Comments Add Comment

प्रमदा भन्छिन्-गढीमाई नरक हो, त्यहाँ कोही नजाऊ

PRAMADA SHAHA AGAINST SACRIFICE
प्रमदा शाह

मात्रिका पौडेल

१५ मंसिर, काठमाडौं । गढीमाईमा पशुबली रोक्न गएकी पशु अधिकारकर्मी प्रमदा शाह सम्भवतः कहिल्यै गढीमाई फर्किने छैनन् । गढीमाईको बाहिर हजारौं राँगा बोकालाई बली दिन तयार पारिएका बेला प्रमदा भित्र लाख बत्ती बालेर शान्तिपूजा गरिरहेकी थिइन् ।

बली रोक्नुपर्छ भन्दा मेला आयोजकले झण्डै हातपात गरेपछि निराश भएर फर्किएकी उनले सोमवार सिंहदरवारको दक्षिण गेटनिर धर्ना दिइन् ।

फेसबुकबाटै उनको आह्वान देखेर केही पशुअधिकार पक्षधरहरु पनि उनलाई साथ दिन अनामनगर हनुमानथान मन्दिर अगाडि पुगे ।

‘जब म गढीमाईमा निर्दोष प्राणीको ज्यान बचाउन पुगेँ त्यो ठाउँमा मानवता भन्ने कहिँ थिएन, क्रुरतापूर्वक पशुबली नदिउँ भन्दा झण्डै हातपात गरे,’ प्रमदाले अनलाइनखबरसँग भनिन्, ‘वास्तवमा त्यो त नरक जस्तै थियो, जुन ठाउँमा सायद अब म कहिल्यै फर्किने छैन र मजस्ता मान्छेलाई त्यहाँ नजाऊ भन्छु ।’

पूर्व राजपरिवारकी सदस्य प्रमदाले गढीमाईमा दिइने हजारौंको पशुबली रोक्ने अभियान चलाएको एक दशक पुग्न लागिसकेको छ । तर पछिल्लो पटक उनी निराश बनेर काठमाडौं फर्किएकी छन् ।

‘म निरीह थिएँ, निराश पनि भएँ तर एक दिन अवश्य हामो कुरा सुनिन्छ भन्ने विश्वास छ,’ दुई हातमा पशुबली विरुद्धको प्लेकार्ड बोकेकी पूर्व राजाकी भान्जी बुहारीले भनिन्, ‘यसैपाली बली दिने राँगा निकै कम थिए ।’

केही वर्षअघिसम्म पशुबली विरुद्ध बोल्दा आफूलाई एक्लो ठान्ने प्रमदाले अचेल नेपालमै धेरै साथी बनाइसकेकी छन् । सोमवारको प्रदर्शनमा पनि युवा पुस्ताको सांकेतिक उपस्थिति देखिन्थ्यो ।

धार्मिक आस्थामा पैसाको स्वार्थ !

उनका बिचारमा गढीमाई मेला पैसा कमाउनका लागि केही गुण्डाहरुले कब्जा गरेका छन् । ‘वास्तवमा भक्तजनको धार्मिक आस्थालाई केही गुण्डा र ठेकेदारहरुले कब्जा गरेका छन्,’ उनले भनिन्, ‘यस्तो बिभत्स पशुबली रोक्ने त परै जाओस् व्यवस्थित गर्ने कुरा पनि उनीहरु सुन्न चाहदैनन् ।’

हिन्दू धर्मले कहिँ कतै पनि पशुबलीको वकालत नगरेको उनको दावी छ । आफूले पशुबली विरुद्ध आवाज उठाउदा हिन्दू धर्मको बिरोध गरेको र क्रिश्चियनको डलर खाएको आरोप लागेकोमा उनी निराश छिन् ।

‘सबैभन्दा कट्टर हिन्दू त मेरो परिवार हो, हिन्दू धर्मप्रतिको मेरो आस्था कसैको आरोपले डग्मगाउदैन,’ प्रमदाले भनिन्, ‘बोल्न नसक्ने प्राणीको क्रुरतापूर्वक सामुहिक हत्या गर्नेहरुले हिन्दू धर्मको अपमान गरेका छन् ।’

हालै अमेरिका र क्यानाडामा ‘थ्यांक्स गिभिङ’ चाडका नाममा गरिएको करोडौं टर्किस चराको हत्या र इस्लामले बकरइदमा गर्ने पशु हत्याको प्रसंग उठ्दा प्रमदाहरुमाथि बलीप्रथाका पक्षधरले औंला ठड्याउने गरेका छन् ।

उनीहरुले अरु धर्म र देशमा भएको बलीको विरोध नगरि नेपालको गढीमाईको मात्र बिरोध गरेको भनेर प्रमदाको आलोचना गर्ने गरेका छन् । ‘ती विषयहरु मैले पनि सुनिरहेकी छु, तर पहिले हामी गढीमाईको क्रुरता अन्त्य गरौं, अन्य विषयमा छलफल गर्न तयार छौं,’ उनले भनिन् ।

सुन्ला त सिंहदरबारले ?

गढीमाईमा आफनो आवाज नसुनिएपछि उनी सिंहदरवारलाई आफू र आफू जस्ता पशुअधिकारका पक्षधरको आवाज सुनाउन अग्रसर भएकी छन् । तर सिंहदरवार, धार्मिक समुदायको आस्थामा तलमाथि हुने कुनै पनि निर्णय गर्ने अधिकार अहिले नै राखिहाल्दैन ।

यो बुझेरै प्रमदा र उनका समर्थकहरु नेपालमा हुने बलीप्रथाको विरुद्ध अन्तर्राष्ट्रिय समुदाय गुहार्न लागेका छन् । ‘नेपाल र हिन्दू धर्ममाथिको यो कलंक अन्त्य गर्नैपर्छ,’ उनले भनिन्, ‘यो प्रदर्शन जारी रहन्छ ।’

पशु बलीको विकल्प के त ?

परम्परा र संस्कारका नाममा बिभत्स हत्यालाई निरन्तरता दिन नहुने मत बलियो बनाउदै हिडेकी छन् प्रमदा अहिले । ‘हामीले सतीप्रथा अन्त्य गर्‍यौं, दासदासी अन्त्य गर्‍यौं, बोक्सी प्रथा अन्त्य गर्‍यौ,’ उनको प्रश्न छ, ‘के यसबाट हिन्दू धर्म अप्ठेरोमा पर्‍यो त ? झन् राम्रो भयो ।’
आफना इष्टदेवी देवतालाई बली नै दिने हो भने शाकाहारी बलि दिन उनको सुझाव छ । ‘नरिवल, कुभिण्डोजस्ता शाकाहारी बली दिने चलन पनि त हाम्रै पूर्खाले चलाएका हुन्,’ उनी भन्छिन्, ‘पुरातन मूल्य-मान्यताकै कुरा गर्ने हो भने कुनै बेला नरबली दिने चलन पनि थियो, त्यो त हट्यो नि ।’

प्रमदा शाहहरुको एउटा प्रश्नको जवाफ भने अनुत्तरित नै छ । त्यो के भने-जनावर बोल्न सक्दैनन् भनेर हामी रेटिरहेका छौं । दसैंमा दुर्गा भवानीलाई बली दिने गरिएको छ, दुर्गा भनेको सबैकी आमा हुन्, आफ्नै सन्तानको बलि उनले कसरी माग्छिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment