Comments Add Comment

चेलीबेटी बेच्ने र बलात्कार गर्ने बजिरसिंहको जेलमै अन्त्य

BAJIR-SING-FINAL-1
प्रहरी नियन्त्रणमा बजिर सिंह । फोटो : दिनेश थापा

४ मंसिर, काठमाडौं । चेलबेटी बेचबेखिन गिरोहको नाइके बजिरसिंह तामाङको जेलमै मृत्यु भएको छ । एक सय सत्तरी वर्ष जेल सजाय तोकिएका तामाङको सुनसरीको झुम्का कारागारमा मृत्यु भएको हो ।

सिन्धुपाल्चोक जिल्ला अदालतका न्यायाधीश अनन्तराज डुम्रेले मानव बेचबिखनको जघन्य अपराधी ठहर गर्दै बजिर सिंहलाई ०६९ असारमा एक सय ७० वर्षको जेल सजाय सुनाएका थिए ।

सो फैसलाको विरुद्ध पुनरावेदन अदालत गए पनि पुनरावेदनले गत कात्तिक १८ गते जिल्ला अदालतको फैसला सदर गर्दै थप अभियुक्तहरुलाई पनि मुख्य अपराधी ठहर गर्दै सजाय सुनाएको थियो ।

पुनरावेदन अदालत पाटनले बजिरको जेल सजाय सदर गर्दा उनको मृत्यु भइसकेको रहेछ । जिल्ला कारागार सुनसरीका अनुसार उनको मृत्यु कात्तिक १२ गते उपचारका क्रममा भएको हो ।

उनलाई क्षयरोग लागेको अनुमान गरिएको छ । शुरुमा सिन्धुपाल्चोक जिल्ला कारागारमा राखिए पनि उनले जेलभित्रबाटै बेचबिखन गिरोह सन्चालन गरेपछि चितवन सारिएको थियो ।

अघिल्लो वर्ष माघ १० गते बजिरलाई झुम्का कारागारमा सारिएको थियो । उनका बाबु र भाइ सुनसरी गएर तामाङ संस्कार अनुसार काजकिरिया गरेका थिए ।

सिन्धुपाल्चोक शिखरपूर गाविसको स्थायी बासिन्दा बजिर सिंह गरीव परिवारमा जन्मिएका थिए । उनले शुरुमा ट्याक्सी चलाउने गर्दथे ।

भारतको आग्रामा कोठी सन्चालन गर्ने उनकी दिदी तारा तामाङले भनेअनुसार गाउँका केटी पुर्‍याउने क्रममा राम्रो पैसा आउन थालेपछि बजिरले ट्याक्सी चलाउने पेशा छाडेर चेलिबेटी बेचबिखन थालेका थिए ।

शुरुमा सिन्धुपाल्चोकका सोझासिधा किशोरी र बालिकाहरुलाई राम्रो कमाउने र लाउन खान पाउने प्रलोभनमा फसाएर कोठीमा पुर्‍याउने गरेको बजिरले पछि आग्रामा आफैंले कोठी सन्चालन गरेको उनबाट बेचिएका चेलीहरुले बताएका छन् ।

उनले पछि ठूलै गिरोह सन्चालन गरेर बालिका तथा किशोरीहरुलाई बेचबिखनमा पार्ने गरेका थिए । कोठीमा बेच्नुअघि बजिरसिंहले हरेक बालिका तथा किशोरीको अस्मिता लुट्ने गरेको पीडितहरुले बताएका छन् ।

केही दिनअघिमात्र अनलाइनखबरको सम्पर्कमा आएका बजिरबाट बेचिएका शर्मिला श्रेष्ठ र बिना बिकको यो कथाले बजिरको अपराध कस्तो हो भन्ने पुष्टि हुन्छ ।
बजिरबाट बेचिएका धेरै चेलीहरु अहिले पनि भारतका कोठीहरुमा नारकीय जीवन बिताइरहेका छन् । शर्मिला र बिना लगायतका ६ जना पीडितहरुले आँट गरेर उनका विरुद्ध जाहेरी दिएपछि नेपाल आएको बेला बजिर २०६९मा सोह्रखुट्टेबाट समातिएको थियो ।

उनले पछिल्लो समय १ सय ७० वर्ष जेल सजाय पाउदा समेत आफू पैसा खर्च गरेर जेलबाट छुट्ने र सबैलाई सिध्याउने धम्की पठाउने गरेका थिए । बजिरसिंह भारतमा पटक पटक जेल पर्दै छुट्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment