Comments Add Comment

ओलीले सभासदलाई भने-महँगा मोबाइलको दोहन गर्नुस्

kp-oli

  • तस्वीरः केपी ओलीको ट्वीटर पेजबाट

१६ मंसिर, काठमाडौं । प्रायः सबै सभासदहरुका हातमा स्मार्ट फोन देखिन्छन् । कतिपयले किनेको भन्छन् भने धेरैजसोलाई सभासद भएपछि उपहार पनि आएका छन् ।

तर, माल पाएर चाल नपाएपछि जति उन्नत प्रबिधि हातम भए पनि के गर्नु ?

धेरै सभासदले स्मार्ट फोनको उपयोग गर्न नजानेको र सूचना प्रबिधिबाट बेखबर रहेको पाइएपछि नेकपा एमालेले भने नयाँ तरिका निकालेको छ ।

एमाले संसदीय दलले मंगलबारदेखि आफ्ना सभासदलाई सूचना प्रबिधि प्रयोग गर्ने तालिम नै दिन थालेको हो । तालिमअघि एमालेले सबै सभासदलाई एउटा फारम भर्न दिएको छ ।

फारममा ‘तपाईको इमेल आइडी छ कि छैन ? कुनै कुरा खोज्नुपरेमा साथीभाईको सहयोग लिनुहुन्छ कि गुगल सर्च गर्नुहुन्छ ? सामाजिक सन्जाल र ब्लग चलाउनु हुन्छ हुन्न ? जस्ता प्रश्नहरु सोधिएका छन् ।

मंगलवार फारम भरेका मध्ये आधाजसो सभासद सूचना प्रबिधिबाट टाढा रहेको पाइएको एमाले स्रोतले जनाएको छ । यो संकेत पाएपछि दलका नेता केपी शर्मा ओलीले सभासदहरुलाई जम्मा पारेर करीव एक घण्टा कक्षा लिए ।

ओलीले महँगा स्मार्ट फोन, आइप्याड, ल्यापटप जस्ता प्रबिधिहरु देखाउन होइन बढिभन्दा बढि प्रयोग गरेर आफूलाई अपडेट राख्न निर्देशन दिए ।  ‘यति महँगो भाँडो बोक्नुहुन्छ, यसलाई बढिभन्दा बढि दोहन गर्नुस्, मिलाएर खोज्नुस् संसार यसैभित्र छ’ ओलीले भने-‘तपाईका अधिकांश मतदातालाई यसैमा भेट्न सक्नुहुन्छ, जनतासँग अन्तरक्रिया गर्ने यो भन्दा राम्रो अर्को माध्यम छैन ।’

ओलीले सबै सभासदलाई सोसल मिडियाको उपयोग गर्न र सूचना प्रबिधिमा आफूलाई अपटेड बनाइराख्न निर्देशन दिए । ‘तपाइहरुमध्ये धेरैले महँगा मोबोइल हेलो हेलो भन्न मात्र प्रयोग गरेको देखेरै यसको प्रयोगका लागि तालिम आयोजना गरिएको हो’-ओलीले भने ।

ओली पछिल्लो समय समाजिक सञ्जाल फेसबुट र ट्वीटरमा निकै अपेडेट हुने गरेका छन् ।

एमाले संसदीय दलले सभासदहरुलाई सूचना प्रबिधि र सोसल मिडियाको प्रयोगका बारेमा दिन लागेको तालिमको प्रयोगात्मक कक्षा भने मंसिर २१ देखि शुरु हुने मकवानपूर ३ का सभासद अनन्त पौडेलले जानकारी दिए । ‘आज सैद्धान्तिक कक्षा भयो, दलको नेताले सोसल मिडिया र सूचना प्रबिधिको प्रयोगका बिबिध आयामबारे निर्देशन दिनुभयो’ पौडेलले भने-‘यस्तो तालिमले हामी प्रबिधि चलाइरहेकाहरुलाई अपडेट गराउछ र नजानेकाहरुलाई सिकाउँछ ।’

एमाले सम्बद्ध कार्यकर्ता र केन्द्रीय कार्यालयका सूचना प्रबिधि सम्बन्धी विज्ञहरुले तालिम दिनेछन् ।

करीव ८३ प्रतिशत जनताको हातमा मोबाइल पुगिसकेको र ठूलो हिस्सा सामाजिक सन्जालमा रहेकाले पार्टीका नेता कार्यकर्ता र सभासद जनताभन्दा पछि पर्न नहुने ठहर गर्दै सभासदलाई तालिम दिएको पौडेलले बतए ।

कतिपय सभासदहरुले मोबाइलबाट गु्रप मेसेज पठाउन समेत नजानेको कुरा फारममा उल्लेख गरेका छन् । ‘यसबाट पनि हामी सूचना प्रबिधिको प्रयोगमा पछि छौं भन्ने देखिन्छ’ भोजपूर १ का सभासद कृपासुर शेर्पाले भने-‘यस्तो तालिमले सबैलाई फाइदा पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment