Comments Add Comment

बाबुराम भट्टराई परामर्शमा व्यस्त

४ मंसिर, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष, विभिन्न दल तथा सभासदहरुसँग परामर्श जारी राखेका छन् ।

सभापति भट्टराईले विहीबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग वर्तमान गतिरोध समाधान गर्ने विषयमा परामर्श गरेका छन् । सभाध्यक्ष नेम्वाङको कार्यकक्षमा भएको परामर्शमा संवाद समितिको बैठक, समितिले संविधानसभामा पठाउने प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो ।

सभापति भट्टराईले विहीबारै राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि परामर्श गरेका छन् । सभापति भट्टराईले आफ्नै कार्यकक्ष, सिंहदरबारमा अध्यक्ष थापासँग छलफल गरेका हुन् ।

त्यसैगरी सभापति भट्टराईले संवाद समितिमा रहनुभएका कांग्रेस सभासद् चन्द्रकान्त भण्डारी, कांग्रेस सभासद् ज्ञानेन्द्रबहादुर कार्की, जनजागरण पार्टीका सभासद् लोकमणि ढकाल लगायतसँग पनि परामर्श गरेको भट्टराईको स्वकीय सचिवालयले जनाएको छ ।

कांग्रेस-एमालेलगायतका दलहरुले ४३ जना सदस्यको हस्ताक्षरसहित सभापति भट्टराईलाई पत्र बुझाएपछि भट्टराईले त्यसको संवैधानिक, कानुनी तथा राजनीतिक पक्षका विषयमा कानुनविद्, संविधानविद् तथा विभिन्न दलहरुसँग परामर्श गर्दै आएका छन् ।

सभापति भट्टराईले सबै पक्षसँगको परामर्शपछि मात्रै संवाद समितिको बैठक बोलाउनेगरी यसअघि संवाद समितिको बैठक स्थगित गरेका थिए । सभापति भट्टराईले पटक-पटक दलहरुबीचको सहमतिमै जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment