Comments Add Comment

औद्योगिक विकासमा दीर्घकालिन सोँचको अभाव

हरिभक्त शर्मा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ

नेपालमा उद्योग व्यवसाय फस्टाउन सकेको छैन । यससँग सम्बन्धित सबै पक्षको अवस्था दिनानुदिन खस्किँदो अवस्थामा छ । नेपाल धेरै लामो समयदेखि राजनीतिक संक्रमणकालको अवस्थामा नै रहृयो । समयमा चाल्नुपर्ने कदम चाल्न सकिएन ।

त्यसैले पनि औद्योगिक व्यवस्थापन चुनौतीपूर्ण कार्य बन्दै गएको छ । भूपरिवेेष्ठित देशका रूपमा नेपालका विशिष्ट कठिनाइ छन् । आयात र निर्यात सजिलो छैन । त्यसमा लागत तुलनात्मक रूपमा बढी लाग्छ ।

Haribhakta-Sharma-jpgपछिल्लो आँकडा हेर्ने हो भने कपडा, औषधि, स्टील, तयारी पोसाक, कृषि उत्पादनजस्ता धेरै उद्योग समस्याग्रस्त छन् । यस्ता उद्योगमा संलग्न उद्योगी अरू नै पेसा र व्यवसायतिर लाग्न बाध्य छन् । उद्योग विकासको क्षेत्र सबैभन्दा कमजोर हुन गएकाले प्रतिस्पर्धी क्षमतामा धेरै ह्रास आएको छ ।

उद्योगहरू रुग्ण बन्दै गएका छन् । सहज ढंगले उद्योग व्यवसाय सञ्चालन गर्नका लागि माहोल नै प्रतिकूल छ । त्यो राजनीतिक वा भौगोलिक दुवै कारण उद्योग सहज हुन सकेको छैन । अप्रभावकारी र अपूर्ण नीतिनियमले पनि कतिपय उद्योग विरामको संघारमा छन ।

औद्योगिक विकासमा दीर्घकालिन सोचको अभावविश्वबजार परिवर्तनशील एवं नवप्रवर्तन, सूचना-प्रविधिको तीव्र विकासले भरिपूर्ण छ । व्यापारमा विश्वव्यापीकरण हुनुमा सूचना-प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ । विश्व खुला बजार हावी भएको आजको प्रतिस्पर्धात्मक युगमा उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधारबिना नै नेपालमा कम्पनी खोल्नु असम्भव छ ।

आवश्यक पूर्वाधारबिना नै स्थापना भएका नेपाली उद्योगी-व्यवसायीलाई आफ्नो देशभित्र मात्र नभई विश्वबजारसँग पनि प्रतिस्पर्धामा उत्रिनुपरेको छ, जुन हामीजस्तो सानो बजार भएको देशका व्यवसायीहरूका लागि थप चुनौतीपूर्ण छ ।

औद्योगिक तथा व्यावसायिक दक्षताका साथै उत्पादनको दृष्टिले छिमेकी मुलुकको तुलनामा नेपाल पछि नै छ । तथापि उद्योग व्यवसाय फष्टाउने सम्भावना नै नभएको भन्नु अनुचित हुन्छ ।

नेपालमा पनि उद्योग व्यवसायको धेरै सम्भावना छ । त्यसका लागि उचित वातावरणको आवश्यकता छ । आयातमुखी अर्थ व्यवस्थालाई आत्मनिर्भर बनाउन उत्पादनशील अर्थतन्त्र बनाउने नीति कार्यान्वयन गर्दै नेपाललाई सशक्त औद्योगिक मुलुकका रूपमा रुपान्तरित गराउने कार्यको थालनी गर्न सकिन्छ । त्यसका लागि दरिलो प्रतिबद्धता अनिवार्य छ ।

दीर्घकालीन सोचको अभाव

स्वदेशी उत्पादनहरूको खस्कँदो अवस्थाले चाहेर पनि हाम्रा उद्योगी-व्यवसायीले उपभोक्ताको चाहना र आवश्यकतालाई ध्यानमा राखी उत्पादनको विविधता कायम गर्न सकिरहेका छैनन् ।

तसर्थ हामी देशमा सहज रूपमै उत्पादन गर्न सकिने वस्तुका लागि पनि आयातकै मुख ताक्ने गरेका छौं । आयातित वस्तु नै स्तरीय र उत्कृष्ट हुन्छ भन्ने गलत मनस्थितिले पनि गाँजेको छ ।
नेपालको आर्थिक विषयसँग सम्बन्धित नीति-नियमहरूको अध्ययन गर्दा हाम्रा नीति-निर्माता तथा नेतृत्व तहमा पनि दीर्घकालीन सोचको अभाव देखिएको छ ।

तत्काल राजस्व उठाउने सोचले घर गरेको छ । भन्सार राजस्वलाई प्रमुख प्राथमिकता दिएको फलस्वरूप विदेशी सामानको आयातलाई नेपालले प्रशस्त प्रोत्साहन गरेको छ ।

आयातकै भरमा थेगिएको नेपाली बजारमा आयात प्रतिस्थापन गर्दै निर्यातलाई समेत दरिलो बनाउँदै लैजानु वाञ्छनीय छ । आयात विस्थापित गराउन क्रमिक रूपमा आधारहरू बनाउँदै लैजाने र यसका लागि दीर्घकालीन रूपमा लागू हुने सक्ने गरी आवश्यक रणनीतिहरू बनिनु आवश्यक छ ।

भौगोलिक कठिनाइलाई विकासको बाधक भनी मुकदर्शक भएर बस्दा हामीले आफंै अन्धकारलाई रोजेको मान्नुपर्ने हुन्छ ।
भारत र चीनजस्ता आर्थिक रूपले विश्वमै समृद्ध राष्ट्रतर्फ अग्रसर मुलुकका बीच अवस्थित रहेर पनि नेपाल आर्थिक हिसाबले पिछडिएका छांै । यी दुई देशबाट सिक्नुपर्ने कुरा धरै छन् ।

दुई आर्थिक शक्तिका बीच रहे पनि हामीले छिमेकीको प्रगतिबाट सक्ने जति पनि उपलब्धि हासिल गर्न सकेका छैनांै, जुन हाम्रा लागि बरदान कम र अभिशाप बढी सावित भएको छ ।

यी राष्ट्रहरूको आर्थिक विकासको तीव्र वृद्घदिरको प्रत्यक्ष र कतिपय प्रतिकूल प्रभाव हाम्रो देशको उद्योग व्यवसायमा परेको छ ।

स्वदेशी उत्पादनको निर्बल अवस्थाले गर्दा आयात प्रभावशाली बन्दै गएको छ र हाम्रा उद्योग चल्न असहज बन्दै गएको छ । कतिपय अवस्थामा स्वदेशी उत्पादनको मूल्य अभिवृद्धि निर्धारण नभएको हुँदा स्वदेशी उत्पादनको तुलनामा आयातित वस्तु सस्तो हुने गरेको छ ।

यस्ता कारणले पनि उद्योग फष्टाउन हम्मेहम्मे परेको छ । बजारको सानो आकार र त्यसमाथि उदार आयात नीतिका कारण औद्योगिक विकासको बाधक बनेको छ ।
भारतसँगको खुला सिमानाले गर्दा पनि नेपालको दक्षिणी भेगबाट गैरकानुनी रूपमा सामान भित्रिने गर्छ । अर्कोतर्फ विगत आठ वर्षदेखि झनै चर्किंदै गएको विद्युत कटौती (लोडसेडिङ)को मारले नेपाली उद्योग थला पर्दैछन् ।

यी यावत समस्याले घेरिए पनि नेपालमा उद्योग व्यवसाय तथा उत्पादनको उच्च सम्भावना छ । विशेषत आधारभूत आवश्यकताका मालसमान, कृषिजन्य उत्पादनमा लाग्न ढिला गर्नुहुन्न ।

अझै प्रचुर अवसर

स्वदेशी बजारले प्रचुर अवसर बोकेको छ । दैनिक आवश्यकताका मालसमान आयातित छन् । यसबाट के बुझ्नुपर्छ भने हामीले उत्पादन विस्तार गर्न सक्ने व्यापक सम्भावना छ ।

सामान्यभन्दा सामान्य वस्तुका लागि पनि आयातमा भर परेका छौं, जुन नेपालभित्रै उत्पादन गर्न सकिन्छ । भारतसँगको व्यापारिक सम्झौतालाई हामीले सेतु बनाएर त्यसको समुचित प्रयोग गर्न सक्नुपर्छ ।

खुला बजार नीतिको सदुपयोग गर्दै आˆनो देशमा उत्पादन गरी त्यसलाई विश्वबजारसम्म पुर्‍याउन सकिने सम्भावना पनि प्रबल छन् । त्यसका लागि हामीले निजी क्षेत्र र सरकारबीच सहकार्य गर्न विशेष ध्यान दिनुपर्ने देखिन्छ । अनिमात्रै हामी नेपालमा नै ठूलो बजार स्थापित गर्न सक्नेछौं ।

हामी विश्वका दुई ठूला उपभोक्ताका माझमा अवस्थित छौं । यसलाई हामीले बेफाइदाको रूपमा नलिई फाइदा लिन सक्नुपर्छ । उत्पादनमा गुणस्तर वृद्धि गरी बजारमा आफ्नो पकड बनाएर निर्यात गर्न मात्र सक्षम भयौं भने भौगोलिक निकटता हाम्रा लागि बरदान सावित हुन्ा सक्छ ।

हामीले सरकारी नीतिलाई उत्पादनमुखी बनाउँदै लैजानुपर्छ । उदार व्यवस्थाको प्रयोग गरी हालको अवस्थालाई सुधार गर्न प्रतिबद्ध भयांै भने सोही नीतिको मद्दतले लगानीकर्तालाई आकषिर्त गर्दै देशीय उद्योगमा लगानी बढाउन सकिन्छ । यसबाट प्रशस्त रोजगारीको अवसर सिर्जना गर्ने वातावरण तयार गर्न सक्षम हुनेछांै ।

हाम्रो उद्योग व्यवसायले सफलता हासिल गर्न एकातर्फ कुशल नेतृत्वको खाँचो छ, जसले कार्यकुशलताका साथ उत्तरदायी ढंगले नेतृत्व गर्दै गुणस्तरीय, सक्षम तथा समर्पित जनशक्तिको टोली लिएर नयाँ लक्ष्य र दर्शनका साथ उद्योग व्यवसायको खम्बालाई दरिलो बनाउन सक्छ ।

अर्कोतर्फ नयाँ उद्योगको माग केवल प्रविधि, मानव संशाधन र पुँजीगत स्रोतको सन्तुलित उपयोगमात्र नभई परिस्थितिअनुरूप उपयुक्त र अनुकूल वातावरण तथा भौतिक संरचनाको सुदृढीकरण पनि त्यतिकै जरुरी हुन्छ ।
उद्योग व्यवसायको हित तथा बढोत्तरीका लागि प्रयासरत रहन नेपाल सरकार एवं निजी क्षेत्रको संयुक्त जिम्मेवारी बन्नुपर्छ । उत्पादनलाई सबल बनाई मुनाफा बढाउन सक्षम हुन पनि आवश्यक छ ।

अर्काेतर्फ उपयुक्त नीति र कार्यक्रमहरूको विकास गरी त्यसलाई लागू गर्न पनि उत्तिकै चुनौतीपूर्ण र महत्वपूर्ण छ । हाम्रो बजारको बढ्दो जटिल व्यवस्थापकीय समस्याहरूले गर्दा विभिन्न उद्योगहरू आन्तरिक तथा बाहृय रूपमा चुनौतीको सामना गर्न असक्षम बन्दै गएका छन् । तरपनि नेपाली उद्योगको विस्तार गर्न आन्तरिक र बाहृय चुनौती छन् ।

आन्तरिक चुनौती

·   व्यवस्थापकीय पक्षमा उपयुक्त ज्ञान र सीपको अभाव ।
·   अनुपयुक्त प्रविधि तथा निम्न पुँजीगत स्रोत ।
·   दीर्घकालीन उद्देश्य, लक्ष्य तथा दर्शन अभावको फलस्वरूप सांगठनिक दिशानिर्देशको अभाव ।
·   पेसागत व्यवहारको अभाव ।
·   विभागअनुसार सीपयुक्त तथा तालिमप्राप्त दक्ष जनशक्ति अभाव ।
·   कम्पनी र विभागबीच समन्वय अभाव ।
·   दक्ष जनशक्ति विदेश पलायनका कारण दक्ष श्रम समस्या ।

बाहृय चुनौती

·   फितलो तथा अस्थिर सरकारी नीति तथा कार्यक्रम र लम्बिँदो राजनीतिक अस्थिरता ।
·   उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधारहरूमा कमी ।
·   सरकारी निकायको कामकारबाही तथा कार्यान्वयनमा प्रतिरोधी र ढिलासुस्तीको संस्कृति ।
·   सरोकारवाला निकायहरूको उत्पादनशील उद्योग विकासका लागि न्यून सहयोग, जसका कारण भौतिक उपकरण, पार्टपुर्जाजस्ता अत्यावश्यक वस्तुहरू आयात गर्ने प्रक्रिया झन्झटिलो ।
·   उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उपलब्ध नहुनाले आयातमा निर्भर रहनुपर्ने बाध्यता ।
·   भौगोलिक असहजताका कारण मालसामानको निकासी, ढुवानी तथा भन्सारमा बढ्दो खर्चको दर ।
·   मुद्रास्फीतिको अस्थिरता (घट्दो क्रम र बढ्दो क्रम) ।

हामीले भोग्दै आएका यस्ता जटिल आन्तरिक तथा बाहृय समस्यासँग कसरी लड्न सकिन्छ भन्ने विषय नेपालजस्तो अल्पविकसित राष्ट्रका लागि गहन सोचको विषय हो ।

समय रहँदै निष्कर्ष निकाल्न असक्षम भयौं भने देशका उद्योग व्यवसाय धराशायी नहोलान् भन्न सकिन्न । हामीले समय छँदै उद्योग व्यवसायको हित तथा संरक्षणका लागि मानवीय सीप र सोचलाई प्रविधिसँग मिलान गर्दै उच्च प्रदर्शनमा प्रोत्साहन गर्दै आफ्ना उत्पादनलाई बजारमा ल्याउनुपर्छ ।

आर्थिक वृद्धिमा योगदान

उत्पादनलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्ने लायकको बनाउनु उद्योग विकास उन्नतिका लागि जरुरी छ । उत्पादनलाई गुणस्तरीय, कुशल, प्रभावकारी र सर्वसुलभ बनाउँदै उत्पादकत्व वृद्धि गर्दै लैजान सक्ने बन्नुपर्छ ।

उद्योग व्यवसायीले बजार र उपभोक्तामाझ स्वदेशी उत्पादन उपभोग गर्ने माहोल तयार गर्नु आवश्यक छ । स्वदेशी उत्पादनबारे फैलिएका भ्रम हटाई उपभोक्तालाई स्वदेशी उत्पादन प्रयोग गर्न आत्मविश्वास जगाउन सक्नुपर्छ । विश्वसनियताको प्रसार गर्न सक्नुपर्छ ।

लक्ष्यमा पुग्न केही समय त लाग्नेछ र त्यसका लागि कडा मेहनत, अध्ययन र परिश्रमका साथै सचेत भई अघि बढ्नुपर्छ । यी पक्षमा गम्भीर भएर काम गर्दै सुधारमा अभ्यस्त हुन सके हाम्रो उद्योग व्यवसाय फस्टाउन सक्छ । तबमात्र आफ्ना उपभोक्ता, लगानीकर्ता र उद्यमीका चाहना पूरा गर्न सफल हुन सक्छाैं ।

नयाँ उद्योगहरूले बजारमा स्थापित हुन नयाँ सोच र रणनीतिका साथ अग्रसर हुनुपर्छ । नवीनतम प्रयोग, विकसित सुत्र तथा विशिष्ट ढंगबाट कदम चाल्न सक्षम हुनुपर्छ ।

हाम्रा उद्योगमा नेतृत्वदायी भूमिकाको सदैव खाँचो छ । नेतृत्वदायी भूमिकाबाट नै नेपालको उद्योग व्यवसायले समस्यासँग जुध्दै कोल्टे फेर्न सक्नेछ ।

मुलुकको औद्योगिक विकासले कुल गार्हस्थ्य उत्पादनमा योगदान बढाउन सक्यो भने अर्थतन्त्रमा सकारात्मक योगदान हुनेछ । उच्च आर्थिक वृद्धितर्फ देश अग्रसर हुनेछ ।

नेपाल आर्थिक पत्रकार समोज (सेजन) स्मारिकाबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment