Comments Add Comment

संगीतकर्मीको अधिकार खोज्दै महेश खड्का

mahesh-khadka 1काठमाडौ । कुनै समयका चर्चित संगीतकार मानिन्थे महेश खड्का । फिल्मी संगीतमा शम्भुजीत बास्कोटाको बर्चश्व रहेकाबेला प्रवेश गरेका खड्कालाई फिल्म निर्माता, दर्शक र स्रोताकोबीचमा पि्रय हुन कत्ति बेर लागेन ।

आफ्नो फिल्ममा उनको संगीत राख्नकै लागि केही महिना कुर्ने निर्माता धेरै थिए । फिल्ममा उनको संगीत राख्नकै लागि सुटिङ सार्नेहरु पनि थिए । कतिपय दिन यस्तो पनि आयो बिहान उज्यालो भएदेखि राती १२ बजेसम्म स्टुडियोमै बास हुन्थ्यो महेशको ।

तीनै संगीतकार खड्काका लागि अहिले भने काठमाडौका रेकर्डिङ स्टुडियो बिरानो ठाउँ जस्तो हुन थालेको छ । ‘सँधै संगीत गरेर मात्रै हुँदो रहेनछ म त अहिले सर्जकहरुलाई बचाउने उपाय खोज्दै छु,’ अनलाइनखबरसँग कुरा गर्दै खड्काले भने ।

नेपालका गायक, संगीतकार र रचनाकारले उमेरमा गरेका रचनाको संरक्षण संबर्द्धनमा जुटेका खड्का उनीहरुका अधिकारका लागि लड्न ढिला भएको बताउँछन् । ‘हामीले गाएको गीत संगीतको जगेर्ना कसरी गर्न सकिन्छ भनेर म अहिले लागेको छु,’ उनले भने ।

पछिल्लो समय पाइरेसी आम सर्जकको टाउको दुखाइको विषय बनेकोमा जानकार छन् खड्का । यस किसिमको बिकृति रोक्नका लागि निश्चित नियम हुनुपर्छ भन्दै उनी अहिले सामाजिक काममा जुटेको बताउँछन् ।

‘एउटा नियम बनाउन सकिएन भने भोलीका पुस्ताले झन् ठूलो समस्या झेल्नुपर्ने देखेर म अहिले सामाजिक काममा लागेको छु,’ उनले भने ।
संगीतकर्मी कल्याण कोष स्थापना

संगीतकार नेपाल संघका महासचिव खड्काकै पहलमा ह्दयघातबाट बिरामी भएका संगीतकार बिजु बज्रको परिवारले केही आर्थिक सहयोग पाएको थियो । फेरी पनि त्यस्तै समस्या आउँदा कलाकारले दुःख नपाउन् भनेर ‘संगीतकर्मी कल्याण कोष’ निर्माणका लागि पहल सुरु गरेका छन् उनले ।

तत्काल देश विदेशमा रहेका संगीतकर्मीको स्वेच्छाले केही रकम जम्मा गर्ने र कोष स्थापना गर्ने उद्देश्य रहेको उनले बताए । संगीतकार सुनिल मास्केको संयोजकत्वमा एउटा समिति नै बनेको छ । पहिला आफैं केही रकम जम्मा गर्ने र त्यसपछि मात्रै सरकारसँग कल्याणकोषका लागि रकम माग गर्ने संघको योजना रहेछ ।

दुई दिनको ‘वाह-वाह’ले केही हुन्न

संगीत रोयल्टी संघका पूर्व महासचिव समेत रहेका खड्का नेपालका सर्जकले आफ्नो भविष्यको बारेमा ‘सिरियस’ हुने बेला भएको धारणा राख्छन् । उनको भनाइअनुसार तन्नेरीमा दुई-चारवटा गीत हिट हुन्छन् । गीत सुन्नेले वाह वाह पनि गर्छन् । ‘वाह वाह सुनेर मख्ख पर्ने बानी छोड्नुपर्छ कलाकारले,’ उनले भने ।

आफूले गरेको सिर्जनाको मूल्य बुढेशकालसम्म पाउने गरि अघि बढ्नुपर्ने उनको भनाइ छ । गीत संगीत आजीवन बिक्री हुने भएकाले हरेक पटक बिक्री भएवापत त्यसका सर्जकले पनि केही प्रतिशत पाउनुपर्ने धारणा राख्ने खड्का आफू त्यसैका लागि प्रतिबद्ध भएको धारणा राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment