले गोलमेच सम्मेलन मागेर आफैं बहिस्कार गर्नुले माओवादी शुरुदेखि नै संविधानसभालाई रणनीतिक अस्त्रमात्र बनाउन चाहान्थ्यो भन्ने पुष्टि हुन्छ’ पौडेलको बुझाइ छ ।

कांग्रेस नेताहरु शुक्रबारको छलफलपछि पनि पत्रकारहरु बाहिरिएपछि मात्र निस्किए । उनीहरु आपसको अनौपचारिक गफगाफमा पनि अब संविधान निर्माण र राजनीतिक निकासको विकल्प के हुन सक्छ भन्ने उपाय सोच्दै थिए ।

ओलीका लागि एक थान संविधान

अर्कातिर एमाले अध्यक्ष केपी ओली जसरी पनि माघ ८ मै एक थान संविधान जारी गरेर आफू प्रधानमन्त्री हुन चाहान्छन् । ‘संविधान जारी नभई सुशील कोइरालाले नछाड्ने भनेकाले ओलीका लागि एक थान संविधान जसरी पनि जारी गर्नु परेको छ’ एक कांग्रेस नेताले भने ।

दलहरुबीच सहमति टाढिनुको कारण एमाले पनि हो । एमालेले आफ्नो घोषणापत्र अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र बहुपहिचानका ७ प्रदेशको अडानबाट पछि हटेर कांगे्रेसको लाइनमा मिसिँदा बीचको बाटो सकिएको हो ।

यदि एमाले आफ्नो अडानमा बस्थ्यो भने एमाओवादी आफ्नो अडानबाट तल ओर्लेर एमालेको लाइनमा आउन तयार भइसकेको थियो । पार्टीमा आधिकारिक निर्णय नै नगरी नेताहरुले आफूखुसी लाइन परिवर्तन गरेकोमा एमालेभित्रै पनि असन्तुष्टि छ ।

कांग्रेसको जडता

त्यसो त नेपाली कांग्रेसले पनि शासकीय स्वरुपको विषयमा जडता प्रदर्शन गर्नाले एमाओवादी टाढिएको प्रष्टैसँग बुझ्न सकिन्छ । संसदीय व्यवस्थामा एक इञ्च पनि तल-माथि गर्न नचाहने कांग्रेसको अडान सहमतिका लागि साधक भन्दा पनि बाधक देखिँदै आएको छ ।

अझ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले खुमबहादुर खड्काकै भाषामा धर्म निरपेक्षताको विरोध गर्न थालेको र पौडेलकै जडताका कारण सहमति ढाढिएको प्रचण्डले रोल्पा पुगेर आरोप लगाएका छन् ।

अब दलहरुबीच ठूलै जादूले सहमति भए पनि माघ ८ मा संविधान जारी गर्न भने लगभग असम्भव छ । प्रारम्भिक मस्यौदा माघ ८ मा सार्वजनिक गर्न सके भने पनि उनीहरुको ठूलो उपलव्धी हुनेछ ।

तर, कांग्रेस एमाले र एमाओवादीको सम्बन्ध जोगी र भैंसीको जस्तो देखिन्छ । जोगीसँग भैंसी डराउने र भैंसीसँग जोगी डराउने उखान जस्तै एकले अर्काको नियतमा खोट देखेपछि सहमति असम्भव बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?