+
+

सुजाता यसकारण बनिन् प्रथम महिला

प्रधानमन्त्री सुशील कोइरालाले यसपटकको सार्क शिखर सम्मेलनमा प्रथम महिलाका रूपमा सुजाता कोइरालालाई प्रस्तुत गरे । नेपाली मिडियाले सार्क सम्मेलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाहेक अरु कुरामा ध्यान दिने फुर्सद नपाएकाले प्रथम महिलाबारे खासै चर्चा भएन ।

कोइराला परिवारबाट नेपाली कांग्रेसको उत्तराधीकारी सुजाता नै हुन् भन्ने सन्देश सभापति सुशील कोइरालाले यस्तो बेलामा दिए, जतिबेला मुलुकको माहौल सार्क सम्मेलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चामा केन्द्रित थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १६ गते १९:२८

विन्दुकान्त घिमिरे

प्रधानमन्त्री सुशील कोइरालाले यसपटकको सार्क शिखर सम्मेलनमा प्रथम महिलाका रूपमा सुजाता कोइरालालाई प्रस्तुत गरे । नेपाली मिडियाले सार्क सम्मेलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाहेक अरु कुरामा ध्यान दिने फुर्सद नपाएकाले प्रथम महिलाबारे खासै चर्चा भएन ।

कोइराला परिवारबाट नेपाली कांग्रेसको उत्तराधिकारी सुजाता नै हुन् भन्ने सन्देश सभापति सुशील कोइरालाले यस्तो बेलामा दिए, जतिबेला मुलुकको माहौल सार्क सम्मेलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चामा केन्द्रित थियो ।

SAARC_2nd day (2)
फाइल फोटो : सार्क सम्मेलनका क्रममा फस्ट लेडीको भूमिकामा सुजाता कोइराला

आजभन्दा १३ वर्षअघि दशैंको माहौल पारेर तत्कालीन राजा ज्ञानेन्द्रले पारसलाई युवराज घोषणा गरेकै शैलीमा कांग्रेस सभापति कोइरालाले पनि सार्क सम्मेलनको मौका पारेर सुजातालाई उत्तराधिकारी घोषणा गरेका हुन् भन्ने बुझाइ कांग्रेस र कोइराला परिवारका जानाकारहरुको छ ।

सुशीलले यसपटक सुजातालाई प्रथम महिलाका रूपमा अघि सारेर उत्तराधिकारीको संकेत गरेका छन्

पार्टी स्थापनादेखि नै केही अपवादबाहेक कांग्रेसमा कोइराला परिवारको नेतृत्वदायी भूमिका रहँदै आएको छ । २०१२ सालमा सम्पन्न वीरगञ्ज महाधिवेशनमा सूर्वणशमशेर राणा गणेशमान सिंहसँग चुनाव लडेर र ०४८ सालमा झापाको कलबलगुढी महाधिवेशनमा कृष्णप्रसाद भट्टराई निर्विरोध नेतृत्वमा पुगेको अपवाद वाहेक अहिलेसम्मका नेपाली कांग्रेसका सबै महाधिवेशनमा कोइराला परिवारकै बर्चश्व देखिँदै आएको छ ।

 

मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालापछि यतिबेला पारिवारिक विरासत सुशील कोइरालाले धान्दै आएका छन् । त्यसैले कोइराला परिवारले कसलाई उत्तराधिकारीका रुपमा अघि सार्छ भन्ने कुराले नेपाली कांग्रेस वृत्तमा सर्वाधिक महत्व राख्ने गर्छ ।

अहिले सुशील पार्टी सभापति र प्रधानमन्त्री दुबै पदमा छन् तर उनीपछि कोइराला परिवारभित्र को उत्तराधिकारी हुने हो ? भन्ने कुरामा अन्योल कायमै छ ।

कोइराला परिवारका तीन ‘स’

बीपीपुत्र शशांक कोइराला, नोनापुत्र शेखर कोइराला र गिरिजापुत्री सुजाता गरी तीनजना प्रवल आकांक्षी देखिएका कारण उत्तराधिकारी छनोट गर्न कोइराला परिवारलाई हम्मे-हम्मे परेको छ ।

शशांक, शेखर तथा सुजाताको योगदान, क्षमता र लोकप्रियता उस्तै उस्तै भएका कारण सुशील कोइरालाले कसलाई अघि बढाउँछन् भन्ने खुल्दुली कांग्रेस वृत्तमा कायमै थियो । तर, केही महिनाअघि भारत भ्रमणका क्रममा उनले सुजाता र शशांकलाई लगेपछि शेखर रिङबाट बाहिरिएको अनुमान धेरैले गरेका छन् ।

bindukanta-ghimire
विन्दुकान्त घिमिरे

बीपीपुत्र शशांक र गिरिजापुत्री सुजातामध्ये एकजना सुशीलको रोजाइमा परेको अनुमान त्यतिबेलादेखि नै गरिएको थियो । यो अनुमानलाई चिर्दै सुशीलले यसपटक सुजातालाई प्रथम महिलाका रूपमा अघि सारेर उत्तराधिकारीको संकेत गरेका छन् ।

सार्क सम्मेलनका क्रममा सुजातालाई दिइएको यो अवसर सांकेतिक मात्रै होइन । यो घटनाले शशांक र शेखरलाई पक्कै पनि केही निराश बनाएको हुनपर्छ ।

संविधानसभा निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीको अनुशासन समितिद्वारा कारवाही सिफारिसको सूचीमा सुजाताको पनि नाम छ । सभापति कोइराला आफैंले गठन गरेको समिति हो त्यो ।

अनुशासन समितिद्वारा कारबाहीको प्रक्रिया अघि बढ्दा बढ्दै पनि सुजातालाई नै प्रथम महिलाको सम्मानित स्थानमा राख्नुको सन्देश भनेको उत्तराधिकारी घोषणा नै हो ।

अनुशासनको मामिला पार्टीको मामिला हो । सुजातालाई अहिले दिइएको जिम्मेवारी पार्टीगत मामिलासँग सरोकार छैन । तर, पार्टीकै सरकार भएको र अनुशासन समितिको सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी पनि पार्टी सभापतिकै भएका कारण सुजातालाई अहिले दिइएको थप जिम्मेवारीले ठूलै अर्थ राख्छ ।

नेपाली कांग्रेसको अनुशासन प्रकरणले कोइराला परिवार बाहेकलाई मात्रै छुन सक्छ भन्ने कुरा विगतदेखि नै प्रमाणित हुँदै आएको छ । प्रकाश कोइरालादेखि शैलजा आचार्यसम्मका हस्तीहरुले पार्टी निर्णय विपरीत गतिविधि गर्दा अनुशासन समितिले स्पष्टीकरणसम्म सोध्न नसकेको घटना कांग्रेस कार्यकर्ताहरुको स्मृतिमा ताजै छ ।

वि.सं. ०५१ सालमा काठमाडौं क्षेत्र नं १ को उपनिर्वाचनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टी सभापति कृष्णप्रसाद भट्टराईविरुद्ध खुलेआम अन्र्तघात गर्दा पनि पार्टी अनुशासन लागेन । यसपटक सुजातामाथि अनुशासनको कारबाही अघि बढाइँदा प्रधानमन्त्री तथा पार्टी सभापति कोइराला स्वदेशमा थिएनन् । सभापति कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका गएका कारण उपसभापति रामचन्द्र पौडेल कार्यवाहक सभापति थिए ।

पार्टीका अरु काम कारवाहीमा सभापतिको आदेश पर्खने कार्यवाहक सभापति पौडेलले सुजातामाथिको कारवाहीको सिफारिसलाई भने रकेटको गतिमा अघि बढाएका थिए । अघिल्लो दिन कारवाहीको सिफारिस हुनु र भोलिपल्टै केन्द्रीय समितिको बैठक डाकिनु संयोग मात्रै नरहेको बुझाइ सुजाताको थियो ।

सुजाताको राजनीतिक उचाइ नघटेसम्म संस्थापन पक्षबाट आफ्नो पालो नआउने उपसभापतिको ठम्याइँ गलत होइन । अब सुजाताका लागि पर्खने उमेर पौडेलको छैन ।

अबको एक वर्षभित्रै नेपाली कांग्रेसको महाधिवेशन हुँदैछ । संस्थापन पक्षको सहयोग पाएको अवस्थामा उपसभापति पौडेल सभापति पदका लागि सबैभन्दा बलिया उमेदवार हुन सक्छन् ।

पौडेलको हातबाट सुजातामाथि कारवाहीको प्रक्रिया अघि बढाइदिँदा संस्थापन पक्षमा दरार उत्पन्न हुनसक्छ र पौडेल जस्तो बलियो प्रतिस्पर्धीले मैदानमा उत्रने मौका पाँउदैन भन्ने राणनीति वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले आवलम्वन गर्नु स्वभाविकै हो । सुजाता माथि गर्न खोजिएको कारवाहीले उपसभापति पौडेल आफै चक्रव्यूहमा फसे ।

तर, कोइराला परिवारले घोषणा गरेको उत्तराधिकारीले नै अब ९ महिनापछि हुन गइरहेको १३ औं महाधिवेशनमा चुनाव जित्छ भन्ने सुनिश्चिता छैन । वरिष्ठ नेता देउवा पार्टीभित्र त्यति कमजोर छैनन् ।

तर, देउवा फेरि चुनाव लड्छन् या लड्दैनन्, यकिन भइसकेको छैन । संस्थापन पक्षमा दरार उत्पन्न गराउने प्रयासले मूर्तरुप पाएन भने देउवा आगामी महाधिबेशनमा चुनाव लड्ने छैनन् । यथास्थितिमा चुनाव लड्नु भनेको पराजयकै लागि हो भन्ने संकेत पाएपछि देउवा उमेदवार बन्न अनिच्छुक देखिएका छन् ।

देउवा निवासको रणनीति

Ser-Bahadur-deubaगत शनिबार आफुनिकटका नेताहरुलाई आफ्नो निवासमा बोलाएर वरिष्ठ नेता देउवाले आफू अब तेस्रोपटक पराजित हुन इच्छुक नरहेको बताएपछि देउवा पक्षमा हलचल मच्चिएको छ ।

भ्रष्टाचारी प्रमाणित भएपछि खुमबहादुर खड्कालाई सभापति पदमा चुनाव लड्न कानुनले मिल्दैन । त्यसैले गोपालमान श्रेष्ठ वा विमलेन्द्र निधिमध्ये एक जनालाई अघि बढाइने संभावना छ

वरिष्ठ नेता देउवा दशौं महाधिबेशनमा गिरिजाप्रसाद कोइरालासँग र बाह्रौं महाधिबेशनमा सुशील कोइरालासँग सभापतिपदमा प्रतिस्पर्धा गरेका थिए । दुबैपटक पराजित भएका कारण अब तेस्रो पटक चुनाव लड्न देउवा हच्किएका हुन सक्छन् ।

समकालीन नेताहरुको तुलनामा देउवा निकै बाठा राजनीतिक खेलाडी हुन् । यति हुँदाहुँदै पनि पार्टीमा मात्रै होइन, संसदीय दलको निर्वाचनमा समेत देउवाले पटक-पटक पराजय बेर्होदै आएका छन् ।

पहिलो संविधानसभा कार्यकालमा रामचन्द्र पौडेलसँग र दोस्रो संविधानसभा कार्यकालमा सुशील कोइरालासँग पराजित भएपछि देउवा निराश बनेका देखिन्छन् । अब तेस्रोपटक पनि चुनाव हारियो भने पार्टीमा ज्यादै नराम्रो रेकर्ड बस्ने र सदावहार उमेदवार भनेर टीका टिप्पणी हुने खतरालाई मध्यनजर राख्दै देउवाले आफ्नो समुहबाट अन्य नेतालाई अघि बढाउने चर्चासमेत कांग्रेसभित्र चल्न थालेको छ ।

गत शनिबार देउवा निवासमा भेला भएका एक नेताका अनुसार संस्थापन पक्षले एकलौटी रुपमा पेल्दै गएको महसुस भएकाले देउवा निराश बनेका हुन् । उक्त छलफलमा प्रधानमन्त्रीसमेत रहेका सभापति कोइरालाले आफ्ना सबै गतिविधि तेह्रौं महाधिवेशनलाई लक्षित गर्दै अघि बढाएको निश्कर्ष निकालिएको थियो ।

संस्थापन पक्ष विरुद्ध रणनीति बनाउन शनिबार बसेको उक्त बैठकमा देउवाले तेह्रौं महाधिवेशनमा सभापति पदमा चुनाव नलड्ने बताएपछि नेपाली कांग्रेसभित्रको समीकरण परिर्वतन हुने संभावना बढेको छ ।

देउवाको विकल्प को ?

देउवा समुहभित्र देउवापछि सबैभन्दा बलिया खुमबहादुर खड्का छन् । तर, उनको लोकप्रियता कम भएको मात्रै होइन, भ्रष्टाचार गरेको प्रमाणित भएका कारण उनलाई सभापति पदमा चुनाव लड्न कानुनले मिल्दैन । त्यसैले गोपालमान श्रेष्ठ वा विमलेन्द्र निधिमध्ये एक जनालाई अघि बढाइने संभावना छ ।

तर, निधि हार्ने चुनावमा अहिले नै होमिने संभावना कम छ । यस्तो अवस्थामा रामचन्द्र पौडेललाई नै आफ्नो समुहमा भित्र्याएर सभापतिको उमेदवार बनाउन सके चुनाव जितिने आँकलन गर्दै केहीले प्रस्ताव राख्न सक्छन् । तर, पौडेलभन्दा कोइराला परिवार नै ठीक भन्ने समूह पहिलेदेखि नै देउवाको किचेन क्याविनेटमा निर्णायक भूमिकामा छ । यसबारे संस्थापन पक्ष बेखबर छैन, ढुक्क पनि छ ।

देउवा उमेदवार हुन हच्कनुको मुख्य कारण गत बाह्रौं महाधिवेशनमा साथ दिएका धेरै नेता तथा कार्यकर्ताहरुले यतिबेला संस्थापन पक्षमा लाग्नु हो ।

दशौं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग करिव पाँच सय र बाह्रौं महाधिबेशनमा सुशील कोइरालासँग करिव ३ सय मत अन्तरले देउवा पराजित भएका थिए । त्यसबेला देउवालाई साथ दिनेमध्ये डा. मिनेन्द्र रिजाल , कल्याण गुरुङ, सुभाष पोखरेल, सुरेन्द्र पाण्डेलगायतका केन्द्रीय सदस्यहरु साथ छोडिसकेका छन् ।

खुमबहादुर खड्का अलग्गै हिन्दूवादी पार्टीको अभियानमा छन् । पूर्णबहादुर खड्कालाई सहमहामन्त्री बनाइएपछि बालकृष्ण खाँण समेत देउवासँग रुष्ट छन् ।

बाह्रांै महाधिवेशनपछि भएका भ्रातृसंगठनका महाधिबेशनमा देउवा पक्षले जित्दै गएका कारण माहौल भने बनेको छ । तर, संस्थापन पक्षमा अन्र्तघात भएको कारणले मात्रै भ्रातृसंस्थाका अध्यक्ष पदमा आफ्नो पक्षले जितेको कुरामा देउवा बेखबर छैनन् । ०४८ सालदेखि यताका नेविसंघका अध्यक्षहरु एकजना पनि आफ्नो साथमा छैनन् भन्ने कुरामा पनि देउवा बेखरबर छैनन् । ०४८ सालपछि नेविसंघको नेतृत्व गरेको पुस्ताबाट आगामी महाधिवेशनमा करिव ४० प्रतिशत प्रतिनिधि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?