Comments Add Comment

मन्त्री विमलेन्द्र भन्छन्- एमाओवादी र मधेसवादीको धम्कीपछि मोदीको भ्रमण रद्द भयो (विज्ञप्तिसहित)

४ मंसिर, काठमाडौं । सरकारले प्रमुख विपक्षी एनेकपा माओवादी र केही मधेसवादी दलहरुको ‘अराजकतापूर्ण क्रियाकलाप’का कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको दाबी गरेको छ ।

मोदीको जनकपुर भ्रमण व्यवस्थापनको जिम्मा पाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले विहीबार साँझ विज्ञप्ति जारी गरी एमाओवादीको नेतृत्वमा केही मधेसवादी नेताहरुले मोदीको अभिनन्दन बिथोल्ने चेतावनी दिएको आरोपसमेत लगाएका छन् ।

Bimalendra-Nidhi
मन्त्री विमलेन्द्र निधि

निधीले एमाओवादी र मधेसवादी दलमाथि मोदीको भ्रमण तयारीको बिरोधमा जिल्ला प्रशासनमा गई उग्ररुपले जुलुस प्रदर्शन गरेको आरोप लगाएका हुन् । साथै विपक्षी दलहरुले ज्ञापनपत्रमार्फत समानान्तर मञ्च बनाउने र सुरक्षा घेरा तोड्ने धम्की दिएको आरोप पनि मन्त्री निधीले लगाएका छन् ।

मोदीको जनकपुर भ्रमण तयारीको जिम्मेवारी पाएका मन्त्री निधीको विज्ञप्तिमा भनिएको छ ‘त्यतिमात्र होइन, कूटनीतिक प्रचलन विपरीत वीरगञ्जस्थित भारतीय काउन्सिलर कार्यालयमा गई ज्ञापनपत्र दिएको जस्ता अवाञ्छित र अतिवादी व्यवहारले अभिनन्दन कार्यक्रम बिथोल्ने कार्यको चेतावनी दिएर विवादित वातावरण सिर्जना गरेको कार्यप्रति म घोर भत्र्सना गर्दछु ।’

bimalendra-nidhi-STATEMENT
मन्त्री विमलेन्द्र निधिले जारी गरेको विज्ञप्ति

भ्रमणको सबै तयारी पूरा भएको दाबी

मन्त्री निधीले मोदीको भ्रमणको सबै तयारी पूरा भइसकेको बताएका छन् । भ्रमणको सबै तयारी पूरा भइसकेको अवस्थामा विपक्षी दलका गतिविधिका कारण भ्रमण रद्द भएको भन्दै यसबाट जनकपुर र सो क्षेत्रले ठूलो अवसर गुमाएको निधीले चिन्ता समेत व्यक्त गरेका छन् ।

जानकी मन्दिर परिसरमा मोदीको अभिनन्दन गर्ने तयारी भइरहेका बेला एमाओवादी र मधेसवादी नेताले समानान्तर मञ्च बनाउने चेतावनी दिएपछि भारतीय दूतावासले भ्रमण रद्द गरेको निधीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment